बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेसको इलाम जिल्ला सभापतिमा देउवा पक्षीय डम्बर खड्का निर्वाचित

शनिबार, ११ मङ्सिर २०७८, २१ : १४
शनिबार, ११ मङ्सिर २०७८

नेपाल काँग्रेस इलामको जिल्ला सभापतिमा संस्थापन पक्षीय डम्बर खड्का निर्वाचन भएका छन् । खड्काले संस्थापन इतर पक्षीय भेषराज आचार्यलाई पराजित गरेर सभापति बाजी मारेका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हिमाल कर्माचार्य सभापति रहेको इलाममा अब सभापति शेरबहादुर देउवा पक्षीय खड्का आएका छन् ।

सुरुका जिल्ला सभापतिका लागि डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले खड्कालाई सघाएका थिए । पौडेल पक्षीय कर्माचार्य र देउवा निकट थापाले खड्कालाई सघाएपछि आचार्य पराजित हुन पुगेका हुन् ।

शनिबार अपराह्न सार्वजनिक मत परिणामानुसार खड्काले ९३५ मत लाएका थिए भने आचार्यले ७७५ मत पाएका छन् । इलामका निर्वाचन अधिकृत रमेश जोशीका अनुसार १६० बढी ल्याएर खड्का सभापति निर्वाचन भएका छन् । 

जिल्ला उपसभापतिमा भने आचार्य समूहका खगेन्द्र देवान र विष्णु सुब्बा (दाहाल) विजयी भएको जोशीले रातोपाटीलाई बताए । देवान ८७४ र दाहाल ७७८ मत प्राप्त गरि उपसभापतिमा निर्वाचित भएका थिए भने केदार थापा ७४७ र होम दुलाल ६९९ मत पाएर पराजित भए ।

पराजित दुवै जना खड्का नेतृत्वको प्यानलबाट उपसभापतिका प्रत्यासी थिए । सचिवमा खड्का समूहका निरोज खड्गी र पूर्णप्रसाद गौतम निर्वाचित भएका छन् । आचार्य प्यानलका गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरेका थिए ।

गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको प्यानलबाट सचिव निर्वाचित भएका छन् । आचार्य प्यानलका सचिव पदका अर्का प्रत्यासी विष्णु कार्कीले ७२२ र खड्का प्यानलका हुकुमलाल थेवेले ७१५ मत पाएका  थिए । 

यस्तै सहसचिवमा डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी विजयी भएका छन्  । कार्कीले ८६५ मत र सुवेदीले ७८१ मत पाएका थिए कार्की खड्का प्यानल र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप