शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

चितवनमा उद्योगी व्यवसायी लकडाउनको धक्काबाट तङ्ग्रिन खोज्दै

कुखुरा पालक किसानलाई प्रतिदिन साढे २ करोड र होटल क्षेत्रमा दैनिक १ करोड रुपैयाँ घाटा : अध्यक्ष राजु श्रेष्ठ
मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ४१
मङ्गलबार, १४ मङ्सिर २०७८

भौगोलिक हिसावले नेपालको मध्य भागमा रहेको चितवनले उद्योग, वाणिज्य विकासको क्षेत्रमा फड्को मारेको छ । देशका विभिन्न भागबाट उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न चितवन आउने क्रम पनि बढ्दो छ । बितेका २ वर्षमा कोरोना संकटबाट यहाँका उद्योग, व्यवसाय, कृषि तथा पर्यटनका क्षेत्र नराम्ररी थिलथिलो भयो । कुखुरा पालनको क्षेत्रमा प्रतिदिन साढे २ करोड र होटल व्यवसायमा प्रतिदिन १ करोड घाटा बेहोरेको यहाँको कृषि तथा उद्योग क्षेत्रले कोरोना संकट कम भएसँगै बिस्तारै गति लिँदै छ । प्रस्तुत छ– चितवनको उद्योग वाणिज्य क्षेत्रको अवस्था, समस्या र विभिन्न संभावनाका बारेमा रातोपाटी संवाददाता शम्भु दंगाल र गणेश दुलालले उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :

चितवनमा उद्योग वाणिज्यको अवस्था कस्तो छ ?

चितवनमा उद्योगको संख्या हेर्ने हो भने करिव ५ हजार हाराहारीमा छ, वाणिज्यको संख्या करिब १५ देखि २० हजार छ । नेपालको मध्य भागमा भएको हुनाले धेरै ठाउँबाट बसाई सराई भएर आउने कारणले गर्दा पनि यहाँको व्यवसाय फस्टाइरहेको छ ।

कोरोना संक्रमणपछि जारी बन्दाबन्दीका बेला यहाँको उद्योग व्यवसायको अवस्था कस्तो थियो ?

कोरानाले विश्वव्यापी रुपमा व्यवसायीलाई असर पारेको थियो । चितवनको सन्दर्भमा भन्नुपर्दा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकास गर्न सक्यो भने चितवनको मात्र नभएर समग्र नेपालको अर्थ व्यवस्थालाई मजबुत बनाउने चितवन उद्योग वाणिज्य संघको लक्ष्य छ । नेपालमा ६० प्रतिशत योगदान दिएको कुखुरा पालन व्यवसाय कोरोनाका कारण धरासायी भएको छ ।

होटलको कुरा गर्ने हो भने नेपालमा ठूला ठूला होटलमध्ये काठमाडौं, पोखरापछि चितवन नै आउँछ । चितवनमा पनि धेरै ठूलो लगानीमा पाँच तारे होटल बनाउने क्रम जारी छ । कतिपय होटल निर्माण भइसकेको अवस्था छ । कोरोनाका कारण बाह्य पर्यटक नआएका कारण यहाँको होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको छ ।

अहिले कोरोना संक्रमण दर कम हुँदै गइरहेको अवस्थामा यहाँको उद्योग वाणिज्यको क्षेत्र कसरी अगाडि बढिरहेको छ ?

अहिले कोरोना संक्रमण घटे पनि जुन व्यवसायीको क्षति भएको थियो त्यसलाई परिपूर्ति गर्न २ वर्षजति लाग्छ होला । त्यसकारण अहिले नै सबैकुरा न्यूनीकरण भइहाल्ने भन्ने हैन । यद्यपि, व्यवसाय अगाडि बढ्ने क्रममा छ ।

कोरोनाका कारण भएको लकडाउनबाट चितवनका उद्योग वाणिज्यको क्षेत्रमा कति क्षति भयो होला ?   

हाम्रो आँकडा अनुसार चितवनमा कुखुरा पालनको क्षेत्रमा प्रतिदिन साढे २ करोड, होटल व्यवसायका क्षेत्रमा १ करोड रुपैयाँ क्षति भएको थियो । यो ठूलो क्षति हो, यसको परिपूर्ति गर्नका लागि हामीले सरकारसँग धेरै कुरा माग पनि गरेका छौँ । उद्योग वाणिज्य संघ चितवनको १ सय १० वटा नगर उद्योग वाणिज्य संघ छ । हिजो बजेटले समेट्न नसकेको हाम्रो थुप्रै मुद्दा थियो, थुप्रै समस्या थियो । कम्तीमा त्यसलाई मौद्रिक नीतिमा समावेश गरेको छ । हाम्रो चाहना के हो भने जुन कुरा मौद्रिक नीतिले ल्याएका छन्, त्यो कुराचाहिँ हुबहु लागू हुनु पर्छ । अहिले कतिपय बैंक तथा वित्तिय संस्थाले सरकारले ल्याएको नीतिलाई पालना गरिरहेका छैनन् । त्यसैले हामी सबै निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका सदस्यहरुले कम्तीमा पनि सरकारले ल्याएको मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुस् भनेर दबाब दिइरहेका छौँ । पुनर्कर्जाको व्यवस्था ठूला उद्योगहरूका लागि गरिएको छ तर मझौला उद्योगलाई पनि त्यही रुपमा व्यवस्था गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ ।

कोभिड संकट कम भएको अहिलेको अवस्थामा उद्योग व्यवसाय कसरी सञ्चालन भएको छ ?

अहिले झन्डै २५ प्रतिशत हाराहारीमा बन्द भएका उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । पहिला जुन ठाउँमा थियो, अहिले त्यो ठाउँमा आउन नसके पनि बिस्तारै उद्योग व्यवसाय अघि बढिरहेको छ ।

चितवन खासगरी कखुरा पालन र पर्यटन उद्योगमा धेरै लगानी भएको क्षेत्र हो । कोभिडपछि यो क्षेत्रको विकासका लागि सरकारसँग तपाईहरुको के कस्तो अपेक्षा छ ?

हामीले यसबारेमा सरकारको ध्यानाकर्षण पनि गराएका छौँ । कर तथा राजस्व छुटको कुरा पनि ल्याएका छौँ । आर्थिक पुनर्कर्जाको कुरा छ, व्याजदरको कुरा छ, सरल तबरबाट कर्जा दिनुपर्ने भनेका छौँ । यी कुरा भयो भने छिट्टै नै हाम्रो व्यवसाय लयमा फर्किन्छ भन्ने हो ।

नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेको छ । यसले चितवनको पर्यटन प्रवर्द्धनमा, अन्य आर्थिक क्रियाकलापहरुमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?

वास्तवमा भन्नुपर्दा चितवन द्रुत गतिमा विकास भएको क्षेत्र हो । भरतपुर महानगरले जुन ढंगले विकास गरेको छ, त्यसले यहाँको रुपान्तरणमा ठूलो अर्थ राखेको छ । हिजो अलिकति दुरदराजमा जाँदा तीन चार लाख रुपैयाँ कठ्ठामा जग्गा पाइन्थ्यो, आज ५० लाख घटीको जग्गा कहीँ पनि पाइँदैन । यो विकासको कारणले भएको हो । योसँगै एमालेको महाधिवेशनले पनि चितवनको आर्थिक रुपान्तरणमा महत्व नै राख्छ । महाधिवेशनका कारण सबै होटलहरु प्याक भएका छन् । आर्थिक रुपमा चितवनमा यस्ता क्रियाकलाप हुनु हाम्रो गौरवको विषय पनि हो । यसबाट हामी निजी क्षेत्र गौरवान्वित भएका छौँ ।

तपाई उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा पनि हुनुहुन्छ, यस क्षेत्रको उद्योग वाणिज्यको क्षेत्रलाई अघि बढाउन के कस्तो काम गर्दै हुुनुहुन्छ ?

वास्तवमा हामी नेपाल सरकारको एउटा अङ्ग हौँ । नेपाल सरकारले तीन खम्बे आर्थिक नीतिलाई अवलम्बन गरे यसले मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ भन्दै आएको छ । त्यही अनुसार हामीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र यहाँ सम्भावना बोकेका अन्य क्षेत्रहरुको पनि विकास गर्न सकिन्छ कि भनेर लागेका छौँ । देशको मध्य भागमा रहेको यो एउटा सुन्दर पर्यटकीय नगरी हो । धार्मिक क्षेत्रको रुपमा पनि देवघाट परिचित भएको ठाउँ हो । यो क्षेत्रको विकास गर्ने भनेको खाली चितवनको मात्र नभई देशको अर्थतन्त्रलाई सक्षम र सबल बनाउनका लागि यहाँको विकासले महत्वपूर्ण भूमिका खेल्दछ ।

हरेक २ वर्षमा चितवन उद्योग वाणिज्य संघले यहाँ उत्पादित सामग्रीको व्यापार व्यवसाय प्रवर्द्धन गर्न चितवन महोत्सव गर्र्दै आएको छ । २०५३ सालमा सबैभन्दा पहिला चितवन महोत्सव गरेका थियौं । यो महोत्सवले यहाँ भएको उत्पादनको प्रवर्द्धनका लागि सहयोग पु¥याएको छ । पोल्ट्री व्यवसायको कुरा गर्ने हो भने हिजोका दिनमा तीन सय, चार सयको हाराहारीमा कुखुरा पाल्थ्यौं भने अहिले नेपालभरको ६० प्रतिशत कुखुरा पालन व्यवसायमा योगदान चितवनले नै दिइरहेको छ । हाम्रो चितवन उद्योग वाणिज्य संघले गरेको कामले यहाँका उद्योग व्यवसायीले राम्रो अवसर पाउन् भन्ने हो । त्यसैकारण प्रत्येक २ वर्षमा हामीले चितवन महोत्सव गर्दै आएका छौँ । यो नेपालको सबैभन्दा ठूलो महोत्सवसमेत हो । यो महोत्सवले चितवनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउने गरेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवन महोत्सव गर्दैछौँ । सो महोत्सवमा सहभागी हुनका लागि सम्पूर्ण देशवासीलाई आग्रह समेत गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप