शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सर्लाही काँग्रेस : आइतबारका लागि वडा अधिवेशन तोकियो

शनिबार, ११ मङ्सिर २०७८, १० : २७
शनिबार, ११ मङ्सिर २०७८


नेपाली काँग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारका लागि तोकिएको छ । शुक्रबार राति अबेरसम्म चलेको पार्टीका दुवै पक्षको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो ।

निर्वाचन अधिकृतको रूपमा सर्लाही आइपुगेका अधिवक्ता भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच छलफल चलेको थियो । लालबन्दीस्थित युनाइटेड होटल इनन्मा दिउँसोदेखि राति पौने १० बजेसम्म चलेको भएको छलफलले यस्तो सहमति गरेको हो । काँग्रेस सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतरबीच यो तेस्रोपटक सहमति भएको हो । 

दुवै पक्षबीच भएको छलफलबाट १२ मंसिरमा वडा अधिवेशन, प्रदेशस्तरीय अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिकास्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभास्तरीय अधिवेशन गर्ने सहमति भएको छ ।

छलफलले १५ गते क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई शनिबार तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराइने छ । 

जिल्लाका अधिकांश वडामा काठमाडौंमा भएको छलफलबाटै मतदान अधिकृत खटाइएको र केही वडामा आज गोलाप्रथा विधिबाट खटाइने उनले बताए । ‘लगभग सबै वडामा मतदान अधिकृत खटाइसकिएको छ’, उनले भने, ‘एक(दुई वडामा बाँकी छन्, त्यसको टुंगो आज साँझसम्म लगाउँछौँ ।’ सर्लाहीमा अधिवेशनको यो अन्तिम सहमति भएको पनि उनले बताए । यदि योे निर्धारित समयमा समेत अधिवेशन गर्न नसके अधिवेशननै नहुने अवस्था रहेको उनको भनाइ थियो ।

शुक्रबार भएको वार्तामा जिल्ला सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगीलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह,    
क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, रुपेशकुमार यादवलगायत सहभागी थिए ।

पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवलि राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्वजिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरीलगायत सहभागी थिए ।

जिल्ला सभापति नागेन्द्रकुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष अर्थात् संस्थापन र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापनइतर पक्षका हुन् । यी दुई समूहको विवादले जिल्लामा काँग्रेसको पटक–पटक जिल्ला अधिवेशन अन्योलमा पर्दै आएको थियो ।

यसअघि दुई समूहबीच मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृतले जिल्ला अधिवेशन प्रक्रिया नै गराउन नसकी राजीनामा बुझाएर फर्किएका थिए । 

यसपछि गत शनिबार केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरूलाई बोलाएर चार दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गराई मंगलबार मात्र सहमति गराए र जिल्ला पठाएको हो । जिल्ला फर्किएलगत्तै निर्वाचन अधिकृत राउतले काठमाडौंमा भएको सहमतिअनुसार १० मंसिरमा २० वटा पालिकाका दुई सयवटै वडामा वडा अधिवेशन गराउने तयारी गरेका थिए । तर, दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको र मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि अचानक शुक्रबारका लागि तय भएको वडा अधिवेशन स्थगित भएको थियो । दुुई पक्षको विवादका कारण देशैभरिमा सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप