बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विचारमा हिँड्ने कि भीडमा रुमल्लिने ?

मङ्गलबार, १४ मङ्सिर २०७८, ०५ : ४५
मङ्गलबार, १४ मङ्सिर २०७८

सामान्यतया राजनीतिमा कार्यकर्ता निर्देशित गर्ने भनेको विचारले हो, भीडले होइन । विडम्वना आजको राजनीति विचारमा होइन, भीडबाट निर्देशित छ । नहोस् पनि किन ? नेता स्वयम्लाई पनि विचार चाहिएको छैन ।

कांग्रेसका कति कार्यकर्ताले वीपी कोइरालाका विचार पढेका होलान् ? कम्युनिष्ट कार्यकर्ताले कार्लमास्क, माओ, लेनिन, स्टालिन, कम्युनिष्ट घोषणापत्र नपढेको कति भयो होला ? उत्तर सहज छ, किन पढ्नु पर्यो ? नेतृत्व गर्ने नेताले कहिल्यै यो वा त्यो पुस्तक पढ्नु भनेकै छैन, भनिहाले पनि किन मान्ने ? यो सबै पढेर हात्ती ठूलो भएको हो र ?

जबसम्म नेता कार्यकर्ता म कुन दलको कार्यकर्ता हुँ र मेरो पार्टीको निर्देशक सिद्धान्त के हो भन्ने विषयमा जानकार हुँदैनन्, तबसम्म यस्तै हुन्छ । अर्थात् विचारको संकुचन भई भीडतन्त्र हावी रहन्छ । अनि कम्युनिष्ट पार्टीभित्र ठूल्ठूला ठेकेदार, व्यापारी र साहुवालहरुको रजाई र सर्वहारा छेउमा बसेर टुलुटुलु हेर्ने स्थिति रहन्छ । किनभने जोसँग पैसा र पावर छ, भीड त्यसैतर्पm दौडिन्छ । भीड हेर्दै नेतृत्व मख्ख पर्छ र उसैलाई नेता घोषणा गरिदिन्छ ।

अहिले एमालेको दशौं महाधिवेशन जारी छ । यो महाधिवेशनका तस्विरलाई संस्थापन पक्षहरुले भीड केन्द्रित बनाएर प्रस्तुत गरिरहेका छन् । किनभने उनीहरु भीडकेन्द्रित राजनीति मात्र संभव देख्छन् । तर भीड केका लागि भन्ने कुराकोे अर्थले खासै महत्व पाएको छैन । किनकी सर्वसम्मतको नाउँमा बाइस सय बढी प्रतिनिधिको अधिकार कुण्ठित गर्दै ओली आफ्नो एकल विचार लाड्न खोज्दैछन् । भीडमा पस्नेहरुले आफ्नो कुनै विचार पस्किन सकेका छैनन् । उनीहरु पार्टी केन्द्रीय पदाधिकारीमा ओलीले वाचन गर्ने नाउँलाई ताली पड्काएर स्वागत गर्ने पक्षमा छन् । घनश्याम भुषाल, भीम रावलहरु अपवादका रुपमा ओलीको एकल अधिकारको विरोध गरिरहेका छन् । तर रावलको विचार पढ्न निषेध गर्दै उनको पर्चा बाँड्न निषेध गरिदैछ ।

एमाले महाधिवेशनमा वैचारिक बहसभन्दा अहिले मदिरा, मासुलगायत खानपानको चर्चा छ । तपाईंको प्रश्न हुन सक्छ, मदिरा, मासु खान नहुने भनेर कम्युनिष्ट पार्टीको कुन विधानमा कहाँ लेखेको छ ? हो छैन, तर मदिराको उच्च प्रयोग पार्टीको कार्यक्रममा ठिक होला कि नहोला ? यो सबै पार्टीको लागि सोचनीय प्रश्न हो । व्यापार बृद्धिको दृष्टिकोणले त राम्रै हो । तर यसले गलत नजीर बसाल्छ । त्यसैले, पार्टी कार्यक्रमहरुमा मासु र मदिरा निषेध गर्नु जाती हुन्छ ।

म एमाले विरोधी होइन, एमालेप्रति मेरो कुनै दुराशय छैन । बरु सैद्धान्तिक रुपमा एमालेले अहिले लिएको भीडकेन्द्रित राजनीतिको विरोधी हुँ । कांग्रेस, माओवादी अनि राप्रपा पनि महाधिवेशनको संघारमा छन् । ती दलहरुले पनि आआफ्नो महाधिवेशनमा नारायणी पुल नै भाँचिने गरी झैं गरिएको जस्तो भीडभाड नगरुन् भन्ने मेरो अनुरोध हो ।

एमालेले अहिले अंगीकार गरेको भीडकेन्द्रित राजनीतिको विरोधी म चाहन्छु, उसले अहिले उत्कृष्ट विचारहरुको कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरोस् । कम्युनिष्ट आदर्शहरुको रक्षा गर्दै लोकतान्त्रिक पद्धतिको विकास गरोस् । सहिष्णु पार्टी पद्धतिको विकास गरोस् । त्यसो गर्दै अगाडि बढ्ने हो भने पार्टी बलियो बन्ने छ ।

एमाले पार्टीले यसै महाधिवेशनमा विश्व राजनीतिदेखि क्षेत्रिय पार्टी राजनीतिको व्याख्या गरोस् । राष्ट्रिय स्वाधीनतादेखि उत्पादनको सम्बन्धहरुको व्याख्या गरोस् । श्रमिक र किसानहरुको जीवनस्तर अनि उनीहरुको पारिश्रमिकको व्याख्या गरोस् । आयातमुखी अर्थतन्त्रको बदलामा निर्यातमुखी अर्थतन्त्रको बिकासमा कृषि क्रान्तिको आवश्यकताको व्याख्या गरोस् । आत्मनिर्भर नेपाल स्वाभिमानी नेपाली भन्ने नाराको व्याख्या गरोस् ।

भीड केन्द्रित राजनीतिले सक्षम र प्रखर व्यक्तिहरुलाई पाखा लगाईदिन्छ र नवप्रवेशीहरुलाई दुरुत्साहन गर्दछ । तसर्थ यसको व्यवस्थापन जरुरी छ । विचारकेन्द्रित पार्टीले नै सक्षम नेतृत्वको चयन, पार्टी पद्धतिलाई प्रोत्साहन गर्दछ ।

भीड देखेन भने नेतृत्व पनि अनियन्त्रित भएर जथाभावी बोल्दैन । हावा गफ दिँदैन र चुनाव जित्न मात्र भाषण ठोक्दैन । बरु त्यसको बदलामा ऊ सचेतताका साथ, जिम्मेवारीका साथ प्रतिबद्धता जाहेर गर्छ र जवाफदेही बन्दछ । त्यसैले, व्यवस्थित र नियन्त्रित पार्टी कार्यकर्ता परिचालन नै देश र जनताको हितमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप