शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेल सञ्चालनका लागि लोसपा नेपालले प्रदेश सरकारलाई बुझायो ज्ञापन पत्र

मङ्गलबार, १४ मङ्सिर २०७८, १९ : ४५
मङ्गलबार, १४ मङ्सिर २०७८

सीताराम विवाह पञ्चमी महोत्सव अगावै रेल सेवा सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लोसपा नेपालले जनकपुरधाम–जयनगर रेल्वे सेवा तत्काल सञ्चालन गर्नुपर्ने मागसहित प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको सञ्चालन षडयन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकाससमेत प्रभावित भइरहेको छ ।’

जनकपुरधाम रेल्वे सञ्चालन भएमा सो क्षेत्र व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरू खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्दा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको लोसपाको भनाइ छ ।

प्रदेश प्रमुख मिश्रले रेल्वे सेवा सञ्चालनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको लोसपाका नेताहरुको भनाइ छ । मुख्यमन्त्री राउतले रेल सञ्चालनको पक्षमा आफूसमेत रहेको बताएका छन् ।

संघीय सरकारले षडयन्त्रपूर्वक रेल सञ्चालन गर्न नचाहेको भन्दै लोसपा नेपालले विवाह पञ्चमी अघि रेल सञ्चालन नभए सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ ।

मंसिर ८ गते लोसपाका नेता कार्यकर्ताले जनकपुरमा रेल सञ्चालनको मागसहित प्रदर्शन समेत गरेका थिए । उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी, रेल्वे बोर्डलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।

लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जनकपुरको समग्र विकासलाई प्रभावित पार्ने उद्देश्यले रेल सञ्चालन गर्न सरकारले नै नचाहेको आरोप लगाए । पार्टी विभाजन गर्नका लागि अध्यादेश ल्याउन मिल्ने तर रेल सञ्चालनका लागि अध्यादेश ल्याउन किन नमिल्ने भन्ने उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप