शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्दसत्रमा प्यानल पेस गर्दै ओली, शक्ति सन्तुलन मिलाउन सकस

सहमति नभएका सिटमा निर्वाचन
आइतबार, १२ मङ्सिर २०७८, ०९ : ४२
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।

शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले नामावली प्रस्ताव गर्ने तयारी गरिएको बताइएको छ । ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् ।

यद्यपि, अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसालले भने ओलीलाई नाम सिफारिसको अधिकार दिएकोमा आपत्ति जनाएका छन् । निर्वाचन छाडेर व्यक्तिलाई पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी दिँदा ‘लोकतन्त्रकै चीरहरण’ हुने उनीहरुको तर्क छ । अधिकांश प्रतिनिधिले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावमा ताली बजाउँदा रावल र भुसालले आपत्ति जनाएका थिए । यसले केहीबेर बन्दसत्रमा हंगामा नै भएको थियो । दुवैले आफ्नो उम्मेदवारी यथावत रहेको रातोपाटीलाई बताएका छन् ।​

​त्यसैले अध्यक्ष ओलीले प्रस्ताव गर्ने नामावली सर्वसम्मति पास हुनेमा सकस देखिएको छ । ओलीले प्रस्ताव गरेको नाममा सहमति नभए, विवाद भएको सिटमा निर्वाचन हुनसक्ने देखिएको छ । संशाेधित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन्  । पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप