बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको झापा सभापतिमा थेबे निर्वाचित, किन हारे विश्वप्रकाश समर्थक कट्टेल ?

आइतबार, १२ मङ्सिर २०७८, २१ : २२
आइतबार, १२ मङ्सिर २०७८

नेपाली काँग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेबे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मत परिणामअनुसार रामबहादुर कट्टेललाई पराजित गरी थेबे जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । ​थेबेले १७६५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५ मत ल्याएका थिए । 

शुक्रबारको मतदानमा कुल ३ हजार ३ सय ८९ मतमध्ये ३ हजार ३ सय ११ मत खसेको थियो । त्यसमा ३ मत बदर भएको थियो । ​थेबे र कट्टेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । पदाधिकारीमा थेबेको प्यानल नै निर्वाचित भएको हो । 

उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा नवीन बिमली र कृष्ण हुमागाईं तथा सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी निर्वाचित भएका छन् । काँग्रेस झापामा ६४ जना सदस्य पनि निर्वाचित भएका छन् । 

 


 

किन हारे शर्मा समर्थक कट्टेल ?

थेबेलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी र आमन्त्रित केन्द्रीय सदस्य गोपाल कुमार बस्नेतको समर्थन थियो भने कट्टेललाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य सरिता प्रसाईंको समर्थन थियो ।

केन्द्रमा शेरबहादुर देउवा निकट बुढाथोकी र बस्नेतले सभापतिमा अगाडि सारेका थेबेलाई सिटौला र उनी निकट आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति सुधीर सिवाकोटीका साथै झापा जिल्ला सभापति उद्धव थापाले समर्थन गरेका थिए । 

देउवा पक्षकै प्रवक्ता शर्माले समर्थन गरेका कट्टेललाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकी नेतृ सरिता प्रसाईंको समर्थन थियो । सभापति देउवाले पनि झापा सभापतिमा थेबेलाई ल्याउन चाहेपछि शर्मा समर्थित कट्टेल सभापतिमा पराजित भएका हुन् । 

शर्मा निकट एक नेताले  देउवा पक्षीय नेता बुढाथोकी र बस्नेतले शर्मा समर्थक कट्टेललाई साथ नदिएको बताए । उनले भने, 'उहाँहरु शेरबहादुर देउवाका मान्छे हुन् । त्यसमा पनि शेरबहादुर देवा झापा आउँदा बस्ने घर नै गोपालकुमार बस्नेतको हो,' उनले भने, 'सिटौलाले प्रतिद्वन्द्वी केशरकुमार बुढाथोकीसँग साँटगाँठ गर्नुभयो । उहाँहरुको लाइन केहिले मिल्दैन थियो । तर यसपटक आफ्नो एकल उम्मेदवार उठाउँदा हार्ने भएपछि केशवकुमार बुढाथोकीको उम्मेदवार थेबेलाई सहयोग गर्नभएको हो ।'

विश्वप्रकाश निकट उम्मेदवार कट्टेललाई समर्थन गर्दा झापामा आफ्नो बर्चस्व सकिने भएपछि केशवकुमार बुढाथोकीको उम्मेदवार थेबेलाई सिटौलाले सहयोग गरेको शर्मा निकट एक नेताको भनाइ छ । 'कृष्ण दाइले झापमा आफ्नो वर्चश्व कायम राख्न केशवकुमार बुढाथोकीको उम्मेदवारलाई सहयोग गर्नुभयो । झापामा दुबै उम्मेदवार केन्द्रमा सभापति शेरबहादुर देउवाकै हुनुहुन्थ्यो,' उनले भने ।

शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि सभापतिका दाबेदार विमलेन्द्र निधिसँग गरेको भेटवार्ताले पनि जिल्लामा माहोल बिग्रिएको बताइन्छ । 

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप