मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनको ‘साइड इफेक्ट’ : प्रमुख प्रतिपक्षको अनुपस्थितिमै मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मङ्गलबार, १४ मङ्सिर २०७८, १० : ०५
मङ्गलबार, १४ मङ्सिर २०७८

कर्णाली प्रदेशसभा बैठक मंगलबार बस्दैछ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक आह्वान गरिएको हो । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले बैठकमा दलीय धारणा राखिसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । मुख्यमन्त्री शाहीले बुधबारसम्म जसरी पनि विश्वासको मत लिनैपर्ने हुन्छ । संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । उनी मुख्यमन्त्री भएको भोलि ठिक एक महिना पुग्दैछ ।

गत मंसिर २ गते नै प्रदेशसभा बैठक आह्वान गर्दै प्रदेशसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि जानकारी गराईएको थियो । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने प्रदेशसभामा उपस्थित नहुने भएको छ ।  चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनका कारण एमालेले बैठकमा सहभागिता नजनाउने भएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले रातोपाटीसँग भने, ‘हामी त चितवनमा छौं । अस्तिदेखि थकित पनि छौं । निन्द्रा पनि पुगेको छैन । प्रदेशसभा बैठकमा कसरी उपस्थित हुन सकिएला र..!’

पार्टीको महाधिवेशन चलिरहेको र आफूहरु निर्वाचनको प्रक्रियामा सामेल भइरहेको समयमा बैठक आह्वान गरिएकाले सहभागी हुन सक्ने स्थिति नरहेको उनले बताए ।

यस्तै प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि प्रदेशसभा बैठक आह्वानप्रति असहमति जनाएको थियो । सत्ता साझेदार दलहरुबीच समन्वय, सहकार्य नगरी बैठक बोलाएको भन्दै बैठकमा कारणबस कुनै सांसद उपस्थित नभएको खण्डमा आफू जिम्मेवार नहुने उसले बताइसकेको छ । यतिबेला माओवादी पनि अधिवेशनको संघारमा रहेकाले सबैजसो सांसद आ–आफ्नो निर्वाचन क्षेत्रमा गएका छन् ।

यद्यपि, माओवादी केन्द्रले आफ्ना सबै सांसदलाई बैठकमा उपस्थित हुन जानकारी गराईसकेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हाम्रो कुरा त्यही (हामीसँग समन्वय नै नगरेर किन बैठक बोलाईयो) नै हो । हाम्रो समर्थनमा मुख्यमन्त्री बनेकाले हामीले असहयोग गर्ने भन्ने कुरा त छैन । तर, हामीले अहिले ११ बजे संसदीय दलको बैठक बोलाएका छौं । त्यसपछि कति जना सांसद सहभागी हुनुहुन्छ ? कसरी जाने भन्ने निर्णय गर्दैछौं ।’

प्रदेशमा मन्त्रालय भागवण्डा र मन्त्री छनोटको विषयलाई लिएर दलहरुबीच तिक्तता बढ्दै गएको छ । सचेतक विष्ट भन्छन्, ‘यस अघिदेखि नै समन्वय, छलफल भएको भए सांसदहरुलाई ‘ह्वीप’ लगाउने भन्ने पनि हुन सक्थ्यो । तर, त्यस्तो केही नभएकाले अहिलेसम्म के गर्ने भन्ने विषयमा केही छलफल भएको छैन ।’

यही विषयलाई लियर मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने कुरामा समस्या आउन सक्छ कि भन्ने आंकलन गरिएको  छ । तर, नेपाली काँग्रेसका नेता हिमबहादुर शाहीले माओवादीबाट त्यस्तो अन्तर्घात नहुने बताए । उनले रातोपाटीसँग भने, ‘भागवण्डाको विषयमा भएको विवाद त छलफलबाट मिलाउँला नि ! गठबन्धनबाट त्यस्तो अन्तर्घात होला भन्ने हामीले कल्पनासमेत गरेका छैनौं ।’

उनले प्रमुख प्रतिपक्ष नेकपा एमाले भने आजको बैठकमा उपस्थित हुनसक्ने स्थिति नरहेको बताए । उनले भने, ‘तर, हामीले आज विश्वासको मत नलिएको खण्डमा भोलि लिनैपर्ने हुन्छ । एमालेसँग फोनमा कुराकानी भइरहेको छ । यदि, उहाँहरु भोलिसम्म उपस्थित हुनसक्नुहुन्छ भने हामी पर्खिने सोचमा पनि छौं ।’

यद्यपि, तीन दलको गठबन्धन भएको र विश्वासको मत लिने भएकाले प्रतिपक्षबिना नै अघि बढ्न सकिने उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप