शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यात्रा प्रतिबन्ध लागेपछि दक्षिण अफ्रिका निराश : भन्यो, ‘यसले केही हुनेवाला छैन’

सोमबार, १३ मङ्सिर २०७८, ११ : ३६
सोमबार, १३ मङ्सिर २०७८

दक्षिण अफ्रिकाका राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो र छिमेकी देशमाथि लगाइएको यात्रा प्रतिबन्धको विरोध गरेका छन् ।

सिरिल रामाफोसाले आफू यो कारवाहीका कारण असाध्यै निराश भएको बताएका छन् । उनले यसलाई अनुचित बताउँदै प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् ।

ब्रिटेन, युरोपेली युनियन र अमेरिका ती देशमा समावेश छन् जसले दक्षिण अफ्रिकासहित केही अन्य अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘चिन्ताको कारण’ मानिएको छ । प्रारम्भिक प्रमाणका आधारमा यसको म्युटेशन असाध्यै तीब्र हुने र पुनः संक्रमित हुने खतरा असाध्यै धेरै भएको बताइँदैछ ।

यसै महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो र त्यसपछि बुधबारलाई विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी दिइयो ।

पछिल्लो दुई हप्तामा दक्षिण अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्ट गोटेङ्गमा यसको धेरैजसो संक्रमित भेटिएका थिए तर अब यो पूरा देशमा फैलिसकेको छ ।

डब्ल्यूएचओले हतारमा यात्रा प्रतिबन्ध लगाउने देशलाई चेतावनी दिँदै भनेको छ, ‘उनीहरुले जोखिम आधारित र वैज्ञानिक दृष्टिकोणको नीतिबारे सोच्नुपर्छ । जबकी हालका दिनमा नयाँ भेरियन्टमाथि चिन्ताबीच थुप्रै देशबाट दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइएको छ ।’

रामाफोसाले आइतबार आफ्नो भाषणमा भनेका छन्, ‘यात्रा प्रतिबन्धको कुनै वैज्ञानिक आधार छैन र दक्षिण अफ्रिका अनुचित भेदभावको शिकार भएको छ । प्रतिबन्धले भेरियन्टको फैलावटमा रोक लगाउन खासै प्रभावकारी हुनेछैन ।’

उनले थपे, ‘यात्रा प्रतिबन्धले प्रभावित देशको अर्थव्यवस्थालाई थप हानी पुर्याउनेछ र महामारीलाई जवाफ दिन र त्यसबाट बाहिरिने हाम्रो क्षमतालाई कम गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप