ad
x

कुख्यात डन अल चापोकी श्रीमती जन्मकैदबाट बाँचिन्, पश्चाताप देखेर अदालतले दियो शुभकामना

person explore access_timeमंसिर १५, २०७८ chat_bubble_outline0

 


अमेरिकामा जन्मकैदको सजाय काटिरहेका मेक्सिकोका कुख्यात डन ‘अल चापो’ की श्रीमतीलाई यो गिरोहको मद्दत गरेको अपराधमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।



३२ वर्षकी एमा कोरोनेल एसपुरोले यस वर्ष जुनमा आफ्नो अपराध स्विकारेकी थिइन् । उनले आफ्ना श्रीमानलाई मेक्सिकोको जेलबाट भगाउन मद्दत गरेको आरोप पनि स्विकारेकी थिइन् ।



अल चापो हाल अमेरिकाको कोलोराडो राज्यको जेलमा जन्मकैदको सजाय काटिरहेका छन् ।



एमालाई यी आरोपका लागि श्रीमानलाई झैं आजिवन कारावासको सजाय हुन सक्थ्यो तर सरकारी वकिलले उनको पश्चाताप देखेर सजाय काम दिन माग गरेका थिए ।



अदालतको दस्तावेज अनुसार ब्युटी क्विन भइसकेकी कोरोनेल एसपुरोले आफ्ना श्रीमान् गुजम्यान र निनालोआ कार्टेल वा गिरोहसँग कोकिन, मेथाम्फेटामाइन, हिरोइन र गाँजालाई अमेरिका भित्र्याउन र यसबाट हुने कमाईलाई बाहिर निकाल्नका लागि षड्यन्त्र रचिन् ।



अमेरिकी अधिकारीका अनुसार अल चापोको कार्टेल अमेरिकामा सबैभन्दा बढी ड्रग्स ल्याउन जिम्मेवार थियो ।



श्रीमानलाई भगाउन मद्दत गरिन्ः

अधिकारीका अनुसार उनले सन् २०१५ मा आफ्ना श्रीमानलाई मेक्सिकोको एउटा अति–सुरक्षित जेलबाट भगाउनमा, जेल नजिकै एउटा जग्गा खरिद गरेर मद्दत गरिन् ।

त्यसपछि अल चापो सुरुङमा चल्ने एक विशेष प्रकारले बनाइएको एउटा मोटरसाइकलमा सवार भएर जेलबाट भागे ।

गुजम्यानले त्यतिबेला एउटा यस्तो सुरुङमार्फत् जेलबाट उनीहरुको जग्गासम्म पुग्न सफलता पाएका थिए जसमा हावा र प्रकाशको प्रबन्ध थियो र एउटा मोटरसाइकल पनि थियो ।

एमाले उनलाई एउटा जीपीएस घडी पनि दिएकी थिइन् जसमा सुरुङ खन्नेहरुले अल चापोसम्म पुग्नका लागि सटिक जानकारी पाउन सफल भए ।

अल चापो भागेको थुप्रै महिनासम्म कसैलाई पनि उनीबारे थाहा भएन र निकै नाटकीय तरिकारले उनी त्यसपछि हलिउड अभिनेता शन पेनसँग एक अन्तरवार्तामा देखिए ।

पश्चातापका कारण कम सजायः

मंगलबार वासिङ्टनको एउटा अदालतमा सजाय सुनाइँदै गर्दा एमा कोरोनेल एसपुरोले दोभाषेको मद्दतले स्पेनिस भाषामा ‘कसैलाई हानी पुर्याएकोमा आफूलाई सच्चा मनदेखि अफसोस’ भएको बताइन् ।

फेडरल प्रोसेक्युटर एन्थनी नारडोजीले यसअघि अघिल्लो महिना ‘उनले जे गरिन् त्यो पक्कै पनि गम्भीर भएको तर उनको भूमिका अत्यन्त न्यून र उनले निकै छिटो आफ्नो आपराधिक क्रियाकलापको जिम्मेवारी लिएको’ बताउँदै उनलाई चार वर्षको जेल सजाय प्रदान गर्न माग गरेका थिए ।

न्यायाधीस रुडल्फ कन्टेरासले मंगलबार उनलाई तीन वर्षको जेल सजाय सुनाए । साथै उनले एमाको लगभग १५ डलरको सम्पत्ति जफत गरिने र रिहा भएपछि चार वर्षसम्म निगरानीमा बस्न पनि आदेश दिए ।

न्यायाधीले उनलाई भविष्यको शुभकामना दिँदै भने, ‘मलाई आशा छ कि तपाईंले आफ्ना दुई छोरीहरुको लालनपालन त्यो माहौलभन्दा भिन्नमा गराउनुहुनेछ जहाँ तपाईं अहिले हुनुहुन्छ ।’

कसरी भयो अल चापोसँग विवाहः

एमा कोरोनेल एसपुरोको जन्म अमेरिकामा भएको थियो र उनका पिता सिनालोआ गिरोहका सदस्य थिए । अल चापोसँग उनको भेट १७ वर्षको उमेरमा भयो र त्यसको अर्को वर्ष नै उनीहरुले विवाह गरे ।

उनका पितालाई सन् २०१७ मा मेक्सिकोमा हतियारसँग जोडिएको एक मामिलामा सजाय दिइयो ।

उनका एक काकालाई सन् २०१० मा मेक्सिकोकी सेनासँग मुठभेडमा मारिएसम्म मेक्सिकोका मोस्ट वान्टेड डन मानिन्थ्यो ।

एमा कोरोनेलसँग मेक्सिको र अमेरिका दुबै देशको नागरिकता छ । उनको र अल–चापोको जुम्ल्याहा सन्तान छन् ।

न्युयोर्कमा आफ्ना श्रीमानविरुद्ध चलेको सुनुवाइका बेला उनी लगभग प्रत्येक दिन उपस्थित भइन् ।

 


यतिबेला एमाले हत्या र बलात्कारका डरलाग्दा वृतान्त सुनिन् । अल चापोले उनकी श्रीमती र अन्य प्रेमिकाको जासुसी गराउँथे भन्ने बारे प्रमाण पनि अदालतमा पेश गरियो ।

यो सुनुवाइ समाप्त भएपछि अल चापोप्रति इमान्दार हुँदै उनले भनिन्, ‘म आफ्ना श्रीमानलाई त्यसरी चिन्दिनँ जसरी उनीहरुले देखाउने कोसिस गरिरहेका छन् । म उनलाई ती व्यक्तिको रुपमा चिन्दछु जसलाई मलाई भेटेकी थिएँ र जोसँग मेरो विवाह भएको थियो ।’

अल चापो गुजम्यान मेक्सिकोको उत्तरी–पश्चिमी इलाकास्थित सिनालोआ प्रान्तको एउटा निकै गरिब परिवारबाट आएका थिए ।

तर उनको संगठित आपराधिक कारोबार यति हदसम्म बढ्यो कि सन् २००९ मा संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा उनी १ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित ७०१ स्थानमा पुगे ।

बीबीसी

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X