ad
x
प्राज्ञिक वार्ता

‘मोहन कोइराला अद्भुत कवि हुन्’

कोइरालाले ०१७ सालको काण्डपछि घुमाउरो शैली अपनाए : प्राडा गौतम

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

कवि मोहन कोइराला नेपाली साहित्य जगतमा लामा, अत्यन्त क्लिष्ट र बौद्धिक खालका कविता लेख्ने कविका रूपमा परिचित छन् । फर्सीको जरा उनको सर्वाधिक चर्चित कविता हो । उनी प्रयोगवादी कविताका प्रवर्तक हुन् ।


कोइरालाको जन्म १९८३ मङ्सिर ११ गते काठमाडौँ, डिल्लीबजारमा भएको हो । बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा जन्मिएका कोइरालाको न्वारानको नाम भने डकारप्रसाद कोइराला हो ।



स्वअध्ययनबाट शिक्षा प्राप्त गरी कविता लेख्न सुरु गरेका कोइरालाको पहिलो कविता शारदा (२००७) मा प्रकाशित ‘बुझिसके’ हो । उनका प्रकाशित रचनाहरूमा सूर्यदान (२०२१), लेक (२०२५), पलङ नम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), नुन शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), कविताबारे चर्चा (२०३५– निबन्ध सङ्ग्रह), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (२०३८),  ऋतु निमन्त्रण (२०४०), नीलो मह (काव्य–२०४१),  एउटा पपलरको पात (२०४७) आदि छन् ।



मदन पुरस्कार (२०३८), साझा पुरस्कार (२०३० र २०४०), प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (२०५७) आदि प्राप्त गरेका उनी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत भएका थिए ।



बौद्धिक कविका रूपमा चिनिएका कोइरालाले नेपाली साहित्यमा प्रयोगवादी कविताको सुरुवात गरी उत्कर्षमा पुर्याए । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. लक्ष्मण गौतमसँग मोहन कोइरालाबारे गरिएको वार्ता यहाँ प्रस्तुत गरिएको छ ।



 तपाईंको दृष्टिकोणमा मोहन कोइराला कस्ता साहित्यकार हुन् ?



मोहन कोइराला विशेषतः नेपाली कविताको प्रयोगवादी धाराका प्रवर्तक हुन् । उनी अत्यन्त बौद्धिक, जटिल र अर्थ गम्भीर कविता लेख्ने कविका रूपमा चिनेको छु । मोहन कोइरालासँग मेरो व्यक्तिगत सम्बन्ध निकट थियो । उहाँका बारेमा २०५८ सालतिर मैले एउटा पत्रिकामा फर्सीको जरा भन्ने लामो कविताको समालोचना लेखेको थिएँ । त्यो उहाँले पढ्नु भएछ । करिब एक वर्ष जतिपछि उहाँसँग भेट हुँदा मेरो कवितामाथि समालोचना लेख्ने लक्ष्मणप्रसाद गौतम भन्ने तपाईं नै हो भन्नुभयो । हो भनेँ । चिनजान चाहिँ पहिलो पटक त्यसरी भयो ।



उहाँ अत्यन्तै थोरै र आवश्यक मात्र बोल्ने कवि हुनुहुन्थ्यो । अत्यन्तै मितव्ययी शब्द प्रयोग गर्ने, अन्तरमुखी स्वभावको मान्छे । सबैसँग धेरै नखुल्ने तर पछि घनिष्टता भएपछि मसँग धेरै खुल्नुभयो । उहाँ उच्च कोटिको कवि भएर पनि ज्यादै शालीन, भद्र र कान्छो पुस्तालाई पनि उत्तिकै स्नेह गर्ने उहाँको व्यक्तिगत स्वाभाव थियो ।

उहाँको लेखन र व्यक्तिगत स्वभाव साँच्चै नै फरक देखिन्छ । त्यस्तो बौद्धिक जटिल कविता लेख्ने कवि त्यस्तै होला भन्ने कल्पना हुन्छ धेरैजसोको तर उहाँमा चाहिँ त्यस्तो थिएन । अत्यन्तै सरल र शालीन व्यक्तित्व भएको कवि हुनुहुन्थ्यो ।

स्नातकोत्तर तहमा उहाँको फर्सीको जरा कविता पढाउँथे । त्यो कविताबारे सोधेको थिएँ, ‘यो कविता चाहिँ साह्रै विशृङ्खलित, सर्वसाधारणलाई बुझ्न पनि गह्रो, अलिकति शृङ्खलित रूपमा दिएको भए त सजिलो हुन्थ्यो ।’ एकछिन चुप्प लाग्नुभयो, अनि एक्कै वाक्यमा ‘यो संसारमा केको चाहिँ शृङ्खला मिलेको देख्नुभएको छ भाइ’ भन्नुभयो ।  उत्तर पुगिहाल्यो ।

साहित्यमा लाग्नुअघि कोइरालाको साहित्यिक परिवेश कस्तो पाइन्छ ?

साहित्यिक परिवेशलाई हेर्दा देवकोटा, लेखनाथहरूको जस्तो किसिमको थियो, त्यही परिवेशमा नै मोहन कोइरालाले कविता लेख्न थाल्नुभएको अवस्था हो । त्यतिखेर पत्रपत्रिका अत्यन्तै कम थिए । प्रकाशनको सर्वसुलभता थिएन । त्यतिबेला एउटा पत्रिकामा कुनै कविता प्रकाशित भयो भने त्यो यति चर्चा र व्यापक हुन्थ्यो कि लगभग ३, ४ महिनालाई एउटा कविताले खुराक पुग्थ्यो । त्यस्तो परिवेश थियो । त्यस्तो अवस्थामा मोहन कोइरालाले २०१२ सालमा लेखेको ‘म सम्झन्छु’ कविता पनि कुनै सशक्त प्रयोगवादी कविताभन्दा कम छैन ।

तर प्रयोगवादी कविता धाराको सुरुवात त २०१७ बाट भएको भन्ने छ नि ?

हो, कवितामा प्रयोगवाद २०१७ बाट नै सुरु भएको हो । किनभने एउटै कविताले प्रयोगवादलाई नसमेट्ने भएकाले त्यसको सुरुवात २०१७ बाट नै भएको हो । तर, त्यसको लक्षण २०१२ बाट नै आएको हो । कवितामा केही नयाँपन दिऊँ । नयाँ किसिमले कवितालाई अभिव्यक्त गरौँ । कवितामा विम्बहरू ल्याऊँ भन्ने चेतना चाहिँ ‘म सम्झन्छु’ लेखनको समयमै थियो उहाँमा ।

सानै हुँदा पनि उहाँको सङ्गत देवकोटासँग राम्रो थियो । त्यसले उहाँमा अध्ययनको प्रेरणा जाग्यो । त्यतिखेरका भर्खर अङ्ग्रेजी साहित्यमा विम्बवादी कविताहरू चलेका थिए । त्यस्ता कविताहरूको अध्ययन गर्नुभयो । त्यतिखेर हिन्दीमा पनि एकदमै प्रयोगशील कविताहरू लेख्न थालेको अवस्था थियो । त्यो परिवेश र प्रभावबाट मोहन कोइरालामा अरूभन्दा पृथक् बाटो हिँड्नुपर्छ भन्ने चेतना जाग्यो ।

देवकोटा, माधव घिमिरे जस्ता कविहरूको साम्राज्य चलेका बेला त्यसको प्रभाव चाहिँ उनका कविताहरूमा पाइँदैन ?  

सुरुका कविताहरूमा त्यो पाइन्छ । मोहन कोइरालाले २००७ सालतिर ‘बुझिसके’ कविता शारदा पत्रिकामा प्रकाशित भयो । करिब २०१० सालसम्मका कवितालाई हेर्ने हो भने देवकोटाकै प्रभाव छ । किनभने त्यतिबेला स्वच्छन्दतावादी कविताको उकर्ष काल थियो । जतासुकै कविहरूले त्यस्तै किसिमका प्रेम, प्रकृति, संस्कृति, भावना, कल्पना, अनुभूतिको गहिराइ जस्ता कुरा उनका कवितामा अभिव्यक्त छन् ।

 प्रारम्भमा अधिकांश कविहरूको लेखन त्यस्तै नै हुन्छ । तर पछि १२ सालदेखि अब कवितामा पृथक् कुरा दिन सकिएन भने साहित्यमा बाँच्न सकिँदैन भन्ने सचेतता आएको पाइन्छ । 

ईश्वर बरालको भूमिका (मोहन कोइरालाका कविता सङ्ग्रहमा) ले उहाँलाई चर्चित बनायो भनिन्छ, के त्यो भूमिकाले नै चर्चित बनायो कि उहाँको सिर्जना प्रतिभाले ?

ईश्वर बरालको त्यो भूमिका हुँदैन थियो भने पनि अलिकति ढिलो हुन्थ्यो होला मोहन कोइरालाको कवित्वको उचाइ यथावत् रहन्थ्यो । उस्तै रहन्थ्यो र उहाँ चर्चामा पनि आउनुहुन्थ्यो । तर ईश्वर बरालको बानी कस्तो थियो भने अत्यन्तै प्रतिभाशाली कोही देखिएको छ भने उसलाई अगाडि ल्याइहाल्ने ।

अत्यन्तै कडा मिजासका मान्छे ईश्वर बराल । तर, उहाँ प्रतिभाशाली हो, लेखनमा दम छ भन्ने लाग्यो भने त्यसलाई उच्च मूल्याङ्कन गरेर लेख्ने उहाँको प्रकृति थियो । मोहन कोइरालाका कवितामा पनि उहाँले अत्यन्तै उच्च मूल्याङ्कन गरेर लेख्नुभयो । त्यतिबेलाको ईश्वर बरालजस्तो स्थापित समालोचकले लेखिदिएपछि अलि बढी बल पुगेको अवस्था चाहिँ हो । तर, उनको भूमिका नलेखिदिएको भए त्यति चाँडै चर्चामा आउनुहुन्न थियो होला । तर, त्यो चर्चाभन्दा अझ माथिका व्यक्तित्व हुन् मोहन कोइराला ।     

लक्ष्मीप्रसाद देवकोटा र कोइरालाको जन्मस्थान डिल्लीबजार–घट्टेकुलो नजिक नजिकमा थियो, शैक्षिक, राजनीतिक–आर्थिक परिवेश लगभग एकै प्रकारको थियो तर पनि कोइराला कसरी प्रयोगवादी हुन पुगे ? कसैको प्रभाव देख्नुहुन्छ ?

हामीले दुईवटा सन्दर्भबाट हेर्नुपर्ने हुन्छ । स्वच्छन्दतावादी कविताको उत्कर्षको बेला थियो । २०१६ मा देवकोटाको निधन भयो । त्यसपछि नेपाली साहित्यमा ठूलो रिक्तताको महसुस भयो । यद्यपि माधव घिमिरे, सिद्धिचरण श्रेष्ठहरू थिए तर पनि स्वच्छन्दतावादी कविता धारा त्यति तीव्र गतिशील हुन सकेको थिएन ।

त्यतिबेलै बल्ल बल्ल प्राप्त गरेको प्रजातन्त्र पनि २०१७ सालमा अपहरण भयो । अनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरियो । यसपछि त्यसबेलाका प्रजातन्त्रवादी र वामपन्थी कविहरूमा पञ्चायती व्यवस्थाप्रति अत्यन्तै असन्तुष्टि थियो । त्यसलाई सोझै लेख्न पाइएन । अनि प्रयोगवादी कविहरूले त्यो असन्तुष्टिलाई व्यक्त गर्न अत्यन्तै प्रतीकात्मक–विम्बात्मक शैली अवलम्बन गरे । त्यसप्रकारले युगीन असन्तुष्टिहरू व्यक्त गर्ने क्रममा प्रयोगवादी कविता जन्मन पुग्यो । ठ्याक्कै त्यही सन्दर्भलाई जोडेर मोहन कोइरालालाई पनि हेर्नुपर्ने हुन्छ ।

त्यतिबेला बीपी कोइरालालाई पनि जेलमा हालेको अवस्था थियो । अभिव्यक्ति स्वतन्त्रता पूरै कुण्ठित भएको अवस्थामा घुमौरो शैली अवलम्बन गरे । त्यो घुमाउरो शैलीमार्फत विम्बात्मक–प्रतिकात्मक रूपमा उनीहरूका कुण्ठा, असन्तुष्टि, निराशालाई कवितामार्फत व्यक्त गरे । यसरी लेख्दालेख्दै यो चाहिँ प्रवृत्ति नै बन्यो । यो एउटा कारण हो ।

अर्को कारण, अलिकति पृथक् नलेखीकन, पहिचान बनाउन सकिँदैन भन्ने सचेतता मोहन कोइरालामा थियो । त्यतिबेला भारतमा हिन्दी साहित्यका प्रयोगवादी कविता (जसलाई नई कविता भनिन्थ्यो) को व्यापक प्रभाव थियो । पश्चिमका अङ्ग्रेजी साहित्यका कृतिहरू नेपालीमा प्रशस्त आइसकेको अवस्था थियो, जसले गर्दा त्यसबेलाका एज्रा पाउन्डका कविताहरू, डब्ल्यू बी यिट्सका कविताहरूको अध्ययनपछि अब कविता चाहिँ विम्बात्मक हुनुपर्छ भन्ने चेतना पनि उनमा जाग्यो ।

मोहन कोइराला ज्यादै अध्ययनशील मान्छे । त्यसैले उहाँका कवितामा यस्ता पूर्व र पश्चिमका, खासगरी नेपाली संस्कृतिका, जातीय संस्कृतिका मिथक र विम्बहरूको व्यापक प्रयोग छ । ती मिथक र विम्बले बहुअर्थी, धेरै अर्थ लाग्ने खालका कविता लेख्नुभयो । यसरी प्रयोगवादी धाराको प्रवर्तन मोहन कोइरालाबाट भयो ।

समग्र नेपाली साहित्यमा मोहन कोइरालाले दिएको योगदान चाहिँ के हो ?

सिङ्गो नेपाली साहित्यमा कुनै कवि या साहित्यकारलाई निकाल्दा या झिक्दा त्यहाँ ठूलो खाडल या भ्वाङ या भ्याकुम रहन्छ भने मात्रै योगदान हुन्छ । जसलाई निकाल्दा केही फरक पर्दैन भने त्यो चाहिँ योगदान हुँदैन । नेपाली साहित्यमा मोहन कोइरालालाई झिक्दा ठूलो खाडल पर्छ । योगदान भनेको त्यस्तो हुन्छ । नेपाली साहित्यको इतिहासमा मोहन कोइरालालाई झिकिदिने हो भने सिङ्गो प्रयोगवादी धारा, प्रयोगवादी प्रवृत्ति र त्यसको नेतृत्व नै पूरै अपाङ्ग बन्छ । किनभने त्यसको नेतृत्व नै मोहन कोइरालाले गरे । नेपाली कवितामा बौद्धिक कविता लेखनको प्रारम्भ उनैबाट भयो ।

कवितामा हुने जुन बौद्धिकता, चिन्तन र चेतना हो त्यो कोइरालाका कवितामा भेटिन्छ । बालकृष्ण सममा पनि छ तर त्यो बेग्लै खालको बौद्धिकता छ । तर प्रयोगशील बौद्धिकता भने मोहन कोइरालामा छ । त्यो अभाव हुनु भनेको नेपाली कविताको एउटा पक्ष नै अभाव हुनु हो । मोहन कोइराला नभएको अवस्थामा त्यो ठाउँ रिक्त हुन्थ्यो । त्यही भएर मोहन कोइरालाको अत्यन्त महत्त्वपूर्ण र ठूलो योगदान छ ।

उहाँ प्रजातन्त्रिक धारबाट प्रवाहित हुनुहुन्थ्यो भनेर ईश्वर बरालले भूमिकामा र गोविन्द गिरी प्रेरणाले एउटा लेखमा पनि उल्लेख गर्नुभएको छ, त्यो कुरा उनका सिर्जनामा पाइन्छ कि पाइँदैन ?

मोहन कोइराला एकदमै प्रजातान्त्रिक चेतना भएको मान्छे हो । २०३६ सालको सडक कविता क्रान्तिभन्दा पछिका कविता अलिक सरल छन् । ०३६ सालमा लेखेको ‘सटक त्यसै कराएको हुँदैन’ भन्ने कविता धेरै सरल छ ।

किनभने सडक कविता क्रान्ति भनेको सडकमा मन्छे जम्मा गरेर कविता सुनाउने हो । त्यो प्रजातन्त्रका लागि बहुदलीय व्यवस्थाको समर्थनमा भएको हो । त्यसैले सडकका मन्छेहरूले बुझ्ने कविता लेख्नुपर्ने भयो । जसले गर्दा मोहन कोइराला पनि त्यो आन्दोलनमा सहभागी हुनुभयो । प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो र त्यस किसिमका कविता लेख्नुभयो । २०६३ मा मोहन कोइराला बित्नुभयो । ६१÷६२ सालको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि सहभागी हुनुभयो ।

उहाँका रचनामा अरू कतिपय कविहरूका रचनामा जस्ता नाराका रूपमा राजनीतिक चेतना कहीँ पनि पाइँदैन । प्रजातान्त्रिक चेतना पाइन्छ केही केही कवितामा तर त्यो यस्तो तरिकाले छोपिएको हुन्छ कि सर्वसाधारण पाठकले बुझ्न पनि सक्दैन । त्यो प्रजातान्त्रिक चेतना, स्वतन्त्रताको चेतना, प्रजातन्त्र मूल्य बोधको चेतना चाहिँ उहाँका कवितामा पाइन्छ । तर, राजनीति पाइँदैन ।

कोइरालाले कथा र एकाङ्की पनि लेख्नुभएको थियो, त्यसमा जम्न नसक्नुको कारण केही देख्नुुहुन्छ ?

उहाँका ती सिर्जना प्रकाशित चाहिँ भएनन् । बरु उहाँको नेपाली कवितासम्बन्धी समालोचना चाहिँ प्रकाशित छ । त्यो निकै गहन छ । वस्तुगत समालोचनाको शैली चाहिँ उहाँको नहोला तर कुरा अत्यन्तै गम्भीर छन् । उहाँले धेरै ग्रन्थहरूको सम्पादन गर्नुभएको छ । ती कृतिका सम्पादकीय भूमिकामा उहाँको कवितालाई हेर्ने अद्भुत दृष्टिकोण पाइन्छ ।

वर्तमान साहित्य जगत्मा कोइरालाको काव्यधारालाई पछ्याउने कवि छन् कि छैनन् ?

छन् । पहिले ईश्वर बल्लभ, बैरागी काइँला, मदन रेग्मी, द्वारिका श्रेष्ठ, भक्त श्रेष्ठ लगायतका सशक्त कविहरू त्यही धाराका हुन् । अहिलेको उत्तरवर्ती युगमा चाहिँ उनका धारलाई पछ्याएर लेख्ने कविहरूमा रङ्गकवि धर्मेन्द्रविक्रम नेम्वाङ, स्वप्नील स्मृति लगायतका कवि छन् । उनीहरूले प्रयोगवादी कविहरूको जस्तै चित्रात्मक कविता लेखेका छन् । यी कविहरूको समूह छ– रङ्गवादी अभियानका कविहरू । उहाँहरूले मोहन कोइरालाको धारलाई पछ्याएर कविता लेखेका छन् ।

मोहन कोइरालाका कविता अमूर्त चित्र जस्ता छन्, यस्ता कविता झ्याप्प देखिन्छ तर त्यसको अर्थ लगाउन सकिँदैन तर समष्टिमा अर्थ बुझ्नुपर्ने हुन्छ । रङ्गवादी कविहरूका कविता बौद्धिक छन् । उहाँहरूका कविता पढ्दा मोहन कोइराला र बैरागी काइँलाका कविताका छायाँ पाइन्छ ।

अरू कविभन्दा मोहन कोइराला कुन कुन दृष्टिले र किन भिन्न छन् ?  

यसमा दुईवटा पक्ष छन् । समग्र कविहरूमा मोहन कोइराला किन भिन्न छन् भने उनले प्रयोगशील, बौद्धिक र विम्बात्मक कविता लेखे । उनले चित्रात्मक शैलीमा कविता लेखे, जुन कवितालाई समष्टि अमूर्त चित्रकलाका प्रभावबाट सिर्जिएका रचनाका रूपमा मानिन्छ, त्यस्ता कविता लेखे  । त्यसकारण उनी पृथक् भए ।

अरू प्रयोगवादी कविहरूका कविताभन्दा मोहन कोइरालाका कविता पृथक् छन् । किनभने उनका कवितामा संस्कृति चेतना, जनजाति चेतना, पर्यावरणीय चेतना, पूरै नेपालको परिवेश छ । नेपाली पर्यावरण, नेपाली सांस्कृतिक चेतनालगायत नेपालीपनसँग गाँसिएका यावत् चेतना, मिथक र विम्बहरू उनका कवितामा छन् ।

उनले ‘नदी किनारका माझी’ कविता लेखे । उनले त्यो माझी जीवनलाई त्यति सूक्ष्म तरिकाले लेखिएको अहिलेसम्म मैले कुनै कृति पाएको छैन । ‘सिमसारका राजदूत’मा थारू जनजातिको चित्रण छ । थारूको संस्कृति र संस्कार र चितवनको सौराहाकै परिवेशको हो । त्यहाँ पनि अति सूक्ष्म तरिकाले चित्रण गरेका छन् । त्यसरी अत्यन्तै भित्र पसेर, भित्रैदेखि छामेर लेख्ने सामाथ्र्य मोहन कोइरालामा छ, अरू प्रयोगवादी कविमा छैन ।

जस्तो– बैरागी काइँलाले किरात संस्कृतिलाई छामेर लेख्नुभएको छ तर त्यति विविधतामय छैन । ईश्वर बल्लभका कवितामा वैदिक मिथक र पाश्चात्य मिथकहरू छन्, अरू कविहरूले पनि पाश्चात्य मिथकहरूको प्रयोग गरे । मोहन कोइराला जति संस्कृतिलाई जीवन्त चित्रण गरेर र गहिरिएर लेखेका छैनन् । त्यसैले प्रयोगवादी धारभित्रका ती कविभन्दा मोहन कोइराला भिन्न छन् ।                

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X