शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

जनताले चाहेको अबको काँग्रेस

शनिबार, ११ मङ्सिर २०७८, १३ : ३४
शनिबार, ११ मङ्सिर २०७८

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक देश हो । हिमाल, पहाड र तराईमा आ–आफ्नै किसिमको रीतिरिवाज, चालचलन, भेषभूषा, जातजाती, धर्म भए पनि सबै एक अर्कोमा मिलेर बसेका छन् । एकले अर्कोलाई सम्मान गर्दछन् । यी सबै विविधतालाई एकतामा गाँस्ने बलियो आधार भनेकै लोकतन्त्र हो । लोकतन्त्रमा नै सबै वर्गको पहिचान प्रतिनिधित्व र अवसर हुन्छ । र, नेपाली जनताले लोकतन्त्रको केन्द्रविन्दुको रुपमा नेपाली कांग्रेसलाई हेरेका छन् ।

कांग्रेसले लिएको राष्ट्रियता, लोकतन्त्र र समाजवादी आर्दशबाट नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको हो । आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने पाटोमा जान सम्भव भएको हो । इतिहासका हरेक कालखण्डमा अनेक आरोह–अवरोहलाई झेल्दै जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनताको जर्गेना गर्दै अनवरत प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिको लागि लड्ने एक मात्र ऐतिहासिक लोकतान्त्रिक पार्टी पनि नेपाली कांग्रेस नै हो ।

 त्यसैले नेपाली जनताले पनि नेपाली कांग्रेसलाई एक परिपक्व, जिम्मेवार पार्टीको रुपमा हेर्ने गर्दछन्, चाहे कांग्रेस सत्तामा रहँदाहोस् वा बाहिर नै किन नहोस् । नेपाली कांग्रेसले राष्ट्र र जनताको लागि गरेको कामको आधारमा मूल्याङ्कन गरी जनताले धेरै पटक सत्तामा कांग्रेसलाई पु¥याएका छन् भने अहिले प्रतिपक्षमा बसी काम गर्ने जिम्मेवारी दिएका छन् । त्यसैले जनताले चाहेको अबको कांग्रेस कस्तो हुनुपर्दछ भन्ने विषयलाई अब बहसको रुपमा लिएर जानुपर्ने आजको आवश्यकता भएको छ ।

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रजातन्त्र स्थापना नै मुख्य उद्देश्यका साथ नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर संगठित भएको पार्टीको नाम नै नेपाली कांग्रेस हो । नेपालको सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कांग्रेसले आफ्नो पृष्ठभूमि तयार गरेको छ । तर, निरन्तर बलिदानीपूर्ण संघर्षबाट पार्टीलाई जीवन्तता र जनतालाई निरंकुशताबाट मुक्ति दिने कांग्रेस अहिले प्रतिपक्षमा हुँदा केही कमजोर भयो कि भन्ने टीकाटिप्पणी भइरहेको पाइन्छ ।

आन्दोलनको करिब ७० वर्षको दौरानमा कहिले पनि नथाक्ने, नझुक्ने, कसैसँग पनि लोकतन्त्र विरुद्ध सम्झौता नगर्ने कांग्रेस अहिले किन जनताबाट ओझलमा प¥यो ? यसको निक्र्याेल हुनैपर्छ । नेपाली कांग्रेसका कार्यकर्ताले निम्न तीन आधारमा गर्व गर्दै जनतासँग आफूलाई साक्षात्कार गराउन सक्नुपर्दछ–

पहिलो– क्रियाशील दलमध्ये सबैभन्दा पुरानो पार्टी, दोस्रो हो समाजवादी नेता बिपीले नेतृत्व लिएको पार्टी, अनि तेस्रोः नेपालको राजनीतिक इतिहासदेखि नै शक्तिशाली पार्टी । यी कुरालाई जनतामाझ गर्वका साथ स्थापित गर्नसक्नुपर्छ ।

पार्टी सञ्चालनका लागि मुख्यतया नेता तथा नेतृत्व, संगठन, सिद्धान्त तथा आदर्श, राष्ट्र« र जनताप्रतिको दायित्वजस्ता कुराहरूको आवश्यकता पर्दछ । नेतृत्वमा गतिशीलता, संगठनमा सशक्तता, सिद्धान्त र आर्दशमा प्रतिवद्धता एवं राष्ट्र र जनताप्रतिको जिम्मेवारीले मात्रै अबको कांग्रेस अगाडि बढ्नसक्छ ।

नेतृत्वमा शिथिलता, अस्पष्टता आयो भने त्यसले कार्यकर्तालाई सही दिशामा डो¥याउन सक्दैन । नेतृत्व फितलो भयो भने संगठनको भविष्य पनि अन्धकार हुन्छ ।  नेतृत्व, कार्यक्रम र कार्य योजना र कार्यान्वयनको आधारमा मात्र जनताले पार्टीलाई विश्वास र समर्थन गर्दछन् । त्यसैले जनताले चाहेको कांग्रेस बनाउन नेता तथा कार्यकर्ता ईमान्दार र सजग रहन अत्यावश्यक हुन्छ किनकि नेतृत्व शरीर हो भने त्यसको प्राण संगठन हो, कार्यकर्ता हातखुट्टा हुन भने जनता त्यसका आधारस्तम्भ हुन् । जनताको समर्थनविना पार्टी जीवन्त रहन सक्दैन ।

अबको राजनीति भनेको नेता कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी नै हुनुपर्दछ । जनताको जनसवाल, जनजीविका र जनसरोकारका विषयमा पार्टी सधैं सचेत र सजक हुनुपर्दछ । नेपाली कांग्रेसलाई अझै पनि नेपाली जनताले ‘एक हल गोरु, एउटा गाई, सानो घर’सहितको बीपीको पार्टीको रुपमा बुझ्ने गर्दछन् । तर, यो यस्तो सपना बन्यो जसलाई कांग्रेसले चुनावको बेला देख्छ र सरकारमा जाँदा बिर्सिन्छ भन्ने आरोपबाट अब कांग्रेस मुक्त हुनै पर्छ । त्यसैले बिपीका तीन मूलमन्त्र लोकतन्त्र, समाजवाद र मेलमिलापलाई आत्मसात गरी जनताको घरदैलोमा पुगेमा मात्र बीपीले सोचेको जनताले चाहेको कांग्रेस बन्नसक्छ । त्यसका लागि यी विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ–​

१ आचरण र व्यवहार : नेपाली कांग्रेसलाई जनताको आशाको केन्द्रविन्दु बनाउन कांग्रेसजनले आफ्नो राजनीतिक आस्थामा, आफ्नो संस्कार, संस्कृति र मूल्य–मान्यतामा आफूलाई हिँडाउनुपर्दछ । किनकी कांग्रेसको शक्ति भनेको लोकतान्त्रिक संस्कृति हो । अहिंसात्मक दर्शन नै कांग्रेसको ठूलो आधार र मान्यता हो । त्यसैले भौतिकशक्तिको आधारमा नैतिक शक्तिलाई अंगाल्नुपर्दछ । त्यसका लागि नेतादेखि हरेक कार्यकर्ताले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्न जरुरी छ ।​

२ सिद्धान्त र आर्दश : नेपाली कांग्रेसको सिद्धान्त र आदर्श सर्वोत्कृष्ट हुने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा यसको विश्वसनियता र यसको व्यापक जनाधार रहे पनि अहिले निर्वाचनमा कांग्रेसले विजय हासिल गर्न सकेन । किनभने मूलजरो जनताले पार्टीका नेता, कार्यकर्ता, उनीहरुको व्यवहार र आचरण हेरेर मतदान गर्दा कांगे्रस पराजित हुन पुग्यो । कतिपय ठाउँमा अन्तरघात पनि भयो । त्यसैले सिद्धान्त र आर्दशप्रति प्रतिवद्ध कांग्रेस बनाउनका लागि पार्टीमा राम्रो काम गर्नेलाई पुरस्कृत, अनुशासनहीनलाई दण्ड गर्ने व्यवस्था बसाल्नै पर्छ । खोक्रो आदर्श र मान्यताले मात्र हुँदैन, त्यसलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले व्यवहारमा उतार्न सक्नुपर्छ ।

३ कार्ययोजना र कार्यक्रम : आमजनता, महिला, दलित आदिवासी जनजाति, मधेसी एवं युवा वर्गमा कांग्रेस प्रजातन्त्रप्रति प्रतिवद्ध पार्टी हो भन्ने प्रमाणित गर्न सक्नुपर्छ । यसले नै सबैको भलो गर्दछ भन्ने विश्वास र भरोसा दिलाउन सक्नुपर्छ । यसका लागि तत्कालीन र दीर्घकालीन विस्तृत कार्ययोजना र कार्यक्रम जनताको लागि पार्टीको तर्फबाट ल्याउन जरुरी छ ।

त्यही कार्यक्रम, कार्यान्वयन र उपलब्धिका आधारमा मात्र नेपाली जनताले कांग्रेसलाई समर्थन गर्नेछन् । जुन काम गर्न सकिन्छ त्यस्ता योजनाहरूमात्रै ल्याउनुपर्छ । आश्वासनमात्रै दिने, जनतालाई भुलभुलैयामा राख्ने कार्यक्रम र कार्ययोजनाले पार्टीको छविलाई धुमिल बनाउँदछ । यसतर्फ कांग्रेस सचेत रहन आवश्यक छ ।​

४ संघीयताप्रति प्रतिवद्ध : देशमा संघीय व्यवस्था लागु भइसकेको छ । त्यसैले अबको यात्रा भनेको समृद्धि र विकास नै हो । संघीयता भनेको साधनस्रोत र शक्तिको विकेन्द्रीकरण गरी सिंहदरबारको अधिकार गाउँगाउँ र घरघरमा पु-याउनु हो । त्यसैले अहिलेदेखि नै कांग्रेसले आफूले  जितेका स्थानीय तहमा साधनस्रोतको परिचालन गरी लक्षित वर्गसम्म कार्यक्रम पुगेको छ कि छैन, कति लाभान्वित भए भन्ने कुराको लेखाजोखा गरी जनतासँग अन्र्तक्र्रिया एवं अन्र्तसंवाद गर्नुपर्दछ ।

अनि मात्रै जनताले संघीयता भनेको शक्ति र विकासको विकेन्द्रिकरण हो भन्ने कुरा बुझ्नसक्छन् । तर वर्तमान सरकारले सत्ता र शक्तिको केन्द्रीकरण गरी संविधानले प्रदेश र स्थानीय तहलाई दिएको सबै अधिकार मिचेर आर्थिक स्रोत साधन र प्रशासनिक शक्तिमा स्वेच्छाचारी चरित्र पनि देखाएको छ । त्यसैले संघीयतालाई बलियो बनाउँदै जनतालाई सुसूचित गरी वैचारिक आन्दोलन चलाउनु जरुरी छ । संघीयताको नामले जनतामा करको भार मात्र बढाउनेतर शासनसत्तामा जनताको पहुँच नहुने हो भने संघीयताप्रति वितृष्णा उत्पन्न हुनसक्छ ।

संघीय, प्रदेश र स्थानीय सरकारको साधारण खर्च धान्न पनि विदेशी सहयोग र ऋण लिनुपर्ने हो भने संघीयताप्रति प्रश्न उठ्न सक्छन् । त्यसैले संघीयताको मर्म बुझेर सामान्य जनतालाई विकासको प्रतिफल संघीयताबाट प्राप्त हुन सक्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।

 

५ राष्ट्रियतामा अडिग : राष्ट्रियता, राष्ट्रिय एकता र स्वाधीनताको लडाइँमा कांग्रेस अडिग छ भन्ने कुरामा जनतालाई विश्वास दिलाउन नेता तथा कार्यकर्ताले त्यही अनुरुपको व्यवहार र कार्यान्वयन गरेर देखाउनुपर्छ । समानता र राष्ट्रियताको चर्को नारा लगाएर सत्तामा पुगेका कम्युनिष्टहरूले अहिले आफ्ना दलका कार्यकर्तालाई भरणपोषण गर्ने, राज्यका सबै संयन्त्रलाई नियन्त्रण गर्न लागेको देखिन्छ ।

त्यसैले राष्ट्रियता पहरेदार पार्टी नेपाली कांग्रेस मात्र हो भन्ने विश्वास जनतालाई दिलाउन कम्युनिष्टकरणविरुद्ध जनतालाई साथ लिई आन्दोलन समेत गर्न पछि पर्नुुहुन्न । कम्युनिष्टको खोक्रो र जनतालाई दिग्भ्रमित पार्ने राष्ट्रियताको सवाललाई नेपाली कांग्रेसले जनतालाई बुझाउन सक्नुपर्छ । राष्ट्रियताको सवालमा बिपीले भनेजस्तै माटो मात्र होइन, जनताको सामूहिक भावना हो भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । राष्ट्रियताको सवालमा कांग्रेस धर्मराउनुहुन्न ।
 

६ आफ्ना कामको प्रचार : कांग्रेस सरकारमा रहँदा गरेका महत्वपूर्ण उपलब्धि एवं राष्ट्रिय चुनौतीहरूलाई गाउँगाउँमा गएर प्रचारप्रसार गर्न सक्नुपर्छ । आफूले गरेका कामको प्रचारप्रसार गर्न नसक्दा वा जनतालाई बुझाउन नसक्दा एवं कम्युनिष्टले गरेका गलत कामको भण्डाफोर गर्न नसक्दा कांग्रेस पछाडि परेको हो ।

‘बोल्नेको पीठो बिक्छ, नबोल्नको चामल पनि बिक्दैन’ भनेजस्तै कांग्रेसले गरेका सकारात्मक कामहरूको फेहरिस्त बनाई प्रचार–प्रसार जनस्तरसम्म पु¥याउन संरचनात्मक ढाँचालाई प्रभावकारी बनाउन आवश्यक छ ।

७ अतीतमुखी होइन, भविष्यमुखी : कांग्रेसलाई अब अतितमुखी होइन, भविष्यमुखी बनाउन जरुरी छ । यी सबै कामका लागि टाठाबाँठासँग मात्र होइन गरिब, असाहय र विपन्नमुखी, सहरमुखी होइन, गाउँमुखी भएर कृषिक्रान्ति, आन्तरिक पर्यटनको विकास र नवीनतम ऊर्जाको प्रवद्र्धनका लागि जनतासँग निरन्तर अन्तरक्रिया र अन्र्तसंवादमा जुट्नैपर्छ । कांग्रेसको इतिहास देखाएर मात्र अब जनता सन्तुष्ट हुनसक्दैनन् । २१ औं शताव्दी अनुसारको जनताको चाहना र इच्छालाई परिपूर्ति गर्न वर्तमानमा कांग्रेसले त्यहीअनुसारका नीति तथा कार्यक्रहरू ल्याएर भोलिको सुदृढ कांग्रेस भएको जनतालाई महशुस गराउन सक्नुपर्छ ।

 
८ ‘हाम्रा’ होइन राम्रालाई प्राथमिकता : कांग्रेसले पार्टीको जिम्मेवारी एवं राजनीतिक नियुक्ति अर्थात निर्वाचनमा पार्टीको टिकट दिँदा मूल्याङ्कनको आधारमा हाम्रालाई होइन राम्रालाई प्राथमिकता दिनुपर्दछ । कार्यदक्षता, क्षमता, योग्यता र निरन्तरताको आधारमा जिम्मेवारी दिँदा गुटको कुरा हराएर जान्छ । गुटमुक्त कांग्रेस बनाउन जरुरी छ । पार्टीलाई युग सुहाउँदो वैज्ञानिक पद्धतिअनुरुप ंसञ्चालन गर्न आवश्यक छ । जबजब पार्टी सत्तामा जान्छ, पार्टीपद्धति भन्दा आफ्नो निजी स्वार्थलाई हेरेर जिम्मेवारी दिने प्रवृत्ति राकेर संस्थागत संरचना र पद्धतिमार्फत योग्य ठाउँमा योग्य व्यक्ति छनोट हुने संस्कारको विकास गर्नपर्छ ।
 

९ भ्रष्टाचारमा खरो : कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नुपर्दछ । कम्युनिष्ट सरकारले गरेका जति पनि भ्रष्टाचारका काण्ड छन् तिनको भण्डाफोर गर्न जनतालाई साथमा लिएर भ्रष्टाचार विरोधी अभियानको नेतृत्व कांग्रेसले गर्नु सक्नुपर्छ । कांग्रेसभित्र यदि कतै भ्रष्टाचारको गन्ध आउँछ भने हाम्रो र आफ्नोलाई नहेरी त्यसलाई सशक्त कारबाहीको दायरामा ल्याउनुपर्छ । र पारदर्शी किसिमले सर्वत्र भएका भ्रष्टाचार काण्ड र गतिविधिलाई निरुत्साहित गर्न कांग्रेस खरो रुपले उत्रन आवश्यक छ ।

१०. पार्टीको भ्रातृ र शुभेच्छुक संस्था : पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरु जुन उद्देश्य राखेर बनाइएको हो, त्यही उद्देश्यका साथ सिर्जनशील बनाई पार्टी तथा संस्थाको विकासका लागि एवं स्थानीय तहका जनताको सेवामा अभिप्रेरित गर्नुपर्दछ । सशक्त र प्रभावशाली संगठन निमार्ण गर्न भ्रातृ संस्थालाई कुनै पनि नेताको झोले संगठन बनाइनुहुँदैन । प्रत्येक भ्रातृ तथा शुभेच्छुक संस्थाले आफ्नो विधानले तोकेको जिम्मेवारी पूरा गरी समयमैनिर्वाचन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने प्रवृत्तिको विकास हुन जरुरी छ ।
 

११. सरकार सञ्चालनमा कुशलता :  लोकतन्त्रमा जनताले कुनै निश्चित पार्टीलाई चुनावमा रोज्ने धेरै आधारमध्ये मुख्य आधार भनेको सरकारमा रहँदा पार्टीले कस्तो कार्यसम्पादन ग¥यो भन्ने नै हो । सत्तामा रहँदा जनमानसमा निर्माण भएको उसको छविको आधारमा नै चुनावमा जनताले पार्टीलाई पुरस्कृत र दण्डित गर्दै आएका छन् । उदाहरणका लागि प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा कांग्रेसको बहुमतको सरकार बन्यो तर आफ्नै  कारणले पूरा कार्यकाल टिक्न सकेन । दुईपटकसम्म बहुमतको सरकार बनाएको र अन्य समयमा गठबन्धनको सरकार सञ्चालन गर्ने मौका पाएको कांग्रेसले जनताको मन र मत जित्ने अनि परिमाण दिनसक्ने अवसर नपाएको होईन तर जेजति गर्न सक्नुपथ्र्याेत्यो आफ्नै कारणले गर्न नसकेको हो ।

हालकोे निर्वाचनबाट नेपाली कांग्रेस प्रतिपक्षमा रहन पुगेको छ, किन यसो भयो ? केही कमीकमजोरी अवश्य भएका छन् । त्यसैले अब सरकारमा जाँदा कांग्रेसले कुशलतापूर्वक सत्ता सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्दछ । यसरी राष्ट्र र जनतालाई समुन्नत बनाई प्रभावशाली कांग्रेस निर्माण गर्नकालागि कांग्रेसले देश र पार्टीभित्रका विभिन्न तह र तप्काका मुद्दालाई मुखरित गर्दै संस्थागत संरचनामार्फत नेता तथा कार्यकर्ताका साथै विषयविज्ञसँगै अलावा युवा, महिला, दलित, आदीवासी जनजाति, मधेसी, पिछडा एवं सीमान्तकृत वर्ग समेतको प्रतिनिधित्व हुनेगरी सबैलाई विशेष जिम्मेवारी दिनु नै पर्दछ ।

युवा

कुनै पनि राज्यको मूल कडीको रुपमा त्यस देशका युवा नै हुन् । युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार हुन् । त्यसैले विश्वका सबैजसो राष्ट्रहरुले राष्ट्रिय नीति तर्जुमा गर्दा यही समूहलाई केन्द्रविन्दु बनाउने गर्दछन् । उन्नतिका नायक, उत्साहका परिचायक, राष्ट्र निमार्णका प्रमुख स्रोतका रुपमा रहेका युवा वर्ग राष्ट्रका अमूल्य नीधि हुन् । नेपाल मूलतः युवाहरुको देश हो ।

 

नेपालको कूल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्याको उमेर १६ देखि ४० वर्षको छ । युवा शक्तिलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । तर पछिल्लो कालमा नेपाली कांग्रेसको संगठनप्रति ठूलो युवापंक्ति राजनीतिक विचारधाराबाट टाढा हुँदै गएको देखिन्छ । यसपालिको निर्वाचनमा पनि युवाहरूको पर्याप्त मत पाउन नसक्दा कांग्रेसले पराजयको पीडा भोग्नुप¥यो ।

 

अहिले विदेश पलायन भएका थुप्रै युवा कोभिड–१९ को कारण स्वदेश फर्किँदैछन् । उनीहरुलाई उद्यमशील बनाउनुपर्दछ । यस्तै पार्टीमा काम गरिरहेका युवालाई आकर्षण गर्न आर्दश र सिद्धान्तबारे विशेष प्रशिक्षण दिई प्रतिवद्ध बनाउनुको साथै पार्टीको विशेष जिम्मेवारी एवं नेतृत्व तहसम्म ल्याउन जरुरी छ । यसका लागि नेपाली कांग्रेसले युवाको ज्ञान, सीप र अनुभव र सिर्जनशिलतालाई राष्ट्रिय निर्माणमा सरीक बनाउन देशका समग्र निकायमा युवाको समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिनुपर्दछ ।

बिहानीले दिनको संकेत गर्छ भनेजस्तै वर्तमानले भविष्यलाई डो¥याउँदछ । जसरी आजको सानो बिरुवा भोलि ठूलो रुख बन्छ र छाहारी दिन्छ, त्यसैगरी भविष्यको जाहाजरुपी देश चलाउने पाइलटरुपी युवालाई मन, बचन, कर्मले कांग्रेसभित्र काम गर्ने वातावरण बनाउन जरुरी छ । नेपालको संविधान २०७२ ले राष्ट्र निर्माणका लागि युवा जनशक्तिलाई परिचालन गर्न सरकारले विशेष नीतिको अवलम्वन गर्नुपर्ने कुराको दिशाबोध गरेको छ ।

महिला

विश्वका धेरै मुलुकजस्तै नेपाल पनि महिलाको अवस्थालाई हेर्ने हो भने सामाजिक, आर्थिक, राजनीतिक सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून रहेको छ । २०६८ को जनगणनाअनुसार नेपालमा कूल जनसंख्याको आधाभन्दा बढी ५१.१ प्रतिशत हिस्सा ओगटेका महिलाराज्यका हरेक पक्षमा पिछडिएका एवं हेपिएका छन् । महिलाको उपस्थितिलाई संविधानले कानूनीरुपमा मान्यता प्रदान गरिएता पनि समाजमा महिला÷पुरुषको भूमिका र अधिकारमा भने समानता छैन ।

त्यसैले महिलाहरूको विकास र सशक्तिकरणको लागि नेपाली कांग्रेस सक्रिय हुनु नै पर्छ । महिलामाथि हुने अत्याचार र हिंसाविरुद्ध २००७ सालदेखि नै आफ्नो अभियान चलाउँदै आएको छ । महिलाको हकअधिकार प्राप्त गर्ने सन्दर्भमा २०६३ को प्रारम्भमा मै पुनःस्थापित संसदले राज्यका हरेक संयन्त्रमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्थाको नीति स्वीकृत गरेको हो ।

अहिलेको संविधानले पनि संवैधानिक रुपमा सुनिश्चित गरिसकेको छ । जसअनुसार संघीय संसदमा ३३ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला निर्वाचित भएर नीति तथा विकास निर्माण गर्ने थलोमा पुग्नसकेका छन् । नेपाली कांग्रेसको नयाँ संशोधित विधानले पनि पार्टीको हरेक संरचनामा महिलाको एक तिहाईका प्रतिनिधित्वको व्यवस्था गरिसकेका छ । महिलाको नेतृत्व विकास योजना सञ्चालन गरी बढीभन्दा बढी महिलालाई नेतृत्व पुग्ने अवसर र वातावरण कांग्रेसले सिर्जना गर्न जरुरी छ । उनीहरूलाई आत्मनिर्भर बनाउन सशक्तिकरण र आर्थिक सवलीकरण गर्न आवश्यक छ । शताब्दीऔं देखिको पुरुष प्रधान सोचमा क्रमशः सुधार हुँदै गएको छ ।

जबसम्म पुरुष वर्गले महिलालाई समानरुपले हेर्ने सोच र व्यवहार गर्दैनन् तवसम्म महिलाहरूको उत्थान हुन कठीन छ । सरकारले महिलाको विकासका लागि विशेष कार्यक्रममार्फत संरक्षणको नीति अवलम्वन गर्नुपर्दछ भने महिला स्वयंले पनि प्रतिष्पर्धामा आउन आफूलाई सक्षम र योग्य बनाउन जरुरी छ । सो अनुसार वातावरण भने सरकारले गरिदिनु पर्दछ ।

दलित

शताब्दीदेखि नै थिचिएका, मिचिएका तत्कालीन शुद्र मानिने नै वर्तमान दलित हुन् । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा कूल जनसंख्यामध्ये १३.८ प्रतिशत जनसंख्या दलित समुदायको रहेको छ । राष्ट्रिय दलित आयोगले हालसम्म २६ जातिलाई दलित समुदायमा सूचीकृत गरेको छ । नेपालको संविधान २०७२ को धारा २१५ र २१६ को उपधारा ४ मा गाउँपालिका एवं नगरपालिकाको निर्वाचनमा दलितको प्रतिनिधित्वको व्यवस्था गरिसकेका छ ।

त्यसैले सदिऔंदेखिको छुवाछुतजस्तो कुरीति र गरिवीको निरन्तर पीडा खेपिरहेका तथा राजनीतिक, आर्थिक, सामाजिक अवसरबाट वञ्चित पारिएका लाखौं दलितहरू यतिबेला  विभेदबाट मुक्ति र अधिकारप्राप्तिका लागि संघर्ष गरिरहेका छन् । उनीहरूको यो संघर्षलाई मानवअधिकार र समानताको निम्ति न्यायपूर्ण संघर्ष हो भन्ने ठहर कांग्रेस गरेको छ ।

त्यसैले पार्टीको स्थापनाकालदेखि नै विभिन्न वर्ग र समुदायभित्र नेपाली समाजमा कलंकका रुपमा प्रचलित जातिय छुवाछुतविरुद्धमा नेपाली कांग्रेसले आन्दोलन गर्दैै आएको छ । कांग्रेस पार्टीको सबै तहमा यस समुदायको प्रतिनिधित्व गर्ने व्यवस्था विधानले नै सुनिश्चित गरेको छ । दलित समुदायको समग्र उत्थान र विकासको लागि राज्यको सम्पूर्ण नीति निर्माण एवं रोजगारीको निकायहरूमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्वको लागि नेपाली कांग्रेस प्रतिवद्ध देखिन्छ । दलितहरूको उत्थानको लागि राष्ट्रिय दलित आयोगको गठन पनि नेपाली कांग्रेसकै सरकार हुँदा भएको हो ।

आदिवासी–जनजाति

विगतको सवै लोकतान्त्रिक आन्दोलनमा नेपालका आदिवासी जनजातिको महत्वपूर्ण योगदान छ । विगतको योगदान तथा सामाजिक, आर्थिक व्यवस्थाले माग गरेअनुरुप कांग्रेसले २००७ सालको परिवर्तनलगत्तै जननायक बिपी  कोइरालाको नेतृत्वमा गठित सरकारले समेत जनजातिको पक्षमा आवश्यक पहल गर्दै आएको देखिन्छ ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसको नेतृत्वमा बनेको सरकारबाट जनजाति विकास समिति गठन अध्यादेश, २०५४लाई जारी गर्दै विभिन्न ६१ जनजातिहरूलाई सूचीकृत गरी उनीहरूको मातृभाषा, संस्कृति, परम्परा, चालचलानको संरक्षण गर्न सरकारीस्तरबाटै नीतिगत रुपमा ठोस थालनी भएको हो । कांग्रेसको नेतृत्वमा बनेको सरकारले आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्दै ५९ वटा विभिन्न आआफ्ना मौलिक मातृभाषा, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन लिखित वा अलिखित इतिहास भएका समुदायलाई सूचीकृत गरिएको छ ।

आदिवासी जनजातिका मुद्दालाई सम्वोधन गर्न नेपाल आदिवासी जनजाति महासंघसँग २०६४ श्रावण २२ गते नेपाली कांग्रेसले २० बुँदे सम्झौतामा हस्ताक्षर गरी आदिवासी जनजातिलाई राज्यको मूलप्रवाहमा ल्याउन पहल गरेको थियो । २०६४ भाद्र ५ गते अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९लाई नेपालको अन्तरिम संसदबाट अनुमोदन गरी आदिवासी जनजातिहरूलाई विश्वव्यापी मूल्य–मान्यता अनुरुप सुनिश्चितता गर्ने काम कांग्रेस सरकारले नै गराएको हो ।

यसरी नेपाली कांग्रेसले समानता र सामाजिक न्यायको निम्ति सबै जातजातिलाई अगाडि बढाउने कार्यमा अग्रसरता लिएको पाइन्छ ।

मधेसी

नेपाली कांग्रेसको तराई मधेसको सम्वन्ध विशिष्ट खालको छ । प्रजातान्त्रिक आन्दोलनको शुरुवातदेखि नै तराई मधेस कांग्रेसका लागि मुख्य आधारभूमि रहेको छ । तराई मधेसको यो सम्वन्धलाई निरन्तर दिन कांग्रेस सधै संवेदनशील र सजग रहनुपर्दछ । नेपालमा लोकतन्त्रको लहर तराई मधेसबाटै उठेर आएको हुनाले मधेसलाई लोकतान्त्रिक आन्दोलनको उर्वरभूमिको रुपमा लिनसकिन्छ ।

मधेसका धेरै आर्थिक, सामाजिक, राजनीतिक सवालहरू छन् । तिनको सम्वोधन गर्न कांग्रेस सधै तयार रहेको देखिन्छ । मधेसी समुदायलाई राज्यको मूलप्रवाहमा एवं पार्टी निकायको उच्च पदमा ल्याउने पार्टी नै नेपाली कांग्रेस हो । 

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मधेसी समुदायबाट बनाउने पार्टी पनि कांग्रेस नै हो । मधेसमा रहेका अल्पसंख्यक मुसलमान महिला, भूमिहीन, दलित, पीछडा वर्ग, थारु, मधेसी सबै वर्गको हक सुरक्षित गर्न समानुपातिक र सन्तुलित विकासलाई अगाडि बढाउन जरुरी छ । यसमा कांग्रेस सधै अग्रपंक्तिमा उभिनु नै पर्दछ । यसो भएमा मात्र जनताले चाहेको सवल कांग्रेस बन्नसक्छ ।

(नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाद्वारा प्रकाशित ‘काँग्रेसको अबको बाटो’ पुस्तकको अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. डिला संग्रौला (पन्त)
डा. डिला संग्रौला (पन्त)
लेखकबाट थप