सौराहामा उम्मेदवारी दर्ताका क्रममा जे देखियो, तस्बिरमा हेर्नुस्
नेकपा एमालेको १० औं महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएको हो । उम्मेदवारी दर्ता गराउने कार्यक्रमअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् ।
एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेका नेताहरु मनोनयन दर्ता गराइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ । ओलीले पदाधिकारीको सूचीमा नराखे पनि भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदीप ज्ञवालीले उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको सूचीमा नपरेका भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पनि उम्मेदवारी दर्ताको तयारीमा छन् । विहान १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । एमालेमा केन्द्रीय कमिटी दुई आयोग गरी ३५१ पदमा निर्वाचन हुँदैछ ।