शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रमा मोती दुगडको इन्ट्री, घनश्याम खतिवडा आउट !

सोमबार, १३ मङ्सिर २०७८, १२ : ५३
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति ३०१ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्दै गर्दा मोरङका घरानियाँ उद्योगी मोती दुगडको नाम छुटाएनन् ।  तर, मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका पुराना एवं त्यागी कम्युनिस्ट घनश्याम खतिवडालाई भने ओलीले केन्द्रीय सदस्य बनाउन उपयुक्त ठानेनन् ।

केपी ओलीलाई बेलाबखत आर्थिक सहायता समेत गर्दै आएका चन्दा दाता व्यापारी कम्युनिष्ट  पार्टीको सदस्य बन्दै गर्दा घनश्याम खतिवडालाई छुटाइनुले कतिपयले पार्टीभित्र दलाल पुँजीवाद हावी भएको अर्थमा व्याख्या गरेका छन् ।

एमाले नेता घनश्याम खतिवडा उत्तरी मोरङका पुराना कम्युनिस्ट हुन् । उनले मदन भण्डारीलाई मोरङमा सेल्टर दिनेदेखि लिएर विद्या भण्डारीले बेलबारीको नक्सलबारीस्थित प्रावि स्कुलमा पठाएका बेलामा पनि भण्डारी परिवारको निकटमा रहेर राजनीतिक गरेका थिए । पार्टीले लामो समय सांसद नबनाएका खतिवडाले ०७४ मा मौका पाउँदा मोरङ क्षेत्र नम्बर १ बाट एमालेलाई जित दिलाएका थिए । जिल्लामा उनी त्यागी एवं इमान्दार नेताका रुपमा परिचित छन् ।

सांसद खतिवडा केपी ओली समूहमै दह्रोसँग लागेका नेता हुन् । केपी ओलीले स्रंसद विघटन गर्दा खतिवडाले ओलीलाई दह्रो साथ दिएका थिए । तथापि केपी ओलीले साढे ३ वर्षसम्म सरकारको नेतृत्व गर्दा खतिवडालाई राज्यमन्त्रीसम्म बनाएनन् । बरु उनै मोती दुगडलाई ओलीले उद्योग राज्यमन्त्री बनाए ।

त्यसबेला सांसद खतिवडाले आफ्नो पुरानो राजनीतिक सहकर्मी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर पार्टीले आफूजस्ता पुराना नेतालाई बिर्सेको गुनासो पोखेका थिए ।

ओलीले आइतबार राति सार्वजनिक गरेको केन्द्रीय कमिटीमा कनिष्ट व्यक्तिहरुको समेत नाम पारिएको छ । तर, सिनियर नेता खतिवडा केन्द्रीय कमिटीमा नपरेपछि मोरङका एमालेजन आश्चर्यमा परेका छन् । स्रोतका अनुसार ओलीले खतिवडालाई पछि मनोनित गरौंला भन्ने आश्वासन दिएका छन् ।  

त्यसैगरी एमालेको युवा नेता एवं सांसद विशाल खतिवडा पनि एमालेको केन्द्रीय कमिटीमा अटाएका छैनन् । उता ओखलढुंगाका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई पनि ओलीले एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप