शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सौराहामा फेरि गुञ्जियो रेशम फिरिरि, फर्किन थाल्यो थारू नाच (भिडियो)

एमाले महाधिवेशनमा नाच्न निम्ता
शुक्रबार, १० मङ्सिर २०७८, ११ : ५४
शुक्रबार, १० मङ्सिर २०७८

६० वर्षीय भल्लीराम महतो ढोलक बजाउँदै पुनः पसिना आउने गरी नाच्न थालेका छन् । बेलुका ७ बजिनसक्दै उनी सौराहाको ‘थारू कल्चरल हाउस’मा पुगिसक्छन् र नाच देखाउँदा लगाउने पोशाक पहिरिन्छन् । २० वर्ष अघिदेखि प्रदर्शन गर्दै आएका थारू संस्कृतिका विभिन्न नृत्य गएको २ बर्ष उनको समूहले राम्रोसँग देखाउन पाएनन् ।

कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीका कारण सौराहा सुनसान थियो भने उनीहरुले बर्षौदेखि प्रदर्शन गर्दै आएको नाच पनि बन्द हुन पुगेको थियो । तर दसैंयता भने उनी साँझको समय ढोलक बजाउँदै उही पुरानै तालमा दर्शक अगाडि नाचगानमा व्यस्त हुन थालेका छन् ।

दुई दशकदेखि पर्यटकलाई लोभ्याउँदै आएको नाच यसरी बन्द होला र घरभित्रै बस्नुपर्ला भन्ने उनीहरुले सोचेका थिएनन् । बन्दाबन्दीका बेला कतिपय बेरोजगार भए, कतिपय खेतबारीका काममा लागे ।

स्थानीय व्यवसायीको शब्दमा बितेको दुई वर्ष ‘मसानघाट’झैं सुनसान बनेको सौराहामा अहिले पुनः पर्यटनको आँकुरा पलाउन थालेको छ । दसैं, छठदेखि सौराहामा पर्यटकहरुको पाइला बढ्दै गएपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरुको मुहारमा खुसी छाउन थालेको छ ।

भल्लीरामजस्तै जेनी महतोले पनि कल्चरल हाउसमा नाच्न थालेको १० वर्ष भयो । उनीसँगै नाच्न थालेका नयाँ पुस्ताका जानकी महतो, सुमित्रा महतोसहित बन्दाबन्दीको बेला बेरोजगार भए । नाच्ने काम रोकिएपछि काम पाएको बेला उनीहरुले ज्याला मजदुरी गरे ।

पहिले थारू कल्चर होममा एकै दिन दुई शो सम्म हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । फेरी लकडाउन भएन भने पर्यटक बढेर आउलान् र धेरै शो नाच देखाउन पाए आर्थिक अवस्था राम्रो हुनेमा उनीहरु आशारत छन् ।

उनीहरुको नाच देखाउने समूहमा अहिले १४ जना छन् । महिला समूह र पुरुष समूहले मासिक एकमुष्ठ रुपमा तीस–तीस हजार गरी ६० हजार रुपैयाँ पाउने गरेका छन् । लकडाउनमा त्यो आय सुक्यो । अब पर्यटक बढ्दै गएमा होटलहरुमा पनि नाचको माग हुने र अतिरिक्त कमाई हुने उनीहरुको अपेक्षा छ । यसरी नाचेको पैसा जति उठ्छ, एकै ठाउँमा राख्ने र महिना दिन पुगेपछि समूहका सदस्यहरुले भाग लगाउने गरेका छन् ।

अचेल थारू नाच देखाउने थारू कल्चरल हाउसको हलमा शुक्रबार र शनिवारको दिन हल भरिन थालेको छ भने अन्य दिन पनि हलको आधा भाग दर्शक हुन्छन् । उनीहरुको एउटा प्रस्तुती सरदर ४५ मिनेटको हुन्छ । नाच हेर्न एकजनाले २ सय ५० रुपैयाँको टिकट काट्नुपर्छ ।

पुनः फर्किएको एउटा आशा

हाल थारू नाच समूहको नेतृत्व गरिरहेका खैरहनी, चितवनका रामसिंह महतोका अनुसार कोरोनाका कारण दुई बर्ष नाच बन्द हुँदा समूह तितरवितर भयो । उनले भने–‘पहिले ४० जनाको टोली थियौं । अहिले त्यसको आधा जति छौँ । कोही विदेशतिर, कोही खेतीपातीतिर लागे, कसैलाई इच्छा भएन ।’

दुई महिनादेखि नाचको झंकार पुनः सुरु भएपनि हेर्न आउने दर्शक पहिले जस्तो छैनन् । उनले भने–‘पहिले हामी एकैदिन १६ वटासम्म होटलमा नाच्ने गथ्र्यौं । राती २ बजेसम्म पनि नाच्नुपर्ने हुन्थ्यो । अहिले त आन्तरिक पर्यटक मात्रै छन् । भारतीय र अन्य देशका पनि छैनन् ।’

होटलबाट बोलावट आए अहिले प्रतिनाच ३५ सयसम्म लिने गरेका छन् । महतोले भने–‘पैसा थोरै भएपनि  हाम्रो चिनारी हुन्छ । यहाँ सबै ठाउँको मान्छेहरु आउँछन् । उनीहरुले आफ्नो ठाउँमा पनि नाच्नका लागि बोलाउने गर्छन् भनेर हामीले थोरै पैसामा नाच देखाइरहेका छौ ।’

एमाले महाधिवेशनमा नाच्न निम्ता

यही मंसिर १० गते उनीहरुले एमाले महाधिवेशनको उद्घाटन सत्रका दिन नारायणी किनारको मञ्चमा पनि नाच देखाउने छन् । आयोजकले उनीहरुलाई नाच देखाउन निम्ता गरिसकेको छ ।

नारायणघाट, पोखरा, काठमाडौंलगायतका ठाउँमा पनि नाच देखाउन उनीहरुलाई बोलावट हुने गरेको छ । कहिलेकाहीँ भारतबाट समेत बोलावट आउने गरेको तर जान नसकेको महतोले बताए । पहिले नाच देखाउने दुई समूह हुँदा एक सातासम्म पोखरा वा अन्य ठाउँमा पनि पुग्ने गरेका थिए । तर, अहिले एउटै समूह भएकाले अन्यत्र जान नसक्ने उनले जनाए ।

कोरोना घट्दै गयो भने पहिलाकै अवस्था आउला भन्ने आशा जागेको महतोले रातोपाटीलाई बताए । ‘अहिलेजस्तै हुँदै गयो भने पहिलेको स्थिति आइहाल्छ । संघ संस्थाहरु खुल्न थाल्छन् । सवारी साधानहरु चल्न थाल्छन्, जसले हामीलाई काम गर्न सहज हुन्छ,’ उनले भने, ‘पहिले थारूहरुको धेरै खेत हुन्थ्यो, अहिले त खेत पनि थोरै छ । अहिले कोरोना घटेपछि हामीलाई केही सहयोग भएको छ ।’

बढ्दैछन् बिस्तारै दर्शक

सौराहा थारू कल्चरल हाउसमा ५ सय दर्शक अट्ने क्षमता छ । शुक्रबार र शनिवार शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुको समूह हुने भएकाले अहिले केही मात्रामा दर्शकको संख्या बढ्दै गएका छन् । कोरोनाले दुःख दिएन भने पहिलेकै अवस्थामा सौराहाको पर्यटन फर्किनेमा थारू कलाकारहरु आशावादी छन् ।

आंगै सिरिङ्ग हुने गरी नाचिने लाठी नाच, अनि अन्त्यमा दर्शक सबैलाई नचाउने रेशम फिरिरिको धुन सौराहामा फेरी गुञ्जिन थालेको छ । यो धुनले धेरै परिवारको नुनतेलको गर्जो टर्न थालेको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप