समाचार

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

अन्योलमा संवैधानिक इजलास, हेर्न नमिल्ने मुद्दा परेमा स्थगित

person explore access_timeमंसिर १५, २०७८ chat_bubble_outline0

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।


गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी तोकिने भएपछि नियमित इजलासमा बस्दै मुद्दाको सुनुवाइ गर्न लागेका हुन् ।



न्यायपालिका सुधारका लागि गर्नुपर्ने काम के के हुन सक्छ भन्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार सर्वोच्च अदालत लगायत उच्च र जिल्ला अदालतमा पनि तत्कालका लागि गोला प्रक्रिया र कालान्तरमा पूर्ण स्वचालित विधिमै पेसी व्यवस्थापन गर्ने कुरा उल्लेख छ ।



तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तत्कालै गोला प्रक्रियामा गएर पेसी व्यवस्थापन र इजलास गठन गर्ने सम्बन्धमा अनुदार देखिएपछि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीश नै उनीविरुद्ध खनिए ।

३८ दिनसम्म इजलास बहिष्कार गरेर आन्दोलन गरेका न्यायाधीशहरूले दुई साताअघि मात्रै सर्वोच्च अदालत नियमावली संशोधन गरी प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थामा परिवर्तन गरी गोला प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गराएका थिए । त्यसपछि एक साताअघि बसेको पूर्ण बैठकले मंसिर १५ गतेबाट लागू हुने गरी गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने निर्णय गरेको थियो । सोहीअनुसार बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुन लागेको हो ।

यसरी तानिनेछ गोला

सर्वोच्च अदालतमा हरेक दिन बिहान ११ बजेदेखि इजलास सुरु हुने परम्परा छ । बिहान १० बजे कार्यालय खुल्ने भएपनि न्यायाधीशहरूले अघिल्लो दिन दिएका आदेशलाई प्रमाणीकरण गर्ने लगायतका केही काम बाँकी रहन सक्ने भन्दै एक घण्टाको समय छुट्याइएको हुन्थ्यो । ती काम सकिएपछि मात्रै उनीहरु बिहान ११ बजेदेखि इजलासमा बस्थे ।

अब भने न्यायाधीशहरु इजलास जाने समय भने बिहान ११ बजे नै हुनेछ । किनभने सर्वोच्च अदालतमा गोला प्रक्रिया सुरु भएपछि हरेक दिन बिहान १०ः१० भित्र न्यायाधीशहरु सर्वोच्च अदालत पुगिसक्नुपर्नेछ । त्यसपछि उनीहरु गोला (गोट्टी) तान्ने हलमा उपस्थित हुनेछन् र गोला तान्नेछन् । यदि विदामा नबसेका न्यायाधीश कुनै दिन समयमै उपस्थित हुन नसक्ने अवस्था भएमा न्यायाधीशका सचिवालयका प्रतिनिधिले ती न्यायाधीशका लागि गोला तानिदिनेछन् ।

सर्वोच्च अदालतको पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका र कार्याविधि अनुसार बार अनुसार प्रत्येक दिन तीनदेखि चारवटा थैलीबाट फरकफरक प्रकृतिका गोटी तानिने छ ।

सर्वोच्च अदालतमा हरेक बुधबार र शुक्रबारलाई संवैधानिक इजलासको दिन छुट्याइएको छ । यदि कुनै मुद्दा नियमित सुनुवाइ वा हेर्दाहेर्दैमा राखिएको अवस्थामा भने प्रत्येक दिन त्यस्तो इजलास गठन हुन पनि सक्नेछ । तर संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने कुरा सर्वोच्चमै विचाराधीन अवस्थामा रहेको र अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने भनेको अवस्थामा मंसिर १५ गते बुधबार संवैधानिक इजलास गठनको सम्भावना छैन । त्यसकारण मंसिर १५ गतेका लागि संयुक्त र एकल इजलास मात्रै गठन हुनेछ । त्यसैगरी सर्वोच्चमा हरेक बिहीबार बृहत पूर्ण र पूर्ण इजलास गठन हुने भएकाले त्यसदिन भने पहिलो बृहत पूर्ण र पूर्ण इजलासलाई प्राथमिकता दिएर गोला तानिनेछ ।

कुन कुन मुद्दा कस कसले हेर्ने, कुन कुन न्यायाधीश कोसँग पर्ने आदि विषयका लागि तीनदेखि ४ वटा थैलीमा फरकफरक प्रकृतिका गोटी बनाएर राखिएका हुन्छन् । त्यसका लागि ८२ वटा गोटी र प्रकृति छुट्याएर राखिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

यस्तो छ गोला तान्ने विधि

मंसिर १५ गते बुधबारका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोभिड संक्रमण भई अस्पतालमा उपचार गराइरहेका कारण उनी अदालत आउने छैनन् र संवैधानिक इजलास गठन हुने छैन । यस दिन एकल इजलास र संयुक्त इजलास मात्रै गठन हुनेछ ।

पहिलो थैली

बुधबारका लागि पहिलो थैलीमा अ र आ लेखिएका दुईवटा गोटी र न्यायाधीशको सङ्ख्या अनुसार अन्य खाली गोटी राखिनेछन् । उक्त गोटीमध्ये जुन जुन न्यायाधीशले अ र आ लेखिएको गोटी निकाल्छन्, उनीहरु एकल इजलासमा बस्नेछन् । एकल इजलासको गोटी तानिसकेका न्यायाधीशहरु संयुक्त इजलासको गोटी तान्ने प्रक्रियाबाट बाहिरिनेछन् ।

दोस्रो थैली

बुधबारका लागि दोस्रो थैलीमा संयुक्त इजलासमा रहने न्यायाधीशहरुको टुङ्गो लगाइनेछ । यसका लागि गते अनुसार जोर र बिजोर गरेर जोर दिन वरिष्ठतम् न्यायाधीश र बिजोर दिन कनिष्ठतम् न्यायाधीशहरूले आफूसँगै इजलासमा बस्ने न्यायाधीश छान्नेछन् ।

उदाहरणका लागि मंसिर १५ गते बिजोर दिन हो र यस दिन कनिष्ठतम् न्यायाधीशहरूले आफूसँगै संयुक्त इजलासमा रहने वरिष्ठतम् न्यायाधीश छान्न गोला तान्नेछन् । हाल सर्वोच्चमा एकजना न्यायाधीशको पद रिक्त भएकाले कुल २० जना न्यायाधीश कार्यरत छन् । तीमध्ये पनि प्रधानन्यायाधीश र ५ नम्बर न्यायाधीश ईश्वरप्रसाद खतिवडा देशबाहिर छन् । बाँकी १८ जना न्यायाधीशहरु उपस्थित हुने सम्भावना छ ।

यदि बुधबार कुल १८ जना न्यायाधीश उपस्थित रहे अनि ६ नम्बर र १३ नम्बरका न्यायाधीशले एकल इजलासको गोटी ताने भने बाँकी १६ न्यायाधीशले संयुक्त इजलासमा रहने न्यायाधीश टुङ्गो लगाउने गरी गोला तान्नेछन् ।

यस्तो छ, सर्वोच्चमा प्रधानन्यायाधीशपछि न्यायाधीशहरुको रोलक्रम

बुधबारका लागि १८ जना न्यायाधीशमध्ये दुईजनाले एकल इजलासजको गोला तानेपछि बाँकी १६ जना न्यायाधीश संयुक्त इजलासमा रहने हुन्छन् । संयुक्त इजलासमा दुई–दुई जना न्यायाधीश रहने भएकाले ८ वटा संयुक्त इजलासको गठन हुनेछ । यदि ६ नम्बर र १३ नम्बरका न्यायाधीशले एकल इजलासको गोला तानेको अवस्थामा वरिष्ठताका आधारमा बुधबारका लागि १, २, ३, ४ र ७, ८, ९, १० नम्बरका न्यायाधीशहरु वरिष्ठ न्यायाधीश हुन्छन् र उनीहरुसँग रहने कनिष्ठ न्यायाधीशको टुंगो लाग्छ ।

मंसिर १५ गते बिजोर बार भएकाले कनिष्ठ न्यायाधीशहरूले गोला तान्नेछन् । त्यसकारण मंसिर १५ गते बिजोर बारका लागि ११ नम्बरका न्यायाधीश बमकुमार श्रेष्ठले पहिलो गोला तानेर आफूसँग रहने न्यायाधीशको टुंगो लगाउनेछन् । यदि उनले ३ नम्बरको गोटी ताने भने हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलास बन्नेछ ।

यसैगरी अन्य न्यायाधीशले आफूसँग रहने न्यायाधीशका लागि गोटी तान्नेछन् । यदि बुधबार १६ जना न्यायाधीश मात्रै उपस्थित भए भने २ जना न्यायाधीशले एकल इजलासमा बसेपछि बाँकी १५ मध्ये १४ जना न्यायाधीश संयुक्त इजलासमा बस्नेछन् र एकजना न्यायाधीशले फैसलाको अध्ययन तथा प्रमाणीकरण लगायतका काममा आफ्नो समय दिनेछन् । ती न्यायाधीशका लागि उक्त दिन पेसी तोकिने छैन ।

तेस्रोे थैली

मंसिर १५ गते बुधबारका लागि रहने तेस्रो थैली भनेको मुद्दाको प्रकृति अनुसार समूह जनाउने थैली हुनेछ । कार्याविधिमा अधिकतम १० वटा समूह बनाएर मुद्दाको प्रकृति छुट्याउने कुरा छ । यसो गर्दा यदि बुधबार १८ जना न्यायाधीश उपस्थित हुँदा ९ वटा मात्रै समूहको मुद्दाको सुनुवाइ हुनेछ । त्यसमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ गरी १० वटा समूह राखिएको हुन्छ । जसमध्ये गोला तान्दा जुन–जुन समूह बाँकी रहन्छन्, ती समूहको मुद्दा स्थगित गरिनेछ । समूह र मुद्दा छ्ट्याउने काम भने गोला तान्नु अगाडि नै तय भइसकेको हुन्छ । त्यसका लागि संयुक्त इजलासमा रहने न्यायाधीशहरुको टुङ्गो लागिसकेपछि प्रत्येक इजलासका एकजनाले गोटी तान्नेछन् र समूह निर्धारण हुनेछ ।

पहिलो प्राथमिकता बृहत र पूर्ण इजलासलाई

सर्वोच्च अदालत नियमावलीमा संवैधानिक इजलास गठन गर्दा वरिष्ठताका आधारमा गर्ने तय भइसकेको छ । त्यहाँ प्रधानन्यायाधीशसहित रोलक्रमको वरिष्ठताका रहेका न्यायाधीशहरु बस्नेछन् । तर, कुनै न्यायाधीशले रिक्युजल (बाहिरिन) चाहेमा, आफैं विपक्षी भएमा वा स्वार्थ बाझिएमा के गर्ने भन्ने सम्बन्धमा संवैधानिक इजलासबाटै टुंगाउनुपर्ने गरी रिट परेका कारण संवैधानिक इजलासमा ती न्यायाधीश नरहे पनि वरिष्ठताकै आधारमा रहने व्यवस्था गरिसकिएको छ ।

त्यसपछि बृहत पूर्ण, वा पूर्ण इजलास गठनलाई पहिलो प्रथामिकता दिइन्छ । तर यहाँ पनि वरिष्ठताका आधारमा इजलास गठन गर्ने व्यवस्था रहने छैन ।

सर्वोच्च अदालतमा हरेक बिहीबार बृहत पूर्ण वा पूर्ण इजलास गठन गरिन्छ । बृहत पूर्ण इजलास सामान्यतः ५ न्यायाधीश र कुनै अवस्थामा ५ न्यायाधीशभन्दा बढीको पनि हुन्छ । उक्त दिन कति जना न्यायाधीश उपस्थित भएका छन्, त्यतिवटा मात्रै गोटी यस्तो इजलास गठन प्रक्रियाका लागि समावेश गरिनेछ ।

यदि बिहीबार पनि १८ जना न्यायाधीश नै उपस्थित भए भने १ देखि १८ नम्बरको गोटी बृहत पूर्ण वा पूर्ण इजलास गठनका लागि राखिनेछ । यदि उक्त दिन ५ सदस्यीय बृहत पूर्ण इजलास गठन गर्ने हो भने १ देखि ५ नम्बरको गोटी तान्ने न्यायाधीशहरु बृहत पूर्ण इजलासमा बस्नेछन् । बाँकी न्यायाधीशहरु एकल र संयुक्त इजलासमा बस्नेछन् । सोही दिन बृहत पूर्ण र अर्को ३ सदस्यीय पूर्ण इजलास पनि बस्ने हो भने बाँकी ३ जना अर्थात् ६ देखि ८ नम्बरको गोटी तान्ने न्यायाधीशहरु पूर्ण इजलासमा बस्नेछन् । अन्य न्यायाधीशहरु त्यसपछि मात्रै पहिले एकल इजलास र संयुक्त इजलासमा बस्नेछन् ।

हेर्न नमिल्ने मुद्दा स्थगित हुने

गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुँदा यदि कुनै न्यायाधीशले हेर्न नमिल्ने मुद्दा (पहिले नै आदेश वा फैसला गरिसकेका, आफन्त वा स्वार्थ बाझिने) परेमा उक्त दिन ती मुद्दा हेर्न नमिल्ने सूचीमा दर्ज हुनेछन् । यद्यपि पेसी व्यवस्थापन गर्दा नै एउटै समूहमा त्यस्ता धेरै मुद्दा नराख्ने गरी व्यवस्थापन गरिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । मुद्दाको प्राथमिकता त्यसअघि नै निर्धारण गरिसकेको हुँदा हेर्न नमिल्ने मुद्दा भएमा त्यसलाई छाडेर त्यसपछिको मुद्दा हेर्ने गरी मिलाउन लागिएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘अब हेर्न नमिल्ने मुद्दा पनि न्यायाधीशको इजलासमा पर्न सक्छ । गोला प्रक्रियामा जाँदा सबै कुरा चाहेकै जस्तो त नहुँदो रहेछ । त्यस्तो अवस्थामा ती दिन ती मुद्दा हेर्न नमिल्नेमा पर्छन् । त्यसपछि प्राथमकितामा राखेर अर्को पेसीमा राखिनेछ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।