शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेललाई गृहजिल्लामै धक्का, देउवा पक्षीय आले सभापतिमा विजयी

आइतबार, १२ मङ्सिर २०७८, २२ : ११
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय जितप्रकाश आले निर्वाचित भएका छन् । आइतबार सम्पन्न काँग्रेस तनहुँको जिल्ला अधिवेशनमा कार्यवाहक सभापति रहेका आलेले पौडेल पक्षीय बहालवाला सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन् ।

वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदिप पौडेलको समर्थनमा न्यौपाने उठेका थिए भने केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र धुव्र वाग्लेको समर्थन आलेलाई थियो । केन्द्रमा देउवा पक्षमा रहेका नेताहरु भण्डारी, भट्टराई र ध्रुव वाग्लेको समर्थनमा आले निर्वाचित भएका छन् । १७८५ मत खसेकोमा आलेले ९५१ मत पाएका छन् भने न्यौपानेले ७८३ मत पाएका हुन् ।

पौडेलले सभापतिमा न्यौपानेलाई नै दोहो-याउन खोजेपछि आले देउवा समूहमा पुगेका हुन् । आलेको प्यानलबाट २ उपसभापति, २ सचिव र १ सहसचिवका उम्मेदवार विजयी भएका हुन् । दुई सहसचिवमा भने पौडेल समूहका उम्मेदवारी विजयी भएका छन् ।

उपसभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् । सहसचिव आले पौडेल समूहका हुन्  ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप