शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोजपुरमा ढलान गर्दा गर्दै ढल्यो ५ करोड लागतको पक्की पुल

आइतबार, १२ मङ्सिर २०७८, १९ : १०
आइतबार, १२ मङ्सिर २०७८

बुद्ध तामाङ

भोजपुर जिल्लालाई उत्तरदक्षिण जोड्नको लागि कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको थियोे ।

पुल निर्माणको क्रममा एउटा ठेकेदार कम्पनीले पुलको स्टिलको संरचना बनाएपछि अर्को ठेकेदार कम्पनीले ढलान गर्ने क्रममा सो पुल भाँचिएको भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले रातोपाटीलाई जानकारी दिए । उनले सो पुल दुईवटा गाउँपालिकालाई जोड्ने मात्र नभई प्रदेश १ कै महत्वपूर्ण आयोजना भएको बताउँदै त्रुटिपूर्ण काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरे । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलव २० मिटर रहेको पुलको दुवै तिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममै भाँचिएपछि स्थानीयवासी आश्चर्यचकित बनेका छन् । 

भोजपुरलाई उत्तर–दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माण कै चरण ढलेपछि उनीहरू निराश बनेका छन् ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीयको आशा थियो । 

भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो सडक मार्गको रूपमा सो सडकलाई लिइएको थियो । यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरी १० ओटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप