बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसै वर्षभित्र रेल सेवा सञ्चालन हुन्छ : मन्त्री रेणुकुमारी यादव

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : १५
मङ्गलबार, १४ मङ्सिर २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै वर्षभित्र रेल सञ्चालनमा आउने दाबी गरेकी छन् । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानून अभावमा आठ महिनादेखि थन्क्याएर राखिएको अवस्थामा ती रेल मंगलबार निरीक्षण गर्दै मन्त्री यादवले यसै वर्षभित्र सञ्चालनमा ल्याउने दाबी गरिन् ।

उनले कानून अभावका कारण रेल सञ्चालनमा आउन नसकेको बताउँदै सबै प्रक्रिया पूरा गरेर यसै वर्षभित्र सञ्चालनमा आउने बताइन् । जनकपुरधाम–जयनगर रेल्वे ट्रयाक निरीक्षण गर्दै मन्त्री यादवले नेपाली जनताको चाहना अनुरुप तत्कालै रेल सेवा सञ्चालनमा ल्याउने सरकारको योजना रहेको बताइन् ।

जनकपुरधाम–जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत उनले बताइन् । उनले यस वर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको स्पष्ट पारिन् ।

भारतीय सीमा जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उनको भनाइ थियो । उनले रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि सो क्षेत्रमा रेल्वे सवस्टेशन निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताइन् ।

उनले कागजी प्रक्रियाहरु बाँकी रहेकोले त्यसको तयारी पश्चात दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्ने योजना रहेको समेत खुलाइन् ।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाले १ हजार २ सय ५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिवास खण्डमध्ये ६ सय २३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाए ।

उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानून र भाडादर निर्धारण गर्ने काम बाँकी रहेको भन्दै ती सबै प्रक्रिया चाँडै पूरा गरिने बताए ।

आफूहरुले भारतीय कम्पनी केआरसीएललाई इनर्वामा विगत ८ महिनादेखि थन्क्याएर राखिएको रेल सेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेको उनको भनाइ छ । ‘केआरसीएलले प्राविधिक रिपोर्ट तयार पारेर आफूहरुलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मितिका सम्बन्धमा औपचारिक जानकारी दिन सकिनेछ,’ उनले भने ।

जयनगर–कुर्था ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा ती रेल थन्क्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप