म अध्यक्ष बन्दा ‘दाइ’हरूले अपमानित हुनुपर्दैन : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।
आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’
पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरूले उत्पादन गरेको पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भयो, हामी नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा तपाईंहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गर्यौँ ।’
उनले पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले आफूलाई बोलाएरै आशीर्वाद दिएको भन्दै आभार प्रकट गरे । ‘यो मलाई समर्थन गर्ने, मलाई अध्यक्ष बनाउने भन्ने कुरामात्र होइन । पार्टीलाई बचाउने कि नबचाउने भन्ने कुरा हो । यो पार्टीले बोकेको मुद्दा जोगाउने कुरा हो ।’
उनले महिनाभित्र राप्रपा बाहिर रहेका राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने व्यक्तिहरू, संस्थाहरूलाई समेटेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बाटोको प्रस्थान बिन्दुका रूपमा आफ्नो उम्मेदवारी रहेको बताए । ‘सांसद हुनु, मन्त्री हुनु, पार्टीको अध्यक्ष हुनु ठुलो कुरा होइन । तर देशका लागि उसले के गर्यो भन्ने मुख्य कुरा हो,’ उनले भने ।
उनले नेतृत्व परिवर्तनको पक्षमा मुख खोल्न पार्टीका अध्यक्ष पशुपति शमशेर जबरालाई समेत आग्रह गरे । पार्टीका अर्का अध्यक्ष कमल थापालाई पनि उनले समयको पदचापलाई र कार्यकर्ताको भावना बुझ्न आग्रह गरे । उनले कमल थापालाई लक्षित गर्दै भने, ‘म बन्नुमा तपाईंको पनि मेहनत छ, लगानी छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दा कसैले अपमानित हुनु पर्दैन ।’
आफूलाई अध्यक्ष बन्ने उमेर नभएको भनेर टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै लिङ्देनले भने, ‘राजाको आशीर्वाद लिएर मन्त्री हुने तपाईंहरू ३०/४० वर्षको उमेरमा मन्त्री हुनुभयो, कति बुढोपाकोले तपाईहरुलाई त्यो बेलामा माने होलान् त ?’ उनले आफ्नो उमेर, मेरो जीवनको अवस्थालाई मात्र आधार मानेर मूल्याङ्कन नगर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण