शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रीय कमिटीमा ३६ पुरुष र ७२ महिलालाई नयाँ अवसर

सहमति जुटेन र निर्वाचन भयो भने नयाँको सङ्ख्या बढ्न सक्ने
शनिबार, ११ मङ्सिर २०७८, १५ : २०
शनिबार, ११ मङ्सिर २०७८

चितवनमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा पुराना सदस्यहरू कायमै रहेको अवस्थामा १०८ जना नयाँ केन्द्रीय सदस्य थपिने भएका छन् । नयाँ थपिने १०८ मध्ये ७२ जना महिला र ३६ जना पुरुष केन्द्रीय कमिटीमा बढुवा हुन पाउनेछन् ।

गत असोज १५ गते ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनले एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्थासहितको विधान पारित गरेको थियो । तर, चितवन पुगेर त्यसलाई संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । ३०१ जनाको केन्द्रीय कमिटी बनाउँदा कम्तीमा ७२ महिला र ३६ जना पुरुष नयाँ आउने छन् ।

नेकपा एमालेमा हाल १९३ जना केन्द्रीय सदस्य छन् । यीमध्ये महिला २९ जना मात्र छन् भने पुरुष १६४ जना छन् । दसौँ महाधिवेशनबाट पुराना १९३ जनाकै पद कायम रह्यो भने ३०१ सदस्यीय कमिटी बनाउन ७२ महिला र ३६ पुरुष नयाँ थप्नुपर्ने हुन्छ ।   

एमालेको विधान महाधिवेशनले पारित गरेको २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला हुनुपर्ने प्रावधान थियो । हाल २९ जना महिला केन्द्रीय सदस्य रहेकाले २२५ सदस्यीय कमिटीमा ४६ जना नयाँ थप्दा पुग्थ्यो । तर, अब ३०१ सदस्यीय कमिटी बन्ने भएकाले १०१ जना महिलालाई केन्द्रीय सदस्य बनाउनुपर्ने भएको छ । हाल २९ जनामात्रै कमिटीमा रहेकाले बाँकी ७२ जना नयाँ महिलालाई केन्द्रीय सदस्य थप्नुपर्ने भएको छ ।

​एमालेमा हाल १६४ जना पुरुषहरू केन्द्रीय कमिटीमा छन् । अब केन्द्रीय कमिटीमा २०० जना पुरुषले प्रतिनिधित्व गर्न पाउनेछन् । हाल केन्द्रीय कमिटीमा रहेका सबैले दोहोरिने अवसर पाएको अवस्थामा ३६ जना नयाँ पुरुषले केन्द्रीय सदस्य बन्न पाउनेछन् ।

एमालेले विधान संशोधन नगरी २२५ सदस्य नै कायम राखेको भए पुरुष सदस्यको कोटा १५० मात्र रहन जान्थ्यो । जसमा नयाँले अवसर पाउन त परै जाओस्, हाल कायम रहेका १६४ मध्येबाटै १४ जना पुराना केन्द्रीय सदस्यहरू आउट हुनुपर्ने थियो । यसरी अहिलेकै केन्द्रीय सदस्यहरू बाहिरिनुपर्ने अवस्था आएपछि एमालेले केन्द्रीय कमिटीको सङ्ख्या बढाएर ३०१ बनाउन लागेको हो ।

एमालेको अबको केन्द्रीय कमिटी सदस्य सङ्ख्या ३०१ हुनेछ, जसमा महिला १०१ जना हुनेछन् भने पुरुष २०० हुनेछन् । अहिले १६४ जना पुरुष एमाले केन्द्रीय कमिटीमा छन् । अब थप नयाँ ३६ जना पुरुषले केन्द्रीय सदस्यमा अवसरमा पाउनेछन् भने हाल २९ जना महिला मात्र एमाले केन्द्रीय कमिटीमा रहेकोमा अब ७२ जना महिला नयाँ केन्द्रीय सदस्यको रूपमा थपिनेछन् ।

पार्टीमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदका आकाङ्क्षीहरू धेरै भए पनि सर्वसम्मतिमा नेतृत्व छान्न विधान संशोधन गरेर पदाधिकारी थपको तयारी भइरहेको छ । तर, निर्वाचनमै जाने स्थिति आयो भने कतिपय पुराना केन्द्रीय सदस्यले हार्ने र नयाँबाट थप सङ्ख्यामा प्रतिनिधित्व हुन सक्ने सम्भावनाको ढोका खुल्ने नेताहरू बताउँछन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप