बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमाले महाधिवशेन : गण्डकीबाट अधिकांश नेता दोहोरिए,आधा दर्जन बढी नयाँ अनुहार

सोमबार, १३ मङ्सिर २०७८, ११ : २३
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्य टिममा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु पुनः दोहरिएका छन । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेपछि आइतबार राती घोषणा गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्द सत्रले पारित गरेको छ ।

अध्यक्ष ओलीले घोषणा गरेको नाममा गण्डकीबाट एकजना सचिव पाउने बताइए पनि अन्तिममा सूचीमा कसैको पनि नाम पर्न सकेन । केन्द्रीय सचिवमा कास्कीका नेता खगराज अधिकारीको नाम आएको भएपनि अन्तिमको सूचीमा उनी अटाएनन् । 

अध्यक्ष ओलीले घोषणा गरेको २ सय जना पुरुष र १०१ जना महिला रहेको केन्द्रीय कमिटीमा गण्डकीबाट अधिकांश नेताहरु केन्द्रीय सदस्यमा दोहोरिने मौका पाएका भने केही नयाँ अनुहार समेत केन्द्रीय समितिमा पर्ने मौका पाएका छन ।

केन्द्रीय कमिटीमा थपिने नयाँ सदस्यमा बागलुङ एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, अखिलका पूर्वअध्यक्ष किशोरविक्रम मल्ल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश सांसद राजिव पहारी रहेका छन् । नयाँ थपिएका सदस्यमा २ जना कास्कीका छन भने स्याङजाका एक र एक जना बागलुङका एक जना रहेका छन ।

इन्द्रलाल यसअघि माधव नेपाल समूहमा रहेका थिए । पार्टी विभाजन हुँदा उनी एमालेमै लागेकाले ओलीको निगाहामा केन्द्रीय सदस्य बन्ने सौभाग्य पाएका हुन । यसैगरी अन्य नयाँ सदस्यमा गण्डकीबाट भूगोलको प्रतिनिधित्व गर्दै तिलक महत, भूपेन्द्रबहादुर थापा, तनहुँका टुकराज सिग्देल, बागलुङका गोविन्द नेपाली, लमजुङका मायानाथ अधिकारीलाई केन्द्रीय सदस्य बनाइएको छ । 

महिलातर्फ कास्कीकी मीना गुरुङ, सीमा क्षेत्री र नरदेवी पुन, सावित्री राना, श्रीमाया थकाली, विद्या भट्टराई पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रीय उपमहासचिवको जिम्मेवारी पाउने निश्चित भएको छ ।

तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालका विरुद्ध अन्य कसैको उम्मेदवारी नपरेकोले गुरुङसहित तीनै जना निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । गुरुङ यसअघि केन्द्रीय सचिव रहेका थिए । गुरुङ महासचिवमा दावी गर्ने बताउदै आएका थिए । तर, ओलीले घोषणा गरेको सूचीमा उनी उप महासचिवको जिम्मेवारी दिने गरी लिस्ट तयार पारिएको थियो । 

त्यसैगरी यसअघिको कमिटीमा रहिसकेका नेता किरण गुरुङ, खगराज अधिकारी, भीम कार्की, रामशरण बस्नेत, काशीनाथ अधिकारी, जविन्द्रमान घले, टुका हमाल लगायतका नेताहरु समेत पुन कमिटीमा परेका छन् । 
किरण गुरुङले केन्द्रीय उपाध्यक्षको दावी गर्दै आएका थिए । तर, उनी ओलीले घोषणा गरेको लिस्टमा उपाध्यक्षमा अटाउन सकेनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप