शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : जहाँ पूर्व माओवादी, त्यहीँ उम्मेदवारी

सोमबार, १३ मङ्सिर २०७८, ११ : ५२
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ । जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् । ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

यो समूहमा रामबहादुर थापा ‘बादल’ पूर्वमाओवादी पृष्ठभूमिका हुन् । उपाध्यक्ष पदमै एमालेका नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उनले ओली समूह बाहिरबाट उम्मेदवारी दिएका हुन् । अर्थात्, ओलीले बनाएको समूहलाई चुनौती दिँदै उनको उम्मेदवारी परेको हो ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

ओलीले बनाएको अन्य सूची अनुसार महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ । महासचिव पदमा अरु कसैले दाबी गरेको छैन । त्यस्तै तीन उपमहासचिव पदमा ओलीले प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उम्मेदवार बनाएका छन् । यो पदमा पनि अन्य कसैले उम्मेदवारी दिएका छैनन् ।

तर, पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि महाधिवेशन प्रतिनिधिहरू पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सचिव पदमा मतदान गर्ने समय धर्मसंकटमा पर्ने देखिएका छन् ।

एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने कि ओलीको बनाएको सूचीअनुसार पूर्वमाओवादी नेतालाई मत दिने भन्ने धर्मसंकट पर्ने देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप