बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : विदेशमा

शनिबार, ११ मङ्सिर २०७८, १३ : ३९
शनिबार, ११ मङ्सिर २०७८

नेपालीहरूको बाहुल्यता भएको रकडेल बजार सिड्नीको प्रमुख सहरिया इलाकामध्ये एक हो । पाइलैपिच्छे थरिथरिका नेपाली भेटिन्छन्, अझ पार्कमा पुग्ने हो भने पचहत्तरै जिल्लाका अनुहार र वेशभूषा देख्न पाइन्छ । बिदाको दिनबाहेक पार्कमा घुमिरहेका युवा अनुहार प्रायः हुँदैनन् । छोराछोरीको भिजिटिङ भिसामा गएका पौढ अविभावकहरू नै धेरै हुन्छन् । त्यसैमध्येका शङ्कर कुमार लामिछाने पनि एक हुन् ।

पढेलेखेका काठमाडौँका बासिन्दा उनी । दुई वर्षअगाडि मात्रै अधिकृत स्तरको सरकारी जागिरबाट अवकाश लिएका थिए । ६० पार लागेका व्यक्ति भए पनि अझै भर्भराउँदो गोरो अनुहार, अग्लो र हृष्टपुष्ट शरीरमाथि सफा चटक्क मिलेको सर्ट पेन्ट लगाएर पार्कमा घुम्दा कुनै विदेशीभन्दा कम देखिन्नथे । शिरमाथि ढाकाटोपी नलगाउने हो भने उनलाई नेपाली भनेर हत्तपत्त कसैले छुट्याउन सक्ने थिएनन् होला । तर शङ्करजीको शिरमाथि भएको ढाकाको टोपीले भने उनको भव्यतामा चारचाँद थपेको थियो । सुन्दर देखिन हो अथवा सरकारी जागिरे छँदा लागेको बानी भएर हो विदेशतिर रुमल्लिँदा पनि ढाकाको टोपी उनले छोडेका थिएनन् ।

शङ्करजीका तीनजना सन्तानमध्ये दुईवटा नेपालमै घरजम गरेर बसेका छन् । तर कान्छो छोरो तीन वर्ष जति अगाडि ब्यचलर गरेपछि अरू पढ्न अस्ट्रेलिया जान्छु भनेर जिद्धि गर्न थालेछ । उनलाई विदेश पठाउन मन त थिएन । तर निक्कै पछि जन्मेको कान्छो छोरो, उसको हठका अगाडि उनको केही लागेन र पठाएछन् । तिनै छोराको दीक्षान्त समारोहमा सरिक हुन पतिपत्नी दुवैजना केही दिनअगाडि सिड्नी छिरेका थिए । पत्नीलाई घुभफिर मन नपर्नेभन्दा पनि घँुडाको समस्याले उतिसारो बाहिर ननिस्कने भएपछि शङ्करजी एक्लै भए पनि टहलिन निस्कने गर्छन् ।

पार्क ओरिपरि अरू धेरै नेपालीहरू ससाना समूह बनाएर गफ हाँकेर बसेका हुन्थे । कतै महिलाको मात्रै समूह देखिन्थ्यो । कानैमा खस्याक् खुसुक्क आफ्ना घर परिवारको विषयमा कुरागर्न भ्याएका हुन्थे भने कतै पुरुषहरू ठूलाठूला स्वरमा नेपालको राजनीतिबारे टीकाटिप्पणी गरिरहेका हुन्थे । बिना काम अरूसँग धेरै घुलमिल नगर्ने शङ्करजीको स्वभाव भएकाले प्रायः एक्लै अल्लि परको बेन्चमाथि धुम्धुम्ती बसिराखेका हुन्छन् । नेपाली चिनेर कोही बेल्न आएमा राम्रैसँग बोलचाल पनि गरेका हुन्छन् । तर जमात बढाएर आकाश पातालको गफ हाँक्ने उनको बानी छैन । पर बसेर अरूका गफ सुनेका त हुन्छन् तर प्रतिक्रिया दिँदैनन् । शङ्करजीको एकाङ्कीपना हटाउन एक हप्ता जति अगाडि रामकृष्ण श्रेष्ठ देखापरे । उनी पनि जमातसँग घुलमिल गर्न नजान्ने भएकाले परै बस्न रुचाउँथे । एक्लै बसेका शङ्करजीलाई देखेर परिचयको आदानप्रदान भयो । त्यसैदिनदेखि दुवैजना बिहान या साँझ पार्कमा गफिएर बसेका हुन्थे । उस्तैउस्तै परिवेश र परिस्थिति अनि काठमाडौँकै बासिन्दा भएर हो कि दुवैको अल्लि बढी गफ मिल्न थाल्यो । अन्तर्राष्ट्रिय जगतका साथै सिड्नीको वस्तुस्थितिका बारेमा जानेबुझेका कुराहरू दुवैबीचमा हुन्थ्यो ।

उसो त शङ्करजीका लागि सिड्नी उतिविधि नौलो सहर त हैन । करिब ३० वर्ष जति अगाडि एक वर्षका लागि आएका थिए । स्नातक गरेर सरकारी जागिरमा कार्यरत नागरिकलाई तत्कालीन सरकारले छात्रवृत्ति योजनाअन्तर्गत एकवर्षे अङ्ग्रेजी अध्ययनका लागि अस्ट्रेलियाको विभिन्न सहरहरूमा पठउने गर्दथ्यो । त्यसै सिलसिलामा उनी सिड्नी छिरेका थिए । उतिबेलाको सिड्नी र आजको सिड्नीमा आएको फरकताको विषयमा शङ्करजीको बयानलाई रामकृष्ण चाख मानेर सुनिरहेका हुन्थे । जिज्ञासावश रामकृष्णले केही सोध्दा दङ्गपर्दै सम्झी सम्झी सुनाउने गर्थे ।

“बुझ्नुभो रामकृष्णजी ! ३० वर्षअगाडि म यता आउँदा यस्तोबिधी चहलपहल नै थिएन, यत्रा गाडीहरू काहाँ गुड्थे र ! बाटो शून्य जस्तै हुन्थ्यो । सहर घुम्दा विदेशी अनुहार कमै हुन्थ्यो । सबैजसो यतैका बासिन्दा हुन्थे । यदाकदा सहरबाहिरको बस्तीबाट आएका काला अनुहार फाट्टफुट्ट देख्न पाइन्थ्यो ।” रामकृष्ण बीचैमा सोध्थे, “काला मान्छे पनि यतैका हुन् र हजुर ?” “काला त झन यताका आदिवासी नै त हुन् । यी सबै गोरेहरू त अरू मुलुकबाट बिस्तारै बसाइँ सर्दै आएका हुन् ।”

रामकृष्णले फेरि थपे, “यो ठाउँ त बेलायतको कैदी थुनेर राख्ने ठाउँ हो भन्थे नि हजुर ?”

 “तपाईंले ठिकै भन्नुभयो दोस्रो विश्वयुद्ध ताका बेलायतले हरुवा देशका युद्धबन्धीलाई यो सुनसान देशको विभिन्न ठाउँमा थुनेर राखेको थियो ।”

“अनि के ग¥यो त तिनिहरूलाई ?” रामकृष्णको प्रश्नको बीचैमा शङ्करजीको फोन बज्यो । उठाएर सुने छोराको रहेछ, “ड्याडी ! कता हजुर ? घर फर्कने बेला भएन ? सिटी घुम्न जाने भन्या, ममी अघि नै तयार भैसकिस्यो ।” “ल, म आएँ ।”

शङ्करजीले फोन राख्दै भने, “छोराले बोलायो रामकृषणजी ! भोलि भेटौँला नि ।” हात हल्लाउँदै उनी उठेर गए । रामकृष्णको जिज्ञासु आँखाले शङ्करजीको पिछा गरिरह्ये ।

सिड्नी आएको दस दिन जतिमा बल्ल छोराको फुर्सद मिलेर आज शङ्करजी पत्नीसहित सिड्नी सहर घुम्न निस्केका थिए । छोरो बीचबीचमा ठट्यौली पारामा भन्दै थियो

 “राम्रोसँग हेरिस्यो है ड्याडी ! हजुरले देखेको सिड्नी र आजको सिड्नीमा के कति फरक भएछ, कि चिन्नै नसकिने भयो ?” सहरमा आएको फरकता र चहलपहललाई निक्कै चाख मानेर हेर्दै हिँडेका शङ्करजीलाई छोराको प्रश्न चुनौती जस्तै लाग्यो । हाँस्दै भने सहर त के फरक हुनु नि ? त्यो हाबर ब्रिज, त्यो ओपेरा हाउस, अनि यो डार्लिङ हारबर, त्यो भाँच्चिने पिरमज्ट ब्रिज, उत्तापट्टिको एनज्यक ब्रिज आदि सबै उस्तै र उही ठाउँमा त छन् नि ।”

छोरासँग सहज भावमा कुरा गरे पनि उनको नजरले ३० वर्षअगाडि देखेको सहर र आजको सहरमा निक्कै फरक आएको स्पष्ट देखे । सहरको छेउछाउ अग्लाअग्ला बिल्डिङ बनेछन् । यत्तिको मान्छेको भीड र चहलपहल पैला थिएन । ऐले त आफै हराइने जस्तो भीड रहेछ । सिड्नी घुम्न आएका होलान् ! बाहिरी मुलुकका अनुहार अति धेरै देखिन्थ्यो । पत्नीको हात राम्ररी समाएका शङ्करजी छोराको पछिपछि लाग्दै थिए । डार्लिङहाबर वरपर रहेका बडेबडे महल र लाइनै रहेको चमेनागृह अनि त्यतै खाएर बसेका अथाह मान्छे हेर्दाहेर्दै कुनैबेला आफू पनि त्यतै कतै बसेर कसैसँग आइसक्रिम खाएको सम्झन पुगेँ । उतिबेला आफू साथीसँग बसेर खाएको ठाउँ पहिल्याउन नसके पनि यता बसुन्जेल पटक पटक यो ठाउँमा बिताएको समय अनि सँगै हिँड्ने साथीको सम्झना झलझली आउन थाल्यो । शङ्करजी केही हराएझै चारैतिर हेर्दै थिए । छोराको आवाजले झस्किए, “ड्याडी माथि सहरतिर जाऔँ अब यो हाबरमा कति हेर्नु र !” पत्नी भन्दै थिइन्, “के सारो हावा चल्दो रहेछ कान्छा यता त । सारै जाडो भयो ।”

जुन महिना । अरू दुनियाँभन्दा नितान्त विपरीत मौसम भएको अस्ट्रेलिया, अनि प्रशान्त माहासागरबाट बगेको चिसो हावाले डार्लिङहाबर साइड खुबै जाडो थियो । तीनैजना माथि बजारतिर लागे । पहिलो पटक यति ठूलो सहर हेर्दै गरेकी शङ्करजीकी पत्नी आश्चर्य मान्दै अग्लाअग्ला घर हेर्दै पतिसँग भन्दैथिइन्, “कति अग्ला घर हगि हजुर ? यत्रा घर बनाउने माछे कति धनी होलान् ? बाटो पनि कति सफा, दिनदिनै साबुनपानीले दलीदली पखाल्या जस्तो चिल्लो । हाम्रो नेपालमा त जताततै बाटोभरि फोहोरको डङ्गुर हुन्थ्यो । यता त कति राम्रो । सफा चाहिँ खुब गर्दारहेछन् हैन त हजुर ?” शङ्करजी केही नबोली पत्नीतिर हेर्दै मुसुक्क हाँसे । सहरको भीडलाई छिचोल्दै छोराले भिक्टोरिया बिल्डिङ फुत्त छिरायो । भिक्टोरिया बिल्डिङ भित्रको चकाचौध र अथाह मान्छे देखेर पत्नी दङ्ग पर्दैथिइन् भने शङ्करजी अलमल्ल परेजस्ता देखिन्थे । उनले देखेको बेलाको बजारको ऐलेको बजारसँग कसरी तुलना गर्नु, छेउकुना कतै नमिल्ने ! उतिबेला यस्तो भीड हुन्थेन । यत्तिको नयाँ नौलो सामानले ढाकेको बजार पनि थिएन । यसो हेर्दा खालि ठाउँ कतै देखिन्न ! “ओहो के विधि भीड हजुर ! म त यतै हराउँछु होला । हात नछोडिस्यो है ।” पत्नीले पतिको हात कसेर समाउँदै भनिन् “ए कान्छा ! हामीलाई छोडेर फुत्त नजानु नि हामी त हराउँछौँ यो भीडमा ।” छोरो मुसुमुसुहाँस्दै सँगसँगै हिँड्दै थियो, बिचबिचमा आमाको इच्छा बमोजिमको तस्वीर पनि खिच्दै थियो । अझ घुम्दैजादा बजारको बीचमा देखिएको खानाले ठाउँ फुड कोर्टमा अथाह मान्छे बसेर खाइरहेका  देखेर पत्नी जिल्लै परिन् । शङ्करजी पनि सोच्दै थिए, पहिला त  यता यति ठूलो फुडकोड थिएन । पर एउटा फास्टफुड सेन्टर थियो । मान्छे धेरै भएपछि बढाएका होलान् । आफूले आफैलाई जवाफ दिए । छोराले देखेजाने जति सहर बजार घुमाएर साँझको खाना पनि उतैकतै खाएर तीनैजना घरभित्र पसे । रात छिप्पिसकेकाले सबै आआफ्नो बेडरुमतिर लागे ।

दिनभरि सहर घुम्दा र हिँड्दा थकाइले चुर भएकी शङ्करजीकी पत्नी बिछ्यौनामा पल्टने बित्तिकै भुसुक्क निदाइन् । बिर्सिसकेको पुराना कुरा आज सहरमा घुम्दाघुम्दै शङ्करजीको दिमागमा ताजा भएर सलबलाउन थाल्यो । घरिघरि कोल्टो फेरिरहे पनि निदाउँन सकेनन् । जुरुक्क उठे, बोतलमा भएको पानी घट्घटी पिए । सँगै सुतेकी पत्नीको अनुहार पुलुक्क हेरे, मस्त निदाएकी थिइन् । बत्ती निभाएर फेरि पल्टे तर उनको दिमाग भने ३० वर्षअगाडिको सिड्नीतिर रुमल्लिन पुग्यो । घरबाट निस्केदेखिका कुरा उनी सम्झन थाले ।

पढाइमा तेज भएका शङ्करजी आफ्ना दाजुभन्दा निक्कै चलाख थिए । २४÷२५ वर्षको उमेरमा बीए पास गरेका थिए । सरकारी जागिर ख्वाउने बाबुको इच्छाले लोक सेवाको परीक्षा दिन पुगेका  थिए । एकै पटकमा नासु स्तरको जागिर मिलिगयो । जागिरखाएको दुई वर्ष बित्दा नबित्दै अधिकृत स्तरमा पुगिहाले । अङ्ग्रेजी आवश्यक भएर होला, त्यतिबेलाको सरकारले छात्रवृत्तिमा अङ्ग्रेजी पढ्न अस्ट्रेलिया पठाउने गरेको थियो । जेहनदार र शिक्षित व्यक्ति भएकाले यसपटक उनको नाम पनि परिहाल्यो ।

उतिबेलाको नेपालमा यदाकदा विदेशतिर जाने अथवा कोलम्बो प्लान अन्तर्गत डाक्टर इन्जिनियर पढ्नका लागि विदेशतिर जाने फाट्टफुट्ट हुन्थे । हैनभने आजभन्दा ३०–३५ वर्ष जतिअगाडि विदेश जानु भनेको निक्कै आश्चर्य र ठूलो कुरा हुन्थ्यो । शङ्करजीको विदेश जाने कुरा इष्टमित्रदेखि छरछिमेकसम्म फैलियो । भेट्न हो वा बधाई दिन हो, मान्छेको घुइँचो लागेको थियो । अन्ततः २७ वर्षको उमेरमा पत्नी र दुई छोराछोरीलाई बाबुआमाको जिम्मामा छोडेर अस्ट्रेलियातिर लागे ।

सात समुद्र पारिको देश, माहादेश अस्ट्रेलियाको सिड्नी विमानस्थलबाट बाहिरिँदा अलमल्ल परेका उनी पर आफ्नो नामको बोर्ड देखेर उतैलागे । कलेजबाट लिन आएका मान्छेले सीधा कतै होटलमा पु¥याए र त्यसरात उनले होटलमा बिताएका थिए । होटेलको तौरतरिका नबुझेर अलमलिएको र बिछ्यौनामा कसेर राखेको ब्ल्याङ्केट झिक्न नजान्दा जाडो भएर बाथरुममा झुन्ड्याइएको रुमाल ल्याएर ओडेको सम्झिएर ऐले पनि उनी मुसुम्क हाँसे ।

पेइङगेस्ट बनेर बस्ने पहिले नै बनेको योजना अनुरूप भोलिपल्ट बिहानै होटेलबाट एउटा घरमा पु¥याइयो । ठूलो कम्पाउन्ड भएको घर, भित्र भान्सा बैठक आदि बाहेक पाँचवटा सुत्ने कोठाहरू थिए, यत्रो घरमा एकजोडी बूढाबूढी मात्रै बस्दा रहेछन् । सुरुमा शङ्करजीलाई अचम्म लागेको थियो किन एक्लै बसेका होलान् ? यिनको कोही छैन होला र पो एक्लै बसेहोलान् ! यस्तै कुरा सोचिरहन्थे तर एक दिन अचानक एउटा आफ्नै उमेरको केटो घरमा आयो । बूढाले परिचय गराए, ऊ मेरो छोरा हो । त्यसै दिन थाहा भयो, उनका दुईवटा सन्तान बिहेबी गरेर अलग्गै बस्दा रहेछन् । अनि फुर्सदको बेलामा यसो भेट गर्न आउँदा रहेछन् ।

बूढाबूढीसँग चाँडै नै घुलमिल भएका शङ्करजीको दिनचर्या राम्रै चलिराखेको थियो । केही दि पछि अचानक एउटा इटालियन केटी त्यसै घरमा बस्न आइपुगी । २२–२५ वर्ष जतिकी गोरी, लाम्चो मोहाडा र निला आँखा भएकी, सुनजस्तै टल्किएको कपाल अनि छरितो शरीर भएकी । घरबेटीले परिचय गराए । उनको नाम सान्द्रा थियो । आहा ! बालकथाकी सिन्द्रेला जस्तै राम्री । एकै कलेजमा पढ्ने अनि एकै घरमा बस्ने, हामी दुवैको दोस्ती पक्का भयो । सान्द्रा इटालियन भएर होला बोलाइमा स्पष्ट अङ्ग्रेजी हुन्थेन । उसो त शङ्करजी मात्रै कत्तिको सिपालु हुन् र ? तैपनि दुवैको घनिष्टता बढ्दै गयो ।

 शङ्करजी अझ सम्झिँदै जान्छन् । जता जानुपरे पनि सँगै हिँडे्ने । सान्द्रालाले पहिलो पल्ट हात समाउँदा आङ सिरिङ्ग भएको, पटक पटक हात समाएर अबेरसम्म सहर बजार घुमेको, डार्लिङ हाबरमा बसेर आइसक्रिम खाएको । मोरीलाई जुठोको पनि मतलब हुन्थेन । मेरै हातको पनि चाटिहाल्थी एक्लै मुसुक्क हाँसे । ओहो ! सम्झिँदा सम्झिँदै कहाँ पुगेछन् । पुलुक्क पत्नीतिर आँखा लगाए, मस्त निदाएकी थिइन्, बिचरी । यसलाई के थाहा मेरो चर्तिकला । मैले भने न यसले थाहा पाओस् ! उनको मनमा आफ्नी पत्नीप्रति साहानुभूति जागेर आयो । अतित सम्झँदा सम्झँदै आधा रात बितिसकेको थियो । तर निन्द्रा भने कोसौँ दूर भागेको थियो । शङ्करजी फेरि पनि निदाउन सकेनन् । उनी फेरि आफ्नो अतिततिर रुमलिन थाले ।

जागिर खान पुगेको सिंहदरबारदेखि बाहेक ठूल्ठूलो बिल्डिङभित्र कहिल्यै नपसेका शङ्करजी सान्द्राको हात समाएर सिड्नी सहरका बडेबडे भवन हेर्दै पहिलो पटक भिक्टोरिया बिल्डिङभित्र पसेका थिए । हराइएला भन्ने डरले कसेर सान्द्राको हात समातेको अहिले भर्खर हो कि झैँ भयो ।

प्रत्येक बिदाको दिन दुवैजना प्रायः घुम्न निस्कन्थे । एक दिन अबेरसम्म घुमेर घर पुग्दा घरबेटी दम्पती सुतिसकेका थिए । दुवैजना घरभित्र पसेर आआफ्नो कोठामा छिरेका थिए तर एकैछिनमा सान्द्रा शङ्करजीको कोठाभित्र पसिन् । अनौठो भावले बिछ्यौमा आएर बसिन् र भनिहालिन् “आज म यतै सुत्ने हो !” अल्लि डराएजस्तो अलमल्ल परेका शङ्करजी केही जवाफ दिन नसकेर नजिकै आएर बसे । सान्द्रा उनीसँग टाँस्सिएर बसिन् । आफू विवाहित र दुई सन्तानको बाबु भएको कुरा उनले भुलेका थिएनन् । तर सान्द्रको आमन्त्रणको अगाडि शङ्करजी मैनझै पग्लिन थालेका थिए । ओहो ! म पनि त लोग्नेमान्छे, तरुनीले आह्वान गरेपछि मेरो के लाग्थ्यो, नहुने भइगयो । उतिबेलाका कुरा सम्झेर यतिबेला शङ्करजीको शरीरभरि पसिना छुट्न थालेको थियो ।

एक वर्ष बसुन्जेल सान्द्रा र शङ्करजीको रासलीला चलिरह्यो, आखिर फर्कने दिन आयो । शङ्करजीले आफू विवाहित र दुई सन्तानको बाबु भएको कुरा सान्द्रालाई बताइसकेका थिए । त्यसैले कुनै अड्चनबिना घर फर्किए तर सान्द्राले यतै कामगरेर बस्ने निधो गरिन् ।

घर पुगेका शङ्करजीले एउटा खराब सपना देखेर बिर्सिए झैँ सान्द्रालाई सधैँका लागि बिर्सिसकेका थिए तर आजको सहर घुमाइले पुरानो स्मृतिलाई ताजा बनायो । उनी झलझली सान्द्राको अनुहार सम्झन थाले । कत्ति राम्री थिई मोरी ! सारै मजाकी, मनमनै सोच्न थाले कतै भेट हुन्छ कि ? भेटे के भन्ने ? कस्ती भई होला अचेल ? त्यो पनि  म जस्तै बूढी भई होला ! बिहे त गरी होला नि, कस्तो होला त्यसको लोग्ने ? छोराछोरी पनि भए होलान् ! सोच्दा सोच्दै रात छर्लङ्ग बित्यो । बिहानीपख आँखा लागेको रहेछ, पत्नी उठेर ठूलो स्वरमा छोरासँग भन्दै थिइन् “चिया खाएर जा है कान्छा म पकाउँछु ।”

“आज त मेरो ग्रेजुएसन हो नि ममी ! ऐले म कहीँ जान्न । दिउँसो हामी सबै सँगै जाने हो ।” ओहो आज छोराको ग्रेजुएसन त्यसैका लागि त हामी यता आएका शङ्करजी जुरुक्क उठेर बाथरुमतिर लागे । एक बजेतिरको आमन्त्रण थियो धैर्यधारण गर्ने क्षमता नभएपछि एघारै बजे तिनैजना घरबाट निस्किए ।

दीक्षान्त समारोह हलमा पुग्दा करिब बार बजेको हुँदो हो । उनीहरू जस्तै अभिभावक र विद्यार्थीले हलभरी चहलपहल र भीडभाड बढिसकेको रहेछ । छोरो समारोहमा लगाउने आफ्नो गाउन खोज्न गयो । पतिपत्नी एकातिरको सोफामा बसेर वरपरको तमासा हेर्दै थिए । पत्नी भन्दै थिइन्, “कत्ति धेरै नेपालीहरू रहेछन् हगी हजुर ! हेरिस्यो त ।” साँच्चै ! विभिन्न देशका मान्छेहरूको बीचमा आफ्ना देशका मान्छे टाढैबाट पनि चिनिन्थ्यो । अझ अधिकांश नेपालीहरूले नेपाली लुगा लगाएर आफ्नो छुट्टै पहिचान देखाएका थिए । शङ्करजी अचम्म मान्दै हेर्दै थिए ओहो सिड्नीमा मात्रै यत्तिधेरै नेपाली पढ्दा रहेछन्, अष्ट्रेलियाभरि कति होलान् ? अझ यो त मास्टर लेबलको पढाइ हो । अरू लेबल र विभिन्न तालिम गर्नेहरू कति होलान् ? ती सबैका हामीजस्तै अभिभावक जम्मा भए कति होलान् ?

सोच्दासोच्दै शङ्करजीको आँखा एक ठाउँमा टक्क अडिन्छ । चिनेचिने जस्तो अनुहारकी महिला, अल्लि गाडेर हेर्छन् सान्द्रा जस्तै लाग्छ । उनको मनले सान्द्रा नै हो भनेर मान्नै तयार भएन । वयस्क उमेरकी सान्द्रा कति राम्री थिई । यो खसक्क खस्केकी आइमाईसँग सान्द्राको के दाजो गर्नु ! फेरि एक्लै हाँसे अब त सान्द्रा पनि त म जस्तै बूढी भई होला नि हरे ! सधँै उस्तै के हुन्थ्यो ! फेरि ऊ कसरी होस् र यता ? आफ्नै दुनियाँतिर गई होला ! साच्चै यो आइमाई पनि कताकता सान्द्रा जस्तै जस्तै त देखिँदी रहिछ । पर देखिएकी महिलालाई शङ्करजी मनमनै सान्द्रासँग दाज्दै थिए ।

छोराको दीक्षान्त समारोहमा सरिक हुन आएका शङ्करजी तर उनका आँखा भने घरिघरि समारोहभन्दा पर रहेकी उनै महिलामा गएर अड्किन थाल्यो ।  मनमा अनेकने तरङ्ग उठ्न थाले । साँच्चै, नाकनक्सा ठ्यक्कै ऊजस्तै, को रहिछ यो ? सँगै एउटा लोग्नेमान्छे सायद उसको पति होला, एकैछिनमा हातमा गाउन बोक्दै हाँस्दै एउटा केटो आयो । सायद उसको छोरो होला, हामीजस्तै छोराको ग्रेजुएसनमा आएका रहेछन् । कस्तो सान्द्रासँगै मिलेको अनुहार, धत् !  मेरा आँखाले गोरी जति उस्तै देख्न थाल्यो कि क्या हो ? के भएको हो, हिजोदेखि दिमागभरी सान्द्रा मात्रै बसेकी छ । शङ्करजी आँखा मिचीमिची हेर्नथाले, अनि आफूले आफैलाई भन्न थाले, सान्द्राको रूप पनि म बिसन्छु र ? ठ्याक्कै उस्तै ! यो आइमाई को होली ?

समारोह सुरु भयो । मञ्चभरि १०–१२ जना आसिन थिए । तल हलमा करिब ५०० भन्दा बढी नै मान्छे आआफ्ना छोराछोरीले दीक्षान्तको प्रमाणपत्र पाएको हेर्न पर्खेर बसेका अबिभावकहरूको अनुहार खुसीले प्रफुल्ल देखिन्थ्यो । देखिने जति सबैको अनुहार हेर्न भ्याएका शङ्करजीको आँखा एक ठाउँमा टक्क अडियो । तिनै अघि देखिएकी महिलाले उनलाई हेरिरहेकी रहिछिन् । दुवैको आँखा मिल्यो, उनी मुस्कुराए जस्तो गरिन्, उनी झस्किए, साँच्चै यिनी सान्द्रा नै हुन् त ?

टरर्र ताली पिटेको आवाज आयो । दुवैजना मञ्चतिर हेर्नथाले । कार्यक्रम सुरु भइसकेछ । मञ्चमा आसिन व्यक्तिहरूको मन्तव्यपछि क्रमैले दीक्षार्थीलाई बोलाउन थालियो । आफ्ना सन्तान दीक्षित भएको देख्दा कतिपय अभिभावकका आँखाबाट खुसीका आँसु टप्किएको पनि देखिन्थ्यो । यसैमध्ये शङ्करजीकी पत्नी पनि गालामा बगेका आँसु पुस्दै थिइन् ।

 कार्यक्रम सकियो । कलेजले केही चमेनाको पनि व्यवस्था गरेको रहेछ । सबैजना त्यतै लागे । कफी हातमा लिएका शङ्करजी आफ्नी पत्नीसँगै सोफामा बसेका थिए । छोरो आफ्नो साथीतिर थियो । नजिकैबाट आवाज आयो “मिस्टर शङ्कर !” आँखा उठाएर हेरे उनै महिलाले बोलाइरहेकी रहिछन् । उनी जुरुक्क उठे र भने, “तिमी सान्द्रा हो ?” “हो म सान्द्रा,  तिमीलाई देख्नेबित्तिकै मलाई विश्वास नै भएन कि यो तिमी नै हौ । मैले त कैले पनि सोचेकै थिइनँ, तिमी यता आउँछौ भनेर । हामी छुट्टिएको पनि ३० वर्षभन्दा बढी भयो । तिम्रो रूप थोरै बदलिएछ । मलाई चिन्न निक्कै बेर लाग्यो फेरि पनि मैले चिनिहालेँ । तर तिमीले मलाई चिनेनौँ ?” उनी खुसी भएर अँगालो मारेझँै गर्दै सबै भन्दैथिइन्, “तिमी पनि पहिलेभन्दा थोरै बदलिछ्यौ । उस्तैउस्तै त लागेको हो तर तिमी यतै छ्यौ भनेर विश्वासै भएन ।” शङ्करजीे बोल्न नपाउँदै सान्द्राले तानेर अल्लि पर पु¥याउँदै भनिन्, “उनी मेरा विवाहिता पति एन्ड्रिक हुन् । अनि परबाट आउँदै गरेको केटोतिर देखाउँदै भनिन्  “ऊ तिम्रो बायोलोजिकल छोरा एरिक हो, मेरा पति उसको बाबु हो ।” सान्द्राले सहज भावमा आफ्ना पतिसामु भनेका कुरा सुनेर शङ्करजी जिल्ल परे ।

उनले छोडेर जाँदा सान्द्रा गर्भवती रहिछन् ? तर उनले त यो कुरा मलाई भनेकै थिइनन् ! आश्चर्य मान्दै शङ्करजीले सान्द्राको अनुहार पुलुक्क हेरे । उनको पति एन्ड्रिक उभिएर “हलो म्यान” भन्दै हात अगाडि बढाउँदै थियो । जिल्ल परेका शङ्करजीले हात मिलाए । एन्ड्रिक भन्दै थियो, “सान्द्रा सारै राम्री र असल महिला हुन् । उनीसँग बिहे गरेर म ज्यादै खुसी छु, म एरिकको बाइलोजिकल बाबु हैन भन्नेकुरा एरिकलाई राम्रोसँग थाहा छ तर पनि उसले मलाई खुब माया गर्छ । हामी दुई साथी जस्तै छौँ ।”

जिल्ल परिरहेका शङ्करजीलाई घचघच्यँउदै सान्द्राले भनी, “तिमी आफ्नो छोरालाई भेट्न चाहान्छौ ?” एन्डिकले भन्यो, “म चिनाउँछु । अफ्नो बाइलोजिकल बाबुसँग भेट्न पाउँदा सायद एरिक पनि खुब खुसी हुन्छ होला ।”

शङ्करजीकी पत्नी कतिबेला हो सोफाबाट उठेर नजिकै उभिन पुगेकी रहिछिन् । जिल्ल पर्दै यो सबै तमासा हेरिरहेकी थिइन् । परबाट एरिक लम्कदै आउँदै थियो । रातोपीरो भएका शङ्करजी केही नबोली एरिकलाई हेरिरहेका थिए ।

(हालै प्रकाहित कथासङ्ग्रह ‘परदेशी मित्र’ भित्रको एउटा कथा ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप