काठमाडौँ जिल्ला सभापतिमा कार्की र बानियाँद्वारा प्यानलसहित उम्मेदवारी दर्ता, कसको पक्षमा को को ?
नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापतिका लागि कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँमा जिल्ला नेपाली काँग्रेसको कार्यालय कालोपुलमा शनिबार बिहान बानियाँ र कार्कीले प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन ।
आइतबार बिहान ८ बजे जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा हुनेछ भने सोही दिन दिउँसो १० बजेबाट मतदान प्रक्रिया सुरु हुने जनाइएको छ । जसमा संस्थापन पक्षबाट कार्की र इतर पक्षबाट बानियाँ प्यानलै बनाएर काठमाडौँ जिल्ला सभापतिमा भिड्दै छन् ।
बानियाँ काठमाडौँ सभापतिमा दोहोरिने रणनीतिमा छन् भने पहिलो पटक जिल्ला सभापति हुने कार्कीको योजना छ । कार्की यसअघि काठमाडौँ क्षेत्र नम्बर २ को सभापति थिए ।शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको समर्थनमा बिहीबार उपेन्द्र कार्कीले प्यानलसहित काठमाडौँ जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।
कार्की प्यानलको उपसभापतिमा धर्मराज अर्याल, रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी, सागर रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधान रहेका छन् । कार्कीको उम्मेदवारी घोषणा सभामा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, सांसद भीमसेनदास प्रधान, काठमाडौँ–४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठलगायत उपस्थित थिए ।
देउवा निकट कार्कीलाई सिटौला निकट काठमाडौँका पूर्व जिल्ला सभापति प्रधान समूहको समर्थन रहेको छ । देउवा पक्षले कार्कीलाई संस्थापन इतरमा रहेका महामन्त्री शशाङ्क कोइराला निकट नेता कार्यकर्ताको भोट आउने आशा गरेको छ ।
यसअघि पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा कोइराला निकट कार्यकर्ताबाट आफूहरूले भोट नपाएको बानियाँ समूहको भनाइ थियो । तर काठमाडौँमा पूर्वमहामन्त्री प्रकाशनमान सिंह र केन्द्रीय सदस्य गगन थापाबीच सहकार्य जमेको देखिन्छ ।
कोइराला परिवार निकटबाट पूर्ण सहयोग नभए पनि सिंह र थापाको मिलनले काठमाडौँका पालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा संस्थापन इतर पक्षको वर्चश्व छ । तल्लो तहको परिणाम आफ्नो पक्षमा देखिएपछि वर्तमान सभापति बानियाँ सभापति दोहोरिनेमा ढुक्क जस्तै देखिन्छन् । शनिबार बिहान मात्र बानियाँले पनि प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।
बानियाँ प्यानलबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरू गोविन्द पुडासैनी र इन्द्रबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । बानियाँ समूहले सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठलाई अघि बढाइएको छ ।
बानियाँको उम्मेदवारी घोषणा सभामा नेता प्रकाशमान सिंह, गगन थापा, काठमाडौँका पूर्व जिल्ला सभापति तथा सांसद राजन केसी, काठमाडौँ महानगरपालिकाका मेयरका प्रत्यासी राजु जोही लगायतको सहभागिता थियो ।