बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा एकै दिन ५० हजार बढी सङ्क्रमित

नयाँ कोभिड भेरिएन्टको सङ्क्रमण बढ्दै गएको आशंका
शनिबार, ११ मङ्सिर २०७८, ०६ : ५८
शनिबार, ११ मङ्सिर २०७८

लन्डन । बेलायतमा पछिल्ला दिनहरूमा  कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केही दिनयता दैनिक ४० हजारमाथि  सङ्क्रमित रहँदै आएकोमा शुक्रवार यो सङ्ख्या ५० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ७० हजार ८४१ पुगेको छ ।

 
पछिल्लो पटक अहिलेसम्मकै घातक भनिएको नयाँ कोभिड भेरिएन्टको सङ्क्रमण बढ्दै गएपछि सतर्कता अपनाउन वैज्ञानिकहरूले चेतावनी दिएका छन् । सर्वप्रथम बोत्स्वाना, साउथ अफ्रिका र हङकङमा फेला परेको यो नयाँ भाइरस अहिले इजिप्टबाट बेल्जियम आएका व्यक्तिमा  समेत देखिएको छ, जसले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।
 
सङ्क्रमण नियन्त्रण गर्ने क्रममा बेलायतले नामिबिया, जाम्बिया,लेसोथो,एस्वाटिनी लगायतका छ वटा मुलुकलाई आइतबार बिहान ४ बजेबाट यात्रा प्रतिबन्धको रेड लिष्टको सूचीमा राखेको छ । सरकारले बेलायतमा सतर्कता अपनाउनुपर्ने भन्दै खोपलाई अझ तीव्रता दिने बताएको छ । बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले यो अन्तर्राष्ट्रिय चासोको विषय रहेको बताएका छन् ।
 
यसैगरी कोरोनाका कारण बितेको २४ घण्टामा १६ जनाको मात्र गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८७७ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४४ हजार ५९३ पुगेको छ ।
 
बेलायतमा अहिले २९.२ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
 
शुक्रबारसम्मको तथ्याङ्क अनुसार यहाँ एक करोड ६७ लाख  ७९ हजार ६५६ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घण्टामा  तीन लाख ९६ हजार भन्दा बढीले  बुष्टर डोज लगाएका छन् । यसैगरी  पाँच करोड ८ लाख ७५ हजार  जना अर्थात् ८८.५ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ५५ हजार ८१ जना अर्थात् ८०.४  प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप