शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्ने गठबन्धन दलको निर्णय

मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : ३२
मङ्गलबार, १४ मङ्सिर २०७८

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले आज मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेका छन् । सो प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने छ । 

मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बैठकमा उपस्थित हुन नसकेपछि विश्वासको मत लिने कार्यक्रम बुधबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।  एमालेको १० औं महाधिवेशनका लागि एमालेका सांसदहरु यतिबेला चितवनमा छन् । प्रदेशसभामा प्रतिपक्षको भुमिका उत्तिकै रहने भएकाले प्रतिपक्षको सहभागितासहित विश्वासको मत लिने भनेर भोलिका लागि कार्यतालिका राखिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए ।  ‘बुधबार उहाँहरु उपस्थित हुनुहुन्छ । यदि, उहाँहरु उपस्थित नभएको खण्डमा हामीले विश्वासको मत लिने काम अघि बढ्छ नै । किनकी मुख्यमन्त्रीले विश्वासको मत लिने समय भोली अन्तिम दिन हो,’ उनले भने।  

यस्तै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिनेबारे गठबन्धन दलहरुबीच मंगलबार छलफल भएको छ । स्रोतका अनुसार मंगलबार बिहान मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र एकीकृत समाजवादी दलका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाबीच छलफल भएको छ ।  

तीन दलनका नेताहरुबीचको छलफलले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सांसदहरुलाई ‘ह्वीप’ जारी गर्ने निर्णय भएको छ । यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र संसदीय दलले पनि बैठकनै बसेर विश्वासको मत दिन ‘ह्वीप’ जारी गरिसकेका छन् । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएर मात्र सरकारलाई पूर्णता दिने भएका छन् । त्यो भन्दा पहिला मंगलबार बेलुका माओवादी केन्द्रबाट सांसद विन्दमान विष्ट मन्त्री बन्ने भएका छन् । उनलाई आज साँझ साढे ७ बजे शपथ ग्रहण गराइने मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ। विष्टलाई आर्थिक मामिला तथा योजना र भौतिक मन्त्रालय को दिने भन्नेबारेमा अहिले ‘लबिङ’ भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 
अन्य मन्त्रालयको भागवण्डाको विषयमा भने अझै टुङ्गो लागिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप