मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले फेर्‍याे प्रदेश अधिवेशन र महाधिवेशनकाे कार्यक्रम तालिका, उद्घाटनपछि मनाेनयन

सोमबार, १३ मङ्सिर २०७८, १५ : २७
सोमबार, १३ मङ्सिर २०७८

नेपाली काँग्रेसले प्रदेश अधिवेशन र महाधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर  गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले निर्वाचन कार्यक्रम हेरफेर गरेको हो । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटनपछि उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएकाे छ । 

यस्तै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ । अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने सिटौलाले बताए । काँग्रेसले मंसिर २१ बाट  महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ । 

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो  । मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले रातोपाटीलाई बताए । मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको पोखरेलले बताए ।

उनले भने, ‘महाधिवेशन उद्‍घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं । २४ गते महाधिवेशन उद्घाटन हुन्छ र २५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’ २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ  । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप