बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको दसौँ महाधिवेशन : मधेसलाई कति ‘स्पेस’ ?

मङ्गलबार, १४ मङ्सिर २०७८, १४ : ३२
मङ्गलबार, १४ मङ्सिर २०७८

काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनमार्फत मधेसलाई कस्तो स्थान दियो भन्नेबारेमा चर्चा हुन थालेको छ । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमालेलाई ‘मधेसविरोधी’ शक्तिका रूपमा लिइन्थ्यो तर १० औँ महाधिवेशनमार्फत पार्टीले त्यो दाग मेटाएको कतिपयको भनाइ छ ।

१० औँ महाधिवेशनमा केपी शर्मा ओलीले मधेसलाई पनि पदाधिकारीमा स्थान दिएका छन् । केन्द्रीय सदस्यमा मधेसीतर्फ पनि निर्विरोध सूची बनाएर सर्वसम्मत रूपमा चयन गर्ने परिपाटीले मधेसमा एमालेको छवि राम्रो बनाएको जानकारहरू बताउँछन् ।

प्रदेश २ बाट केन्द्रीय सदस्यमा विजय भएका राजकुमारी लेखीले भने, ‘केन्द्रीय समितिका लागि ज–जसले मनोनयन दर्ता गरे, ती सबै मधेसी निर्विरोधजस्तै भए, यो महाधिवेशनबाट एमालेले मधेसलाई हेर्ने दृष्टिमा परिवर्तन गरेको देखिन्छ ।’

लेखीका अनुसार पार्टीभित्र पहिलाजस्तो असन्तुष्टिका स्वर सुनिएको छैन । एक–दुईजनाले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाइरहेका भए पनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । ‘कुनै पनि संगठनले सबैलाई सन्तुष्ट बनाउन सक्दैन,’ उनले भने, ‘पार्टीले मधेससँग बेइमानी गरेको छैन ।’

मधेसमा रहेका नेताहरूले पनि आकाङ्क्षा राख्नेमात्र नभई त्यसअनुसार मेहनत गर्नुपर्ने उनको भनाइ छ । ‘आफूले क्षमता बनाउनुपर्छ, विधान अध्ययन गर्नुपर्छ, पदमा जानका लागि पहल गर्नुपर्छ, केही गर्न नचाहने र पछि मलाई दिइएन भनेर गुनासो गर्नुको अर्थ हुँदैन,’ उनले भने, ‘त्यो ठाउँमा जानका लागि आफैले पहल गर्नुपर्छ ।’ पार्टीमा जसको जे योगदान थियो, त्यसअनुसार महाधिवेशनबाट उनीहरुले जिम्मेवारी पाएको पनि लेखीले बताए ।

अर्का नेता सत्यनारायण मण्डलले एमालेमा पहिलो पटक मधेसीलाई पदाधिकारी बनाइएको भन्दै खुशी जनाए । मण्डल आफू भने केन्द्रीय समितिमा परेका छैनन् । महाधिवेशन प्रतिनिधि भएर चितवन पुगेका मण्डलले पार्टीले मधेसप्रति यसपटक न्याय गरेको बताए । केन्द्रीय समितिमा रहेकालाई पछि कार्यविभाजन गर्दा उचित स्थान दिने विश्वास आफूले लिएको उनको भनाइ छ ।

सचिवका उम्मेदवार रघुवीर महासेठले मधेसमा एमालेजति लचक अरु कुनै पनि पार्टी नरहेको दाबी गरे । ‘एमालेले अहिले पार्टीमा मधेसीलाई जति स्थान दिएको छ, अरु कुनै दलले दिएका छैनन्,’ उनले भने, ‘मधेसमा एमालेले गरेको विकासका काम देखेर पार्टीप्रति आकर्षण पनि बढेको छ ।’

एमालेले नेतृत्व गरेको सरकारको पालामा मधेसमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको, फास्ट ट्रयाकको काम त्यही बेला सुरु भएको र रेल ल्याउने काम पनि भएको भन्दै उनले मधेसको विकासमा एमालेले निकै ठुलो योगदान गरेको उनको भनाइ छ । पार्टीमा अहिले मधेसीलाई जति स्थान दिइएको छ, पछि यो दायरा अझै फराकिलो बनाइने उनले बताए ।

प्रदेश २ बाट पहिलो पटक केन्द्रीय सदस्यमा आएकी रञ्जना सरकारले पनि यसपटक पार्टीले मधेसप्रति लचकता देखाएको बताइन् । उनले भनिन्, ‘अरु सबै ठाउँमा कुनै न कुनै पदमा प्रतिस्पर्धा भएको देखिन्छ तर मधेसतर्फ कुनै प्रतिस्पर्धा भएन, मधेसी कोटा, प्रदेश २ (भूगोल), महिलालगायत सबैमा सर्वसम्मति नै भयो । अलिकति दलित कोटामा समस्या देखिएको छ, त्यो देशभरिको भएका कारणले त्यहाँ मधेसीलाई केही समस्या भएको हुनसक्छ तर रिजल्ट आउन बाँकी छ ।’ मधेसबाट अहिलेसम्म पार्टीप्रति कसैको कुनै गुनासो बाहिर नआएको उनको दाबी छ ।

त्यसो त, लालबाबु पण्डित सचिवका दाबेदार थिए । मोरङबाट प्रतिनिधिसभा चुनाव जितेका पण्डितलाई पार्टीले खुलातर्फबाट केन्द्रीय सदस्यमा राखेको छ । तर उनले भित्रभित्रै असन्तुष्टि जनाइरहेको चर्चा पनि छ । उनी भने आफूसँग कुनै गुनासो नरहेको बताउँछन् । पण्डितले भने, ‘पार्टीप्रति मेरो कुनै गुनासो छैन, म साधारण सदस्य भएर सांगठनिक काममात्र गर्छु, मैले त्यही भनेको छु, मलाई दिएको केन्द्रीय सदस्य पद अरुलाई दिँदा हुन्छ ।’

पार्टी मधेसप्रति मात्र होइन, देशप्रति नै उदार रहेको दाबी गर्दै उनले महाधिवेशनपछि पार्टी अझ सशक्त भएर अगाडि आउने विश्वास व्यक्त गरे ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । तुलनात्मक रूपमा मधेसमा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी बलियो देखिएको छ । एमालेमा रहेका मधेसका सिनियर नेताहरु सबै नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । त्यसैले पनि मधेसमा एमालेलाई बलियो बनाउन ओलीले पार्टीमा मधेसी नेतालाई स्थान दिएको बताइएको छ ।

मधेसमा ओली विरोधी मानसिकता बढी देखिन्छ । त्यसलाई मिलाउनका लागि भए पनि पार्टीमा मधेसी नेताहरुलाई उनले पदाधिकारीमा स्थान दिएको बताइन्छ । एमालेको राजनीतिलाई नजिकबाट हेर्दै आएका सिरहाका पत्रकार जीवछ यादवले भने, ‘मधेसलाई पनि पार्टीमा स्थान दिनुपर्छ भने कुरा केपी शर्मा ओलीले महसुस गर्नुभएको छ ।’

चितवन महाधिवेशनबाट फर्केका पत्रकार यादवले विगतको तुलनामा पार्टीमा मधेसलाई राम्रै स्थान दिएको बताए । उनले भने, ‘पदाधिकारीमा रघुवीर महासेठभन्दा अरु कसैलाई दिँदा झन बेटर हुन्थ्यो, लालबाबु पण्डित पदाधिकारीमा जानुपर्ने व्यक्ति हुनुहुन्छ, पार्टीले उहाँको चित्त बुझाउनुपर्ने हुन्छ ।’

रघुवीर महासेठ लगभग सचिव हुने निश्चित छ भने प्रदेश २ बाट खुलातर्फ ९ जना निर्विरोध भएका छन् । पूर्व माओवादी केन्द्रका नेता प्रभु साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल, कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा निर्विरोध छन् ।

मधेसी कोटाबाट कुन्दन प्रसाद कुशवाहा, गंगाप्रसाद यादव, मोती लाल दुगड, जगदीशप्रसाद कुसियेत, पशुपति दयाल मिश्र, प्रभु हजारा, प्रमोद नारायण यादव, राजकुमार प्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल शाह, सरोज कुमार यादव, सुशील कुमार श्रीवास्तव, हरिनारायण महतो, कमला देवी महतो, जुली कुमारी महतो, ज्वाला कुमारी साह, रितादेवी साह, शिला यादव, सरिता कुमारी गिरी (यादव) निर्विरोध भएका छन् ।

दलित कोटाबाट पनि रामरति देवी रामलाई ल्याइएको छ भने थारुबाट गंगा चौधरी र मञ्जु कुमारी चौधरीलाई केन्द्रीय समितिमा ल्याइएको छ । त्यस्तै मुस्लिम कोटाबाट तैयव हसेन मियाँ, महम्मद समिर, महम्मद हारून हलुवाई, सिराज अहमद फारूकी, साजिदा खातुंन सिद्दिकीलाई ल्याइएको छ । त्यस्तै महिला कोटाबाट भगवती चौधरी, बुद्धिदेवी महतो, शान्ता चौधरीलाई पनि ल्याइएको छ । उनीहरुको नाम सर्वसम्मत भए पनि केन्द्रीय निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप