शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिङदेनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔँ, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

चुनाव जितेर म मात्र लोकप्रिय छु भन्ने भ्रममा नपर्न सुझाव
सोमबार, १३ मङ्सिर २०७८, १६ : ५५
सोमबार, १३ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आगामी निर्वाचनपछि मात्र पार्टी नेतृत्वबाट विश्राम लिने बताएका छन् । सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘केही काम अधुरा छन् । यी कामलाई छोडेर पलायन हुने मलाई अधिकार छैन । मैले कति बेला विश्राम लिनुपर्छ थाहा छ ।  पार्टीलाई आगामी निर्वाचनपछि एउटा अग्रणी शक्तिका रूपमा स्थापित गरेपछि, चाँडो भन्दा चाँडो राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने आधार भएपछि स्वाभाविक रूपले मैले विश्राम लिनुपर्छ ।’

अहिलेको अवस्थाभन्दा पार्टीलाई माथि उठाएर नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अहिले केही साथीमा उत्साह देखिएको छ । जोस देखिएको छ । अब हामी नेतृत्व लिन्छौँ भन्ने चाहना देखिएको छ । त्यसलाई म स्वागत गर्छु,’ थापाले भने । केही दिनअघि राप्रपा नेता राजेन्द्र लिङदेनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । थापाले लिङदेनलाई चार वर्ष धैर्य गरिदिन आग्रह गरे । थापाले भने, ‘अहिले पार्टीका अवस्था निकै कमजोर छ । तल जाने ठाउँ छैन । तपाईंहरु चार वर्ष धैर्य गर्नुस् त त्यहाँभन्दा तल जाने ठाउँ नै छैन नि । योभन्दा अलि माथि गएपछि तपाईंलाई जिम्मा लगौँला । अलिकति दु:ख गर्ने काम हामीलाई छाडिदिनुस् ।’ 

तीन अध्यक्ष मङ्सिर १७ गतेपछि एक अध्यक्ष भएर अगाडि बढ्ने उनको भनाइ थियो । साथै लिङदेनले युवा पुस्ता र पुरानो पुस्ता भनेर पार्टीमा विभाजन ल्याउन खोजेको थापाको आरोप छ ।  ‘आज युवा युवा, नयाँ पुस्ता भनेको सुन्छु । म हुन पुस्ता हो मलाई थाहा छैन । नयाँ पुस्ताका साथीहरूलाई पुस्ताका नामा विभाजनको रेखा नल्याउनुस्,’ थापाले भने  ।  पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर आफूलाई जित्न लिङदेनलाई चुनौती दिए । ‘पुस्ताकै कुरा गर्ने हो भने  टुँडिखेलमा गरेर दौडऔँ । यदि टुँडिखेलमा दौडँदा मलाई जित्नुभयो भने  म अध्यक्षको पदमा उठ्दिनँ,’ थापाले भने ।

नयाँ जिम्मेवारी लिने मान्छेले आफ्ना अग्रजलाई गाली र बदनाम गरी असफल भनेर नेतृत्व लिन सम्भव नहुने थापाले बताए । ‘पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा असफल भए अब हामी चलाउँछु भन्ने मान्यता स्वीकार्य हुँदैन । अग्रजलाई गाली गरेर नेतृत्व लिन सम्भव छैन,’ उनले भने । 

यस्तै राप्रपाका एक मात्र सांसद रहेका लिङदेनलाई चुनाव जितेर म मात्र लोकप्रिय छु भन्ने भ्रममा नपर्न उनको आग्रह छ । थापाले भने ‘एक पटक चुनाव जित्दैमा लोकप्रिय ठानेर हुन्छ ? बारम्बार चुनाव जितेका नेताहरूलाई पत्याउँदैनन् । जनताले मलाई मात्र पत्याउँछन् भन्ने कुराले पाटीलाई राम्रो हुँदैन ।’ सबैको साथ सहयोग भयो आफूले आगामी निर्वाचनबाट काँग्रेस र एमालेपछि राप्रपालाई तेस्रो ठुलो शक्ति बनाउने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप