बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् एमालेको पाँचौ महाधिवेशनदेखि हालसम्म मञ्च व्यवस्थापनका कमाण्डर (भिडियो)

शुक्रबार, १० मङ्सिर २०७८, ११ : ४३
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको ‘हाई टेक’ मञ्च तथा बन्दसत्र हलको व्यवस्थापनको काम सकेपछि बिनोद श्रेष्ठको अर्को सपना साकार भएको छ । गत मंसिर १ गतेदेखि तीब्र रुपमा चितवनस्थित नारायणी नदी किनार र सौरहाको मैदानमा खटिएका श्रेष्ठ मजदुर नेता एवं एमाले केन्द्रीय सदस्य समेत हुन् । यो महाधिवेशनमा पनि उनलाई विगतमा झै मञ्च व्यवस्थापन तथा स्वंय सेवक परिचालनको जिम्मेवारी दिइएको थियो । 

कुसल मञ्च व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले एमालेको पाँचौ महाधिवेशनदेखि नै मञ्च व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएका छन् । आवश्यक स्रोत, साधन र प्रविधिको प्रयोग गरेर हरेक महाधिवेशनमा मञ्च व्यवस्थापनमा नवीन शैली शिल्प प्रदान गर्दै आएका उनलाई पार्टीले हरेक महाधिवेशन तथा ठूला कार्यक्रमहरुको मञ्च व्यवस्थापनको जिम्मेवारी दिने गरेका छन् ।  

उसो त भूमिगत रुपमा भएको चौथो महाधिवेशनदेखि नै उनले सहयोग पुर्याएका थिए । २०४६ सालको जनआन्दोलनपछि काठमाडौंको दशरथ रंगाशालामा भएको पाँचौ राष्ट्रिय महाधिवेशन र प्रज्ञा भवन कमलादीमा भएको बन्द सत्रको कार्यक्रमदेखि श्रेष्ठले मञ्च व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

छैटौ महाधिवेशन नेपालगञ्जको रंगशालामा भएको र त्यहीँ हल बनाएर बन्द गरेको उनले स्मरण गरे । यस्तै सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन जनकपुरको बाह्रबिगाह मैदानमा भएको थियो । यस्तै आठौं राष्ट्रिय महाधिवेशन बुटवलमा गरिएको थियो भने नवौं राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको थियो ।  

उनले भने– ‘यी सबै महाधिवेशनमा मैले मञ्च तथा स्वयंसेवक व्यवस्थापको काममा संलग्न रहेँ । नेकपा एमालेका ठूला ठूला कार्यक्रमहरु मेची काली अभियान होस वा ठूला ठूला आमसभा र कार्यक्रममा मञ्च व्यवस्थापनमा संलग्न हुँदै आइरहेको छु ।’

मञ्च व्यवस्थापनको काम जटिल छ गाह्रो छ भन्ने हिसाबले हेर्ने हो जटिल नै रहेको र सजिलो छ गर्न सकिन्छ भन्ने रुपमा लिए सजिलो रहेको उनले बताए । उनले भने– ‘यो काम टिमवर्कको काम हो । मैले जिम्मा प्राप्त गरेको मात्रै हो मेरा साथीहरुले काम गर्दा अलिकति तलमाथि भयो भने गोलमाल भैहाल्छ ।

पार्टीको छैटौ राष्ट्रिय महाधिवेशनका बेला अलि जटिल थियो । त्यतिबेला अहिलेको जस्तो प्रविधि थिएन । त्यो बेला पार्टीभित्र विवाद थियो । त्यो बेला अलि गाह्रो थियो तर टिम परिचालनको हिसावले सबै महाधिवेशनमा सफलता पायौं । त्यसकारण पनि मैले पार्टीबाट यसको जिम्मेवारी पाउँदै आएको छु ।’

उनले समय र स्रोत साधनअनुसार हरेक महाधिवेशन तथा कार्यक्रमको मञ्च  निर्माणमा नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै आइरहेको बताए । उनले ठूला ठूला कार्यक्रमहरुको मञ्च व्यवस्था गर्दा मुख्य रुपमा नेताले बोलेको कुरा सबैले प्रष्ट र सहज रुपमा सुन्ने व्यवस्थालाई बढी ध्यान दिइने बताए ।

यस्तै कार्यकर्ता र नेताले एक अर्कालाई सहज रुपमा देख्ने र साज सजावटलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए । त्यस्तै नेता तथा कार्यक्रमस्थलको सुरक्षा पनि मुख्य विषय भएकोले यस्ता कुराहरुलाई मञ्च व्यवस्थापनमा ध्यान दिइने उनले बताए । 

प्रस्तुत छ रातोपाटी संवाददाता शम्भु दंगाल र गणेश दुलालले विनोद श्रेष्ठसँग गरेको यो भिडियो वार्ता : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप