शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

आइतबार, १२ मङ्सिर २०७८, १९ : १४
आइतबार, १२ मङ्सिर २०७८

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीर र विकल सृजना पुरस्कार विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ ।

यसैवर्षबाट दिन थालिएको यस शोध सम्मानका लागि विकलका पुत्रद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही ५—५ लाख रुपैया गरी १० लाखको अक्षयकोष खडा गरिएको प्रतिष्ठानले जनाएको छ । घोषित पुरस्कारहरू आगामी पुष ३ गते गोकर्णेश्वर—९ आरूबारी स्थित नवअरूणिमा विद्यालको प्राङ्गणमा आयोजन गरिने कार्यक्रममा वितरण गरिने छ । पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम र डाक्टर विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप