आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सभापतिमा देउवा पक्षका जोशीको उम्मेदवारी, को को छन् दाबेदार ?

मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ३६
मङ्गलबार, १४ मङ्सिर २०७८

 नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामार्फत जोशीले समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि आफूले सभापतिमा उम्मेदवारी दिन चाहेको बताए ।

पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका जोशीले पार्टीलाई एक नम्बर बनाउने अभियानलाई सहयोग पु¥याउन आफूले उम्मेदवारी दिएको बताए । आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

जोशीले पार्टीका नेता कार्यकर्ताको आग्रहमा उम्मेदवारी दिने योजना बनाएको बताउँदै प्रदेशमा संगठन बलियो बनाएर काँग्रेसको पहिचान जगाउँदै समृद्धिका लागि कार्य गर्ने बताए । उनले अधिवेशन काँग्रेसका लागि मात्र नभएर नेपालको राष्ट्रियतालाई बलियो बनाएर जनताको अधिकारका स्थापित गर्नका लागि भएकाले आफू त्यसका लागि निरन्तर लाग्ने बताए ।

अधिवेशन कसैको जितहार भन्दा पनि काँग्रेसलाई जनताको पार्टी बनाउँदै स्थापित गराउने अभियानमा आफू रहेको उनको भनाइ छ । जोशी हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन् । उनी २०५८ देखि ०६४ सम्म पर्वत काँग्रेसको जिल्ला सभापति भएका थिए भने तीन पटकसम्म सांसदमा निर्वाचित भएका थिए ।  

उम्मेदवारी घोषणा कार्यक्रममा देउवा पक्षीय नेता कार्यकर्तालाई साक्षी राखेका जोशीले आफ्नो समूह एक ढिक्का भएको सन्देश दिएका छन् । तर, यता रामचन्द्र पक्ष भने विभाजित देखिएको छ । पौडेल पक्षबाट गण्डकी प्रदेश सभापतिमा कास्कीका नेताहरू देवराज चालिसे, शुक्रराज शर्मा, तनहुँका नेता रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल पक्षबाट अर्का नेता यज्ञबहादुर थापा पनि प्रदेश सभापतिका आकांक्षी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप