शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको नयाँ भेरिएन्टको नाम राखियो ‘ओमिक्रोन’

शनिबार, ११ मङ्सिर २०७८, ११ : ४५
शनिबार, ११ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई लिएर चिन्ता प्रकट गरेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको छ ।

विश्व स्वास्थ्य संगठनले यो भेरिएन्ट निकै तीव्र गतिमा र ठुलो संख्यामा म्युटेट हुने जनाएको छ । यो भेरिएन्टका कयौं म्युटेशन चिन्ता पैदा गर्ने खालका रहेकाले सुरुवाती साक्ष्यका आधारमा विश्व स्वास्थ्य संगठनले ती म्युटेशनका कारण संक्रमणको खतरा बढेको जनाएको छ ।

दक्षिण अफ्रिकी देशमा आउजाउ गर्न रोक

विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टबारे २४ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकाबाट जानकारी पाएको थियो । यसका अतिरिक्त बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरिएन्ट पहिचान गरिएको छ ।

यो भेरिएन्ट पहिचानमा आएसँगै विश्वका कयौं मुलुकले दक्षिण अफ्रिकासँग आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने आयरल्याण्ड र ब्रिटेनबाहेकका नागरिकलाई ब्रिटेन प्रवेशमा रोक लगाइएको छ ।

अमेरिकी अधिकारीहरुले पनि दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बावे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा रोक लगाउने फैसला गरेका छन् । यो प्रतिबन्ध सोमबारबाट लागू हुने जनाइएको छ । यस्तै, युरोपेली संघ अन्तर्गत स्वीट्जरल्याण्डले पनि दक्षिण अफ्रिकी मुलुकबाट आउने उडानमा अस्थायी रोक लगाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट देखा परेको खबर फैलिएसँगै विश्वको शेयर बजारमा शुक्रबार तीव्र गिरावट देखिएको छ । ब्रिटेनका प्रमुख शेयर सूचकांकमा करिब चार प्रतिशतको गिरावट आएको छ भने जर्मनी, फ्रान्स र अमेरिकाको बजार पनि झरेको छ ।

‘खबर नराम्रो भए पनि सबै समाप्त भएको छैन’

समयसँगै भाइरसमा बदलाव आउँदै जानु या म्युटेट हुनु कुनै असामान्य विषय होइन । भाइरसका कुनै भेरिएन्ट त्यतिबेला चिन्ताजनक अर्थात् ‘भेरिएन्ट अफ कन्सर्न’ बन्छ, जब त्यसले तीव्र रुपमा फैलिने वा नोक्सान गर्ने क्षमताका साथ खोपको प्रभावकारिताजस्ता कुरालाई प्रभावित गर्न थाल्छ ।

शुक्रबार विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टका मामिला दक्षिणी अफ्रिकाका सबै प्रान्तमा बढेको जनाएको छ । सुरुवातमा उक्त भेरिएन्टलाई ‘बी १.१.५२९’ नाम दिइएको थियो । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यो भेरिएन्ट निकै तीव्र रुपमा म्युटेट भइरहेको छ र तीमध्ये केही म्युटेशन चिन्ताको विषय बनेका छन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार यस म्युटेशनको पहिलो ज्ञात संक्रमण ९ नोभेम्बरमा संकलन गरिएको नमुनामा पाइएको हो । यद्यपि उसले यो भेरिएन्टको प्रभाव जान्नका लागि अझै केही साता लाग्ने जनाएको छ । ब्रिटेनका एक शीर्ष स्वास्थ्य अधिकारीले यो भेरिएन्टका विरुद्ध खोप प्रभावकारी हुने सम्भावना न्यून रहेको चेतावनी दिएका छन् । यद्यपि अक्सफोर्ड विश्वविद्यालयका स्ट्रक्चरल बायोलोजिस्ट प्रोफेसर जेम्स नाइस्मिथले यो नराम्रो खबर भए पनि धेरै आत्तिनुपर्ने विषय नरहेको बताएका छन् ।

तर, उनले पनि चेतावनी दिँदै उक्त भाइरस तीव्र रफ्तारले फैलिएमा ब्रिटेनसम्म आइपुग्ने जनाएका छन् । यो भेरिएन्टको फैलावट क्षमता बुझ्न त्यति सहज नहुने पनि उनको भनाइ छ । ‘यो कति फैलिन्छ भन्ने कुरा म्युटेशन कसरी एकसाथ काम गर्छ भन्ने कुरामा निर्भर रहन्छ,’ उनले भनेका छन् ।

साइन्टिफिक पेन्डामिक इन्फ्लुएन्जा मोडलिङ ग्रुपका एक सदस्य डा. माइक टिल्डस्लेले शुक्रबार बीबीसीलाई जनाएअनुसार दक्षिण अफ्रिकाका केवल २४ प्रतिशत नागरिकले मात्र खोप लगाएका छन् । त्यसैले त्यहाँ कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने उनको आँकलन छ ।

यसैबीच अमेरिकाको संक्रामक रोग प्रमुख डा. एन्थोनी फाउचीले नयाँ भेरिएन्ट भेटिएको खबरले खतराको संकेत दिएको बताएका छन् । तर कोभिड खोप अझै पनि यसको गम्भीरतालाई रोक्न सक्षम हुन सक्ने संकेत उनले गरेका छन् । उनले सीएनएनसँग भनेका छन्, ‘जबसम्म राम्रोसँग जाँच हुँदैन, तबसम्म यो भाइरसबाट बचाउने एन्टिबडीलाई परास्त गर्छ कि गर्दैन भन्ने हामीलाई थाहा हुँदैन ।’

यात्रा प्रतिबन्ध लगाउनेलाई विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले हतारमा यात्रा प्रतिबन्ध लगाएका देशहरुलाई चेतावनी दिँदै वैज्ञानिक आधारमा मात्र खतराका बारेमा दृष्टिकोण बनाउन भनेका छन् । यद्यपि ब्रिटेन, अमेरिका र युरोपेली मुलुकका अतिरिक्त अन्य देशले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् ।

भारतले पनि दक्षिण अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रीलाई कडाइका साथ जाँच गर्न आदेश दिएको छ । जापानले शनिबारदेखि दक्षिण अफ्रिकी देशसँग आवतजावतमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ब्राजिलले पनि अफ्रिकाका ६ मुलुकसँग आवतजावतमा प्रतिबन्ध लगाइने जनाएको छ ।

उता, दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले आफ्नो मुलुकमा आउने र यहाँबाट जाने विमानमा लगाएको प्रतिबन्धलाई अनुचित संज्ञा दिएका छन् । यस्तो प्रतिबन्ध विश्व स्वास्थ्य संगठनले तय गरेको मानदण्ड र मानक विपरीत रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप