बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीलाई एक नम्बर बनाउने परिस्थिति छ : प्रचण्ड

माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने दाबी
शनिबार, ११ मङ्सिर २०७८, १५ : ५४
शनिबार, ११ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिवार भर्चुअल माध्यमबाट सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् ।

प्रचण्डले हिमालदेखि तराईसम्म भ्रमण गरेर माओवादीको अवस्था बुझेको बताउँदै माओवादी पार्टीलाई एक नम्बर बनाउने परिस्थिति रहेको दाबीसमेत गरे । तर, यसका लागि पार्टीभित्र आमूल सुधार हुनुपर्ने उनले बताए ।

शनिबार देशभरिका कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामीमात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर, आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेण्डा कमजोर हुन्छन् ।’ 

अध्यक्ष प्रचण्डले अगाडि भने–‘परिवर्तनका एजेण्डा कमजोर भए राष्ट्रिय एकता कमजोर हुन्छ । राष्ट्रिय एकता कमजोर भयो भने देश दुर्घटनामा पर्छ । देशलाई दुर्घटनाबाट बचाउने, परिवर्तनहरुलाई निरन्तर अगाडि बढाउने दायित्व अहिले माओवादी केन्द्रको काँधमा आएको छ । त्यसकारण हामीलाई निस्क्रिय हुने छुट छैन् । हामीलाई हाम्रा एजेन्डाप्रति शिथिल हुने छुट पनि छैन । हाम्रो जे क्रान्तिकारी विरासत छ त्यसको रक्षाका लागि अझ ठूलो मिहिनेत अझ ठूलो दृढता अगाडि बढ्न आवश्यकता छ ।’

उनले हिजो माओवादीले रगत पसिना बगाएर ल्याएको परिवर्तनबारे बोल्न पनि हिच्किटाहट जस्तो देखिएको भन्दै सबै परिवर्तन माओवादीको आन्दोलनबाटै सम्भव भएको हो भन्दै त्यसको स्वामित्व र अपनत्व माओवादीले लिनै पर्ने उल्लेख गरे ।

उनले शान्ति प्रक्रियामा आएपछि माओवादीले विचार संश्लेषण, विचार परिमार्जनको कुरामा कम ध्यान दिएको बताउदै तात्कालिक राजनीतिक घटनाक्रम, विभिन्न पक्षसँग जोड घटाउ गर्ने, समीकरण भत्काउनेतिर बढी ध्यान दिँदा पार्टी कमजोर भएको बताए ।

आफूले तराईका जिल्लाका जनता, त्यहाँका बुद्दीजिविहरुसँग भेटेर अन्तरक्रिया गरेको, माथिल्लो डोल्पासम्म पुगेर त्यहाँका जनतासँग अन्तरक्रिया गरेको, मध्यपहाडी क्षेत्र भोजपुरदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर पार्टीको अवस्था कस्तो रहेको छ भनेर बुझेको प्रचण्डले बताए । ती सबै ठाउँमा माओवादी केन्द्रप्रति जनताको आर्कषण बढेको उनले सुनाए ।

तराईमा माओवादीमा प्रवेश गर्ने लहर चलेको बताउँदै प्रचण्डले भने, ‘एकै जिल्लामा ५–७ सय शिक्षक, जनता माओवादी पार्टीमा प्रवेश गरेका छन् ।’ उनले पहाडी र हिमाली क्षेत्रमा पनि माओवादीप्रति लहर बढेको भन्दै पार्टीका नेता– कार्यकर्ताहरूलाई इमान्दारितापूर्वक, जिम्मेवारीपूर्वक पार्टी नेतृत्वको निर्देशन मान्दै एक ढिक्का भएर अघि बढे देशको १ नम्बर पार्टी बनाउने परिस्थितिमा रहेको दाबी गरे ।

प्रचण्डले भने, ‘प्रतिगमनविरोधि आन्दोलनमा सहभागी भएर पाएको सफलताले गर्दा अहिले फेरि पार्टीप्रति मानिसहरुको आकर्षण बढिरहेको छ । अर्को कुरा केन्द्रीय समितिले हिजोका मुद्दाहरु फेरि दह्रोसँग पक्रेर जान्छौँ भनेर संकल्प र निर्णय गरेका छौँ । हामीले हरेक तहका सम्मेलनमा कम्तिमा ३५ प्रतिशत महिला राख्ने निर्णय गरेका छौँ, सोही अनुसार वडा सम्मेलनबाट महिला सहभागिता बढेको छ । केन्द्रीय समितिसम्म यो कुरालाई हामी लागू गर्छौं ।’

त्यसैगरी युवाहरुको सहभागितालाई उच्च स्थान दिनुपर्छ भनेर २० प्रतिशत स्थान छुट्याएको प्रचण्डले बताए । त्यस्तै दलित, जनजातिका मुद्दालाई उठाएको र फेरि नयाँ शिराबाट उठाउन लागिरहेको उनले बताए । समावेशी र समानुपातिक प्रणालीलाई दह्रोसँग नसमाते प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको प्रचण्डको दावी छ ।

‘हाम्रा कमी कमजोरी सच्याउनुपर्छ’

प्रचण्डले फेरि पनि जनतामा माओवादीप्रति आशा भरोसा बढेर गएको उल्लेख गर्दै यो अवसरलाई कुनै हालतमा चुक्न दिन नहुने बताए । उनले कार्यकर्ताहरूलाई मार्क्सवादी दृष्टिकोण अनुसार आफूलाई बदल्न र आत्माआलोचित भएर रुपान्तरण गर्र्दै सिंगो समाजलाई रुपान्तरण गर्ने बाटोमा लाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीको बिचार निर्माणमा हाम्रो कम ध्यान गयो । हाम्रो यहाँ कहिँ न कहिँ त्रुटी भयो । हामीले केन्द्रीय समितिमा आत्मालोचना गरेको विषय पनि हो यो । तत्कालको राजनीतिक जोड घटाउमा मात्र लाग्दा पार्टी वैचारिक रुपमा स्खलित हुने अवस्था देख्यौँ हामीले । विस्तारै पार्टी शिथिल हुँदै जाने र पार्टीको क्रान्तिकारी चरित्र ह्रास हुँदै जाने खतरा देखियो ।’

प्रचण्डले अगाडि थपे, ‘हाम्रा पार्टीका कार्यकर्ताहरु पनि अरु पार्टीका बुर्जुवा संसोधनबादी प्रतिक्रान्तिकारी जस्तै व्यक्तिगत हित पदीय स्वार्थ, गुट स्वार्थतिर जाने देखियो । त्यस्तो भयो भने यो पार्टीले ऐतिहासिक अभिभारा पूरा गर्न सक्दैन । त्यसकारण बेलैमा हामीले हाम्रा कमीकमजोरीहरू सच्याउनतिर लाग्नुपर्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिका लागि विचारका साथै संगठन पनि महत्वपूर्ण विषय भएको उल्लेख गर्दै हिजो जनयुद्धमा सहभागी भएका कार्यकर्ता, घाइते सहिद तथा वेपत्ताका परिवारलाई पुन संगठित गर्ने कुरामा कमजोरी भएको  स्वीकार गरे ।

उनले अब पार्टीको जनआधारलाई सुदुढ गर्ने र संगठनलाई बलियो बनाउने कुरामा गल्ती नगर्ने प्रतिवद्धतासमेत जनाए । माओवादीलाई माया गर्ने जनतालाई संगठित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्ने केन्द्रीय समितीले निर्णय गरेर अघि बढेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप