बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ‘बा’ का ५ फ्यानका ५ घण्टा

तर अधुरै रह्यो सपना
शुक्रबार, १० मङ्सिर २०७८, २१ : ०३
शुक्रबार, १० मङ्सिर २०७८

राजकुमार सिग्देल/फणिन्द्र नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओली कडा सुरक्षा घेरामा नारायणी किनारस्थित पार्टीको १० औँ महाधिवेशनस्थलमा करिब १२ बजेतिर प्रवेश गरेका थिए । उद्घाटन सत्रका प्रमुख आकर्षण रहेका ओली मञ्चतर्फ अघि बढ्दै गर्दा गेटमै नेता कार्यकर्ताहरूले ‘केपी बा आई लभ यु’ ‘केपी बा हाईहाई’ जस्ता नारा लगाइरहेका थिए । त्यही भिडमा ओलीलाई हेर्न र भेट गर्न पो पाइन्छ कि भन्ने आशामा थिए, ५ विद्यार्थी ।

गेटबाट ओलीको गाडीतर्फ एक टकले हेरिरहेका ती ५ विद्यार्थी थिए, रञ्जित तिमल्सिना, तुलसी अमात्य, रविना गौतम, सीमा पौडेल र अमृता शर्मा थिए । ओलीले १० औँ महाधिवेशनको उद्घाटनका लागि तयार पारिएको मञ्चनजिकैको भीआईपी गेटबाट प्रवेश गर्दा समर्थक र शुभेच्छुकलाई गाडीको सिसा खोलेर मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरेका थिए । उनीहरूले पनि भिडबाट ओलीलाई अभिवादन त गरे । तर ओलीले त्यसको भेउ पाउने कुरा भएन ।  ओली मञ्चतिर लागेपछि रञ्जितले भने, ‘केपी बामाथि हाम्रो धेरै अपेक्षा थियो । उहाँलाई गाडीमा थोरै देख्न पाएँ । हाम्रो चाहना उहाँलाई भेटेर सेल्फी खिच्ने र केही मनको कुरा राख्ने थियो ।’ तर आफूजस्तो सानो मान्छेले ओलीलाई भेट्ने सम्भावना कम भए पनि कतै भेट गर्न र सेल्फी खिच्न पाइहालिन्छ कि भन्ने आश राखेर बिहान ११ बजे नै ५ जना साथी मिलेर महाधिवेशन स्थलमा आएको तिमल्सिनाले बताए ।

रञ्जितसहित पाँचै जना नारायणगढकै लाइन्सचोकमा रहेको बालकुमारी कलेजमा कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत छात्रछात्रा हुन् । दिउँसोको समय कलेज पढ्ने उनीहरू खासमा आज सधैँझैँ कलेज गएका थिए । तर एमालेको महाधिवेशनकै कारण कलेज लागेन । कलेज नभएपछि उनीहरू ११ बजे नै नारायणी नदी किनारमा पुगेका थिए ।

उनीहरूको भनाइमा ओली आफूहरूको मनपर्ने नेता भएको र राष्ट्रियता र देश विकासमा उनले खेलेको भूमिका टेलिभिजन र पत्रपत्रिकामा पढेर फ्यान भएका हुन् । उसो त उनीहरूले हालसम्म कुनै पार्टीको सदस्यता पनि लिएका होइनन् । नेता कार्यकर्ताका साथै सामाजिक सञ्जालमा समेत केपी ओलीलाई केपी बा भनेर सम्बोधन गरेको सुनेकैले आफूहरू पनि केपी बा आउने थाहा पाएपछि सम्मानित व्यक्तित्वसँग भेट गर्न र सेल्फ खिचेर खुसी साट्न पाइन्छ कि भनेर आएको तुलसी अमात्यले रातोपाटीलाई बताइन् ।

पाँचै जनाका अनुसार उनीहरूले टेलिभिजन, सामाजिक सञ्जाल र पत्रपत्रिकाबाहेक अन्य औपचारिक कार्यक्रममा कतैपनि प्रत्यक्ष देखेका छैनन् । देशभर ओलीकै चर्चा हुने र ओलीको राम्रो काम र अरूलाई विश्वासमा लिएर अघि बढ्न सक्ने खुबीका कारण आफूलाई ओलीलाई भेट्न मन लागेको अमात्यको भनाइ छ ।

तपाईँ केपी ओली भेट्नु भयो भने के भन्नुहुन्छ भन्ने जिज्ञासामा अमात्यले ‘फेरि प्रधानमन्त्री भएर देशको हितमा काम गर्नुस्’ भन्ने बताइन् । यता तिमल्सिना भने ओलीले आफूजस्तो युवाहरूलाई समेट्ने कार्यक्रम ल्याइदिए राम्रो हुने बताए । उनले आफूले ओलीलाई भेट्न पाएको खण्डमा खेलकुदमा पनि फोकस गर्न आग्रह गर्ने बताए ।

यता रविना भने विद्यार्थीहरूलाई सहजरुपमा अध्ययनका लागि राम्रो कार्यक्रम ल्याउन आफ्नो ओलीलाई आग्रह रहने बताइन् । यस्तै सीमाले पनि फेरि केपी ओली सत्तामा पुगेर देश र जनताको पक्षमा काम गरुन् भन्ने चाहना व्यक्त गरिन् ।

कलेजको पोशाकमै महाधिवेशनस्थल पुगेका उनीहरूमध्ये अमृता बागलुङकी हुन् भने अरू ४ जना रौतहटका हुन् । उनीहरू नारायणगढमै छुट्टाछुट्टै डेरामा बस्दै आएका छन् भने उनीहरू कलेजका साथीसाथी हुन् ।

कलेजमा अघिल्लो दिन नै उनीहरूले कलेज बङ्क गरेरै ओलीलाई हेर्न जाने र सकेसम्म सेल्फी नै खिच्ने तथा केही कुरा राख्ने योजना बनाएका थिए । तर आज कलेज जाँदा पढाइ नभएपछि उनीहरू उत्साहित हुँदै ११ बजे नै महाधिवेशन स्थल पुगेर ओली आउने बाटो हेरिरहेका थिए ।

उनीहरूले ओलीलाई गाडीमा देख्न त पाए तर ओलीको नजिक जानसम्म पनि पाएनन् । ‘हामी ओलीलाई भेट्न चाहन्थ्यौँ तर गेटबाट रातो क्याप लगाएका स्वयंसेवकले छिर्न समेत दिएनन्’ उनीहरूले निराश हुँदै भने, ‘आज भेट नभए पनि पछि कुनै दिन भेट होला र ओलीसँग खुसी हुँदै सेल्फी खिच्ने आशा मारेका छैनौँ ।’

उनीहरू ओलीलाई भेट्न नपाएपछि उनको भाषण सुनेर ४ बजेतिर कोठातिर फर्किएका थिए । कोठा फर्किने बेला उनीहरू भन्दै थिए– हामीलाई मन पर्ने केपी बालाई भेट्न आउँदा सरले थाहा पाएर अफिसमा लगेर कारबाही गर्ने पो हुन् कि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप