सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने अर्थमन्त्री शर्माको उद्घोष
अर्थमन्त्री जनार्दन शर्माले अबको सात वर्ष भित्र रुकुम जिल्लालाई गरिबी तथा बेरोजगारमुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरू उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताए ।
‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ ।’ संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउँछौँ । सोही योजना अनुसार अघि बढ्न म सबैमा आग्रह गर्दछु’ मन्त्री शर्माले भने ।
सो अवसरमा उनले युवाहरूलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन समेत आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनको आग्रह थियो ।
यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्यास गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरू आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए ।
दैनिक एक लाख लिटर दूध सङ्कलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दूध उत्पादन गर्नको लागि किसानहरूलाई उन्नत जातको दुधालु भैँसी र उन्नत जातको दुधालु गाईहरू लागत सहभागितामा वितरण गरिने जानकारी दिए ।
आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो । ‘समृद्धिको अभियान भनेको सबभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नति, उत्पादनमा वृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बढाउनुस् ।’ उनले थपे, ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौँ ।’
यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसिकोट–५ सेरिगाँउस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयमा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरू उद्यमशील हुनुपर्ने बताए ।
‘विद्यालयहरू किताब पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशालासहितको हुनुपर्छ । यसैलाई मध्यनजर गर्दै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको उनले जिकिर गरे ।
सो अवसरमा मन्त्री शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरूलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरूलाई मासिक तीन हजारका दरले जीवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरू ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन