शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएलाई डलर खाता खोल्न दिने निर्णयको परिसंघले गर्‍यो स्वागत

शुक्रबार, १० मङ्सिर २०७८, २० : ५१
शुक्रबार, १० मङ्सिर २०७८

चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाबारे उद्योग परिसंघ (सिएनआई)ले मिश्रित धारणा व्यक्त गरेको छ । शुक्रबार मौद्रिक नीतिको समीक्षा भएलगत्तै आफ्नो धारणा व्यक्त गर्दै परिसंघले ९० प्रतिशतको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नीति राष्ट्र बैंकले यथावत् राखेपनि केही वित्तीय तथा व्यवसायिक नीतिमा भने लचकता अपनाएको बताएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीतिको समीक्षामार्फत चालु आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत नै कायम गर्दै त्यसको कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएकाले यसले केही सुधारको सङ्केत गरेको बताएको छ । 

जसअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्तभित्रमा कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्ययोजना तयार गरी सञ्चालक समितिबाट पास गराई राष्ट्र बैंकसमक्ष बुझाउनुपर्नेछ । समीक्षामार्फत २०७९ असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने गरी लचकता अपनाएको छ । यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केहि राहत हुने परिसंघको धारणा छ ।

यसैगरी समीक्षामा व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने उल्लेख छ । यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ छ । 

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको छ । साथै गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघले बताएको छ । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेत देखाएको छ । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गर्दै आएको छ । राष्ट्र बैंकले यस मौद्रिक नीतिमार्फत चाँदीको आयातमा समेत कडाई गरेको छ ।

राष्ट्र बैंकले समीक्षामार्फत भारतबाट परिवर्त्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ । औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप