बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा रहेका लक्ष्मणलाई भाग्यको साथ, चिट्ठाको अनौठो संयोग !

शुक्रबार, १० मङ्सिर २०७८, १८ : २८
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेस अछाममा नेता लक्ष्मण शाह गत असोज १७ गतेबाट काठमाडौँमा उपचाररत छन् । केही दिनअघि अस्पतालबाट डिस्चार्ज भए पनि अहिले हप्तामा दुई दिन अस्पताल गइराख्नुपर्छ । यता काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लामा अधिवेशन चलिरहेको छ । अछाम जान शाहलाई स्वास्थ्यले साथ दिएन । तर उनी महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बने । पञ्चदेवल विनायक नगरपालिका– ८ का वडाध्यक्ष ताराप्रसाद खनालमार्फत वारिसमा शाहले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता पनि गराए ।

रोचक कुरा अछामको क्षेत्र नम्बर २ बाट खुलातर्फको १० जनामध्ये अछाम काँग्रेसका पुराना नेता तथा सांसद रामबहादुर विष्ट र शाहको बराबरी मत आयो । दुवै जनाले ३ सय ८७  प्राप्त गरेपछि गोलाप्रथामा सांसद विष्ट र शाहको भाग्य परीक्षा भयो । 

स्वास्थ्यले साथ नदिएका शाहलाई भाग्यले साथ दियो । शाहलाई चिट्ठा पर्‍यो । चिट्ठा तान्ने व्यक्ति थिए शाहका वारिस पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाल । अझ रोचक कुरा भनेको उनी आफै पनि चिट्ठामा नै जितेर वडाध्यक्ष भएका थिए ।

अछामको निर्वाचन क्षेत्र नम्बर २ को (क)का काँग्रेस सभापतिसमेत रहेका खनाल गत स्थानीय तहको चुनावमा गोलाप्रथाबाटै वडाध्यक्षमा चुनिएका थिए । माओवादीका महारुप जैशीसँग गोलाप्रथा हुँदा खनालले बाजी मारेका थिए । नेता शाह भाग्य परीक्षामा यसअघि पनि सफल भएका थिए ।

१३ औँ महाधिवेशनताका पनि उनी गोलाप्रथाबाटै काँग्रेस अछाम – २ को क्षेत्रीय सभापति हुन सफल भए । शाह र काँग्रेस अछाम – २ का नवनिर्वाचित क्षेत्रीय सभापति पुष्पराज शर्मा दुवैले ३४१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । शर्मासँगको गोलाप्रथामा शाहलाई चिट्ठा परेको थियो । तर महाधिवेशन प्रतिनिधिमा भने सांसद विष्टसँग गोलाप्रथाबाट बाजी मार्दा आफू सन्तुष्ट नभएको शाहले बताए । 

‘माननीयजी तपाईं सँगै मेरो चिट्ठा पर्‍यो । चिट्ठा परेपनि म सन्तुष्ट छैन भने मैले माननीयजीलाई पनि भनेँ,’ उनले रातोपाटीलाई भने । विष्ट यसपटक केन्द्रीय सदस्य लड्ने तयारीमा थिए । गोलाप्रथाबाट शाहले बाजी मारेपछि केन्द्रीय सदस्य बन्ने सांसद विष्टको योजनामा धक्का लागेको छ ।

‘मैले माननीयजीसहितको टीम बनाउनुपर्छ भनेर आफैले भनेको थिएँ । तर बराबर मत आएपछि छोड्न पनि नमिल्ने । स्वाभाविक रूपमा चिट्ठा तान्नु पर्‍यो,’ उनी भन्छन्,  ‘तर मैले उहाँलाई तपाईंसँग मेरो चिट्ठा पर्ने कुरा राम्रो भएन । अरुसँग परेपनि हुन्थ्यो भनेँ ।’

विष्टले आफ्नैबाट घेराबन्दी भएपछि गोलाप्रथा गर्ने अवस्था आएको बताएका थिए । ‘मलाई चिट्ठा परेपछि उहाँले मलाई फोनमै बधाई दिनुभयो,’ विष्टको भनाइ उद्धृत गर्दै शाहले भने, ‘तपाईंसँग केही गुनासो छैन । हाम्रै साथीहरूले मलाई घेराबन्दी गरे ।’ 

शाहले आफूलाई चिट्ठा पर्छ भन्ने पूर्वसंकेत देखा परेको पनि सुनाए । ‘जिल्लाबाट साथीहरूले माननीय (रामबहादुर विष्ट) र तपाईंको मत बराबर आयो । गोलाप्रथा हुने भयो भन्नुभयो । मैले चिट्ठा तान्नुस् । मलाई पर्छ भनेको थिएँ । क्षेत्रीय सभापतिमा पनि गोलाप्रथा हुँदा मेरो शरीर फुलेको थियो,’ उनले अनुभूति सुनाए, ‘यो पटक पनि मेरो शरीर फुलिसकेको थियो । मेरो शरीर फुलिसक्यो चिट्ठा तान्नुस् भनेको थिएँ । शरीर फुलेर मलाई चिट्ठा पर्ने पहिले नै सङ्केत भएको थियो । त्यस्तै पनि भयो ।’ 

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सांसद विष्ट नै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि अछाममा पौडेल समूहका तीन जना मात्र आएका छन् । अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षको बलबहादुर कुँवर, ओमप्रकाश विष्ट र रामबहादुर शाही निर्वाचित भएका छन् ।

बाँकी २२ जना देउवा पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जसमा पुष्प शाह, नमबहादुर शाही, लक्ष्मण शाह, मानबहादुर शाही, वेदप्रकाश तिमिल्सिना, पदमराज अधिकारी, गणेशबहादुर विष्ट, सुरत बहादुर विष्ट, यज्ञप्रसाद ढकाल, अम्बिका चलाउने, अन्जु मल्ल शाह, भूमिशरण बजगाईं र अम्बिका कुमारी थापा महाधिवेशन प्रतिनिधि छानिएका छन् । 

यस्तै पूर्णा शाह, वसन्ती विष्ट, वेलुदेवी साउद,दुर्गा कुमारी विक टेकबहादुर विक, कमल विक, नवराज चलाउने, ओमजम रावल र कृष्णप्रसाद ढकाल पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप