शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महत र शर्मालाई देउवाले भने – हतार नगर्नुस्, बुढापाकालाई अर्ति नदिनुस्

मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : ५२
मङ्गलबार, १४ मङ्सिर २०७८

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलवार सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरे । उनले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए । देउवाले अरुको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिए । 

विश्वप्रकाश शर्माले महत्वपूर्ण कुरा गरेपनि अरुलाई अर्ति दिन सजिलो रहेको भन्दै आफूले गर्नु गाह्रो रहेको देउवाले बताए । देउवाले भने, ‘अहिले हाम्रो विश्व प्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । ’ 

अहिले उठाएका कुराहरु आफ्नो बेलामा गरेर देखाउनु होला भन्दै शर्मालाई शुभकामना दिन  दिए । उनले विश्वप्रकाश शर्मालाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । ‘अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि,’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । ‘प्रकाशशरण महतजीले निर्णय नै गर्न सक्दैन, निर्णय ढिलोढिलो गर्छ भनेर भन्नुभयो । निर्णय भन्दैमा जथाभावि गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनु भन्दा ढिलो निर्णय गर्नु बेस हुन्छ । सोच विचार गरेर गर्नुपर्छ,’ देउवाले भने । 
 
 देउवाले महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएपछि हतारमा निर्णय गर्नु राम्रो नहुने बताए । 

‘तपाईहरुलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहीँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु,’ उनले भने ।

देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन प्रवक्ता विश्वप्रकाश शर्मालाई सुझाए । ‘अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या, त्यसकारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस्,’ देउवाले भने, ‘हाम्रो अर्ति सुनेर काम गर्नुहोला ।’

देउवाले महत र शर्मालाई नेतृत्वका लागि हतार नगर्न भन्दै आफ्नो पालो पर्खन सुझाए । ‘
हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बीपीले हतार गर्नुभएन, किसुनजीले हतार गर्नुभएन पालो आउँछ । तपाईको पालो आइहाल्छ हतार नगर्नुस्,’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण शमशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप