मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चिलिमे-त्रिशुली थ्री बी हव प्रसारण लाइनको काम साउनभित्र सक्न निर्देशन

आइतबार, १२ मङ्सिर २०७८, १५ : ३०
आइतबार, १२ मङ्सिर २०७८

पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको का साउनभित्र सक्न निर्देशन दिएका छन् । आइतबार प्रसारण लाइनको अवलोकन गर्दै कार्यकारी निर्देशन घिसिङले सो निर्देशन दिएका हुन् ।

प्रसारण लाइन संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्न उनले आग्रह गरे । उनले भने,  ‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तिब्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस् ।’

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा बन्ने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाईनमा प्रवाह गर्ने योजना छ । यो आयोजनाको काम आगामी वर्षको साउनभित्र सक्ने लक्ष्य रहेको छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हव र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे –त्रिशुली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन  निर्माणाधीन छन् ।

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत भइसकेको छ ।  प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने र स्थानीयको अवरोधका साथै कोरोना महामारीका कारणले आयोजना प्रभावित बन्दै आएको छ ।

प्रसारणलाइन निर्माणको काम चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले गर्दैछ । यस्तै, आयोजनाको परामर्शदाता पावर ग्रिड, भारत हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप