शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ भेरियन्ट भेटिएसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पहिरो

शनिबार, ११ मङ्सिर २०७८, १२ : १८
शनिबार, ११ मङ्सिर २०७८

सन् २०२० अप्रिलदेखि निरन्तर उकालो लाग्दै आएको कच्चा तेलको मूल्य एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ । सन् २०२० को अप्रिलमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २१ अमेरिकी डलर थियो । सन् २०१९ को डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य कोरोना महामारीका कारण २०२० अप्रिलसम्ममा आइपुग्दा २१ डलरमा झरेको थियो ।

कोरोना भाइरस महामारीका कारण विश्वभरका देश कडा लकडाउनमा गएपछि सार्वजनिक र निजी सवारी साधनको आवागमनमा पूर्ण प्रतिबन्ध लागेको थियो । यस्तै, उक्त समयमा अन्तर्राष्ट्रिय हवाई उडान समेत रोकिएको थियो । हवाई र सडक सवारी नचलेपछि विश्वमा तेलको माग एकाएक गिरावट आयो र मूल्य पनि ह्वात्तै घट्यो । तर, कोभिड–१९ महामारी घट्दै जाँदा विश्व बजारमा तेलको माग पनि बढ्न थाल्यो र मूल्य अनियन्त्रित रुपमा उकालो लाग्यो ।

सन् २०२१ को नोभेम्बर २४ सम्म आइपुग्दा निरन्तर बढेर कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो । यस्तै, नोभेम्बर २५ मा केही घटेर प्रति ब्यारेल ८३ डलर कायम भएको कच्चा तेलको मूल्य आज नोभेम्बर २७ मा प्रति ब्यारेल ७२ अमेरिकी डलर कायम भएको छ ।

खासगरी, दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तेलको मूल्यमा व्यापार गिरावट आएको हो । ‘ओमिक्रोन’ रोक्न भन्दै यूरोप र एसियाका देशहरुले नयाँ प्रतिबन्ध घोषणा गरेपछि तेलको मूल्य घटेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

हालसम्म भेटिएका सबै प्रकारका कोरोनाका नयाँ भेरियन्ट मध्येको सबैभन्दा जोखिमपूर्ण यो भाइरसको संक्रमण र पुनः संक्रमण दर बढी रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकासँगै बेल्जियम, इजरायल, हङकङ र बोत्सनामा समेत भेटिइसकेको छ ।

ओमिक्रोन भेटिएपछि युरोपियन युनियन, बेलायत र अमेरिकाले समेत दक्षिण अफ्रिका र अन्य देशबाट हुने हवाई उडानमा प्रतिबन्धको घोषणा गरेका छन् । यात्रा प्रतिबन्ध लागेसँगै तेलको माग घट्दा मूल्य समेत घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप