शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवारी घोषणा

आइतबार, १२ मङ्सिर २०७८, २२ : २१
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी पौडेलले पार्टी भित्रका विकृति र विसङ्गति हटाइ पार्टीलाई सुदृढ बनाउन सभापति पदमा उम्मेदवारी दिने योजना बनाएको बताए । उनले काँग्रेसका कार्यकर्तालाई पार्टीको जिम्मेवारीमा व्यस्त राख्दै क्षमता अनुरूपको जिम्मेवारी दिने योजना सहित आफूले लागेको पनि बताए । 

नेता पौडेलले विधि र पद्धतिमा पार्टी नचलेकाले त्यसलाई योजनाबद्ध प्रक्रियागतरुपमा चलाउनका लागि प्रदेशको नेतृत्व गर्न चाहेको बताए । उनले वर्तमान पार्टी नेतृत्व सबै हिसाबले असफल भएको टिप्पणी गरे । नेता पौडेलले काँग्रेसले संघीय संरचनाका बारेमा विधानमै अधिकार किटान गरिसकेकाले त्यसलाई आत्मसात् गरेर अगाडी बढ्ने बताए ।

तनहुँबाट महासमिति सदस्यमा निर्विरोध निर्वाचित पौडेल २०२४ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०३२ सालमा पार्टीको क्रियाशील सदस्यता लिएका उनले २०५३ सालमा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

गण्डकी प्रदेश सभापतिमा कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापाले उम्मेदवार बन्ने सार्वजनिक गरिसकेका छन् । त्यसै गरी काँग्रेसको केन्द्रीय सदस्य बनिसकेका पर्वतका अर्जुन प्रसाद जोशी समेत प्रदेश सभापतिको आकाङ्क्षी रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप