बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला : जनगणना गर्न सक्ने त्रास, भारतीय बजार जान परिचयपत्र अनिवार्य

शनिबार, ११ मङ्सिर २०७८, ०८ : ५६
शनिबार, ११ मङ्सिर २०७८

बिरा दत्त भट्ट

भारतीय बजार धार्चुला जान नेपालीले परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले  नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको छ ।

हरेक दिन मजदुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।

राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।

भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियो । भारतको बाटो भएर हिँड्ने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ । 

अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्न सक्ने भन्दै भारतीय सुरक्षा निकाय सशङ्कित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ । 

सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनको भनाइ छ । भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप