शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जिल्ला अधिवेशन : सुर्खेतमा पौडेल समूहले उम्मेदवार पाएन, देउवा पक्षमा को को छन् आकांक्षी ?

शुक्रबार, १० मङ्सिर २०७८, १० : ३३
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा आज (शुक्रबार) जिल्ला अधिवेशन हुँदैछ । कर्णाली प्रदेशको राजधानीसमेत भएकाले सुर्खेतमा काँग्रेस अधिवेशनको रौनक बढेको छ । जिल्ला सभापतिका लागि यसअघि दाबेदार मानिएका वर्तमान पार्टी सभापति कमलराज रेग्मीले मंगलबार महाधिवेशन प्रतिनिधिमै हार बेहोरेका छन् ।

पौडेल पक्षका उनले अब सभापतिका लागि दाबी गर्न पाउने छैनन् । पाैडेल समूहबाट एक जना पनि महाधिवेशन प्रतिनिधि जित्न नसकेपछि देउवा समूहका लागि जिल्ला सभापतिमा मैदान खाली भएकाे छ । काँग्रेस विधान अनुसार दुई वा दुई भन्दा बढी जिल्ला निर्वाचन क्षेत्र भएकाे जिल्ला सभापति हुन महाधिवेशन प्रतिनिधि  निर्वाचित भएकाे हुनुपर्ने व्यवस्था छ ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको गुटगत प्रतिस्पर्धाको प्रभाव सुर्खेतमा पनि देखिएको छ । सुर्खेतमा देउवा पक्षका नेता महामन्त्री पूर्णबहादुर खड्का र पौडेल पक्षका नेता हृदयराम थानीले आ–आफ्नो गुट अनुसार अधिवेशनमा उम्मेदवार खडा गराएका छन् ।

यसअघि पालिका, क्षेत्रीय, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा खड्का पक्षले वर्चश्व कायम राखेको छ । अब जिल्ला सभापतिका लागि दौडधूप सुरु भएको छ । सुर्खेत काँग्रेसभित्र यतिबेला सभापतिका लागि काँग्रेसका पूर्व जिल्ला सचिव श्याम भारती, क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापति खड्क पोखरेल र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीको नाम चर्चामा छ । यस्तै पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा पनि सभापतिका लागि दाबी गरिरहेका छन् ।

यसपटक क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधिमा थानी समूह क्लिन स्विप हुँदा खड्का पक्षमा सभापति पदका आकांक्षी धेरै देखिएका छन् । दुई समूहबीच मतदाताको भारी अन्तर हुनु र थानी समूहभित्र सभापतिको आफ्नै उम्मेदवार नहुँदा यसपटक खड्का पक्षले सहजै जित्न सकिने आंकलन गरिएको छ । त्यसैले पनि सभापति पदमा सो पक्षमा आकांक्षीहरु बढेका हुन् ।

तथापि, अहिलेसम्म महामन्त्री खड्काले कसलाई उम्मेदवार बनाउने भन्नेबारे धारणा बनाइसकेको अवस्था छैन । महामन्त्री खड्काले आधिकारिक रुपमा धारणा नबनाएकाले आकांक्षी नेताहरु सहमति जुटाउन छलफलमा जुटिरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

खड्का समूहमा वीरेन्द्रनगर—४ का स्थायी बासिन्दा पूर्व पार्टी सचिव श्याम भारतीलाई सभापति बनाउन ठूलो ‘लबिङ’ भइरहेको बताइएको छ । त्यस्तै वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी पनि सभापतिका लागि योग्य व्यक्ति मानिन्छन् । 

उनले यसपटक महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याउन सफल भएका छन् । अघिल्लो पटकको महाधिवेशनमा थानी खेमामा रहेका उनी पछिल्लो समय खेमा परिवर्तन गरेपछि विशेषगरी वीरेन्द्रनगरमा खड्का समूह बलियो बन्दै गएको हो । 

सुवेदीले खेमा परिवर्तन गरेपछि क्षेत्र नम्बर–२ मा आफ्नो प्रभाव बढाउन सजिलो भएको स्वयं खड्का समूहका नेताहरुले बताउने गरेका छन् । सुवेदीले सभापति पदका लागि आफ्नो दाबी रहेको र यसबारे छलफल भइरहेको बताए ।

सभापति पदका लागि पूर्व पार्टी सचिव भारती र पूर्व क्षेत्रीय सभापति पोखरेल, सुवेदी र थापाका साथै तीर्थजंग शाही, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, यज्ञबहादुर बिसी पनि दाबेदार देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप