शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राकाथुम हत्याकाण्ड : १२ वर्षपछि थप एकजना पक्राउ

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : २७
मङ्गलबार, १४ मङ्सिर २०७८

रामेछापको खाँडादेवी गाउँपालिका स्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को हत्या आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सुनापति  गाउँपालिका–५ घर भएका पदमवीर तामाङ उर्फ ज्वालालाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । 

सुनापति गाउँपलिका–५ स्थित आफ्नो घरबाट भागेर छिमेकीको घरमा लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । मङ्सिर ११ मा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५९ वर्षीय ज्ञान बहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको थियो । ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् । 

२०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । अहिले पक्राउ गरिएका ‘ज्वाला’ र हत्या गरिएका ‘निखिल’ साथी हुन् । काभ्रेबाट ज्वालाले बोलाएपछि उनी राकाथुम पुगेका थिए । 

काभ्रेको तेमाल गाउँपालिका–९ मेच्छेपौवा घर भएका निखिल २०६६ असोज ९ मा त्यहाँ गएका थिए । गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर बीभत्स तरिकाले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

सिन्धुली र रामेछाप जोड्ने खैरेनिघाट स्थित सुनकोशीको पुलको ठेक्काको कमिसनको विषयमा उनीहरूको बिचमा विवाद भएको थियो । सो विवादका कारण निखिलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पदमवीरले निखिललाई घटनास्थलमा बोलाएको र आक्रमणको सुरुवात गरेको डिएसपी ढुंगानाले बताए । हत्या हुँदा ‘निखिल’ २९ वर्षका थिए । 

हत्यापछि पीडित पक्षका मानिसहरूले ज्ञानबहादुरको घरमा आगो लगाइदिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप