शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकको तृष्णा र वन्यजन्तुको तिर्खा मेट्ने बीस हजारी ताल (फोटो/भिडियो)

आइतबार, १२ मङ्सिर २०७८, ०८ : १५
आइतबार, १२ मङ्सिर २०७८

चितवनको एउटा प्रख्यात पर्यटकीय गन्तव्यस्थल हो बीस हजारी ताल । वन्यजन्तु तथा जलचर अवलोकन गर्ने तृष्णा मेट्न पर्यटकहरू बीस हजारी ताल पुग्ने गर्दछन् । २०५२ सालदेखि परिचयमा आएको बीस हजारी ताल चितवनको भरतपुर महानगरपालिकामा पर्दछ ।

५ हजार ७८१ हेक्टर क्षेत्रफल रहेको यो ताल भरतपुरबाट दक्षिणपूर्व टिकौलीको वनदेवी वरण्डाभार मध्यवर्ती सामुदायिक वनभित्र छ । यो ताल भरतपुरबाट झन्डै करिब ९ किलोमिटरको दुरीमा छ । यो ताल अवलोकनका लागि जिप सफारी गर्दै पर्यटकहरू घुम्न आउने गरेका छन् ।

जंगलको बिचमा रहेको यो ताल हातका पाँच औँलाको स्वरूपमा फैलिएको नेचर गाइड आइतराम दराईले जानकारी दिए । तालमा विभिन्न प्रकारका माछा तथा गोही रहेको बताए । उनका अनुसार यो तालमा साइबेरियन चरासमेत आइपुग्ने गर्छ ।

यस तालमा गैँडा, जरायो, बाघ, बँदेल, चित्तल आदि वन्यजन्तु तिर्खा मेट्न आउने गरेको उनले बताए । साथै यो तालमा गोही तथा २५ देखि ३० प्रकारका माछा पाइन्छन् । ताल वरिपरिका जंगलमा १२५ प्रकारका चरासमेत पाइन्छ । सिमसार क्षेत्र अन्तर्गत पर्ने यो ताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

नेचर गाइड दराईका अनुसार सो ताल अवलोकनमा देश तथा विदेशबाट धेरै पर्यटक आउने गरेका छन् । २०२२ सालमा पूर्वी चितवनबाट खगेरी नहर बनाउने क्रममा यो ताल जन्मिएको बताइन्छ । बिरुवामा पानी राख्ने हजारीबाट तालको विकास भएकोले यसलाई बीस हजारी ताल भनिएको स्थानीयको भनाइ छ । चितवन रत्ननगरका स्थानीय दिलीप श्रेष्ठले सो तालको पानी कहिल्यै नसुक्ने बताए ।

टिकौली जङ्गलभित्र अर्को १७ हजारी ताल लगायत अन्य विभिन्न साना ताल छन् । सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रमुख सम्भावना भएका १०० गन्तव्यमध्ये यो ताललाई समेत समावेश गरेको छ । यो ताल अवलोकन गर्न तालको छेउमा भ्यू टावरको समेत व्यवस्था गरिएको छ । जलकुम्भी झारका कारण तालको सौन्दर्यलाई बिगार्ने गरेको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप