शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारलाई प्रधानमन्त्रीको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु

शुक्रबार, १० मङ्सिर २०७८, १२ : १४
शुक्रबार, १० मङ्सिर २०७८

सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचिव लीलामणि पौडेलले भने, ‘सर्वोच्च अदालतमा देखिको वर्तमान समस्याको निकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्‍यो, नेपाली काँग्रेस पार्टीको तर्फबाट पहल हुनुपर्‍यो भन्ने कुरा हामीले राख्यौँ ।’ छलफलका क्रममा मङ्सिर ६ गते बारले सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि बुझाएको थियो । उनले भने, ‘अस्ति जसरी सभामुख र राजनीतिक दलका संसदीय दलमा हामीले ज्ञापनपत्र बुझाएका थियौँ । त्यही ज्ञापनपत्र प्रधानमन्त्रीज्यूलाई बुझायौँ । हामीले लिखित डकुमेन्टका साथै आफ्नो मौखिक रूपमा पनि कुरा राख्यौँ ।’

बारका पदाधिकारीसँगै पूर्व सभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्काहरूले पनि प्रधानमन्त्री समक्ष आफ्नो कुरा राखेका थिए । ढुंगानाले प्रधानमन्त्रीलाई राखेको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प छैन । राजीनामा नै मुख्य कुरा हो । राजीनामा दिनुभएन भने महाभियोगतिर जानुपर्छ ।’

जवाफमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र सल्लाह गरेर दुई तीन दिनमै निकास दिने बताएको पौडेलले बताए । ‘उहाँले यो गठबन्धनको सरकार छ । गठबन्धनका साथीहरूसँग  सल्लाह गरेर दुई–तीन दिनभित्र केही निकासको पहल म गर्छु । निकास आउँछ भन्नुभयो,’ बार महासचिव लीलामणि पौडेलले रातोपाटीलाई भने । चितवनमा एमाले महाधिवेशनको उद्घाटन सभामा सहभागी हुन जान हतार भएकाले प्रधानमन्त्री देउवाले छोटोमा जवाफ दिएका थिए । ‘हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र छोटो बोल्नुभयो ।’

छलफलपछि नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजीनामा भएको बताए । उनले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिन भित्रै समस्याको समाधान गर्ने जानकारी गराउनु भएको बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेको निकास भनेको उनको राजीनामा हो, र संविधान बमोजिम जुन प्रतिनिधिसभामा रहेका दलहरूले भूमिका निर्वाह गर्नुपर्ने कुराहरू राख्यौँ । साथसाथै नैतिकता न्यायपालिकाका लागि महत्त्वपूर्ण कुरा छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुराहरू पनि हामीले राख्यौँ । सम्माननीय प्रधानमन्त्री ज्यूले अहिले सत्तामा गठबन्धनको रूपमा रहनुभएका दलहरूसँग आज, भोलि नै हामी छलफल गर्छौँ, र एक दुई दिनमै निकास आउँछ भन्ने हाम्रो दृष्टिकोण छ, उहाँको निकासको लागि बहिर्गमनको लागि हामीले जे भनेका छौँ त्यसलाई गम्भीरताका साथ लिनु भएको छ र उहाँले यो भन्दा अघि पनि जानकारीमा छ र अहिले पनि यहाँहरूले जनताको बारेमा बोलिरहेका कानुन व्यवसायीहरूले ल्याउनु भएको विषयलाई हामी छलफल गर्छौँ र निकासको लागि अघि बढ्छौँ भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप