सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : भीम रावलले तीव्र बनाए प्रचार, स्वयंसेवकले खोसे पर्चा

आइतबार, १२ मङ्सिर २०७८, १० : ४७
आइतबार, १२ मङ्सिर २०७८

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले सर्वसम्मत् रुपमै नेतृत्व चयन गर्ने हो या निर्वाचन प्रक्रियाबाट चयन हुने हो भन्ने प्रस्ट भइसकेको छैन । बन्दसत्रको पहिलो दिन सर्वसम्मत नेतृत्व चयन गर्ने र त्यसको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्ताव परित भएको थियो । तर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले त्यसको चर्को विरोध गर्दै आफ्नो उम्मेदवारीको प्रचार प्रसार थालेका छन् ।

उनले आफू सर्वसम्मत नेतृत्व चयन प्रक्रियाको विरोधी नभएको तर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने हो भने पनि आफूलाई सर्वसम्मत् अध्यक्ष बनाउन माग गरेका छन् । आफूलाई सर्वसम्मत् अध्यक्ष बनाउन नसक्ने हो भने आफू चुनावी प्रतिस्पर्धामा जान तयार रहेको भन्दै उनले प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक नगर्दै रावलले सौराहास्थित बन्दसत्र हल परिसरमा आफ्नो चुनावी प्रचारलाई तीव्र पारेका हुन् । पार्टीका उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रावलले आफ्नो उम्मेदवारीको प्रचार प्रसारका लागि ३१ पन्ने पर्चा वितरण गरेका छन् ।

रावल समर्थक कार्यकर्ताले कार्यक्रमस्थलको मुख्य गेटदेखि बन्दसत्र हल छिर्ने गेटसम्म चुनावी प्रचार प्रसारको ३१ पन्ने पर्चा महाधिवेशन प्रतिनिधिहरुलाई वितरण गरेका छन् भने उनको पक्षमा हुटिङ गरेका छन् । रावल स्वयंले पनि महाधिवेशन प्रतिनिधिहरुलाई भेटेर भोट मागिरहेका छन् । रावलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने र सर्वसम्मत नै गर्ने हो भने पनि आफ्नै नाममा गर्न अडान लिएका छन् ।

यता, चुनाव प्रचारकै क्रममा रावल समर्थकहरुलाई अवरोधसमेत भएको छ । स्वयंसेवकले उनीहरुबाट पर्चा खोस्ने, प्रचार प्रसार गर्न नदिने, आचारसंहिता विपरित हुने भन्दै उनीहरुलाई हटाउने जस्ता कार्य भएको छ ।केन्द्रीय निर्वाचन समिति भने निर्वाचन प्रक्रिया थाल्ने कि नथाल्ने भन्ने अन्योलमा छ । समितिका संयोजक विजय सुब्बाले अध्यक्षमण्डलको निर्देशन नआएका कारण चुनावी कार्यक्रम सुरु गर्न ढिला भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप