शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई अप्ठ्यारा पार्नेहरूले आज प्रधानमन्त्रीका खुट्टा समातिरहेका छन् : ओली

शुक्रबार, १० मङ्सिर २०७८, १५ : ४७
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । अध्यक्ष ओलीले भने–‘अहिलेको सकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन । प्रधानमन्त्री ज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्री ज्यूलाई काम गर्न गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यस कारण उहाँलाई पनि गाह्रो छ कि ?’

उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए । उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।

उनले अब लगातार पार्टी प्रवेश कार्यक्रम चल्ने पनि बताए । फागुनसम्म एमालेले निरन्तर प्रवेश कार्यक्रम देशभरि चलाउने उनको भनाइ थियो । उनले एमालेले चुनाव चिह्न बनाएको सूर्यको व्याख्या गायन्त्री मन्त्रमा भएको भन्दै गायत्री मन्त्रमा सूर्यको चर्चा गरिएझैं देश विकासका लागि एमालेको चर्चा हुने गरेको बताए । उनले भने, ‘नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झण्डा बोकेका छौं । देश, जनता, लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप